आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तनहुँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

सोमबार, २१ भदौ २०७८, ०९ : ३८
सोमबार, २१ भदौ २०७८

गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । 

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए । 

देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिए । “जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन दिएका छौँ”, उनले भने । 

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।

सयभन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी नरहने गरी दिउँसो २ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न र धेरै विद्यार्थी भएका विद्यालयले २५ भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्ट वा जोरबिजोर आधारमा कक्षा सञ्चालन गर्न भनिएको उनले जानकारी दिए ।

शुक्लागण्डकी–९ घारीस्थित तालबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाएर कक्षा सञ्चालन गरिएको जानकारी दिए । “विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ, मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । स्यानिटाइजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्न दिएका छौँ”, उनले भने ।

कक्षामा एउटा बेन्चमा दुई जनामात्र विद्यार्थी राख्ने गरेको उनले बताए । कक्षामा २५ बढी राखिएको छैन । १–५ का विद्यार्थीलाई बिहान १० बजेदेखि १ बजेसम्म र  ६–१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाइएको छ ।

शुक्लागण्डकीकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए । “विद्यार्थी धेरै स्थानबाट आउने भएकाले सङ्क्रमणको जोखिम छ । बजार क्षेत्रमा सङ्क्रमितको सङ्ख्या पनि धेरै छ, त्यसैले अहिलेलाई बन्द गर्न भनेका हौँ ।” 
 
विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागेका छन् । भिमादले पनि विद्यालय खोल्ने तयारी गरेको स्रोतव्यक्ति केशवराज वाग्लेले बताए । सबै विद्यालयमा स्वास्थ्य सामग्री पु¥याइसकिएको जानकारी दिँदै उहाँले गाउँतिरका विद्यालय खुलिसकेको बताउनुभयो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले भने हालसम्म विद्यालय सञ्चालनको अनुमति दिएको छैन । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोनाको जोखिम कायम रहेकाले विद्यालय खुलाउन अनुमति नदिइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप