आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोसाईंकुण्ड क्षेत्रमा ४२ घण्टा

धर्मपर्वतमा गोसाईकुण्ड, नीलकण्ठ दह, शिलु र छेकोर
शनिबार, १३ कात्तिक २०७८, ०९ : ५६
शनिबार, १३ कात्तिक २०७८

गोसाईंंकुण्ड भ्रमण बेग्लै आनन्द दिनेखालको यात्रा रहेछ । गोसार्इंकुण्ड क्षेत्र भ्रमणमा हामीले ४२ घण्टा बिताएका थियौँ । साथीहरू सुमन, प्रकाश, दामोदर र म थियौँ । तीर्थयात्रीहरूको चाप नभएका बेला हामी चार भाइको यो यात्रा जमेको थियो । यात्राभरि हाम्रो राज चलेको थियो । बाटामा होटलका केही कामदार र एकाध यात्रीबाहेक हामी मात्रै थियौँ ।

यात्राका क्रममा बेलुका हामी धुन्चेमा बास बसेका थियौँ । हामीलाई हाम्रा मोटरसाइकल व्यवस्थापनको चिन्ता थियो । होटलवाला दाइले भने, ‘तपाईंहरूको काठमाडौँ जस्तो होइन सर, हाम्रो धुन्चेमा जहाँ राखे पनि हराउँदैन् । धन्दा नमान्नुस् ।’ मोटरसाइकल व्यवस्थापन गरेर हामी बिहान ५ बजे हिँड्यौँ । धुन्चेबाट गोसाईंकुण्डको यात्रा मिरमिरे बिहानीमा सुरु भयो । हामी ६ बजे घट्टेखोला पुगेका थियौँ । यात्रामा हाम्रो जोस अधिक थियो ।  बिहानको ७ बजे हामी देउराली पुग्यौँँ । मिरमिरे बिहान, हिमालको चुच्चोमा झुल्किएको पहेँलो घाम, वनको बाटो, उकालो, र थकाइले शरीर केही गले पनि प्राकृतिक वातावरणले मनलाई उल्लास दिइरहेको थियो ।

हामी ११ बजे बिहान चन्दनबारी पुग्यौँँ । खानासँगै म, होटल साहु, राजनीतिकर्मी अग्रज सुब्बा लामासँगको भलाकुसारीमा लागेँ । साथीहरू सुस्ताएछन् । केही थकाइ मेटियो । हामीले यात्रा जारी राख्यौँ । दिउँसो ३ बजे हामीले चन्दनबारीबाट यात्रा सुरु गरेका थियौँ । ४ बजे चोलाङपाटी पुग्यौँँ । साँझ पर्न लागेकाले ५ बजे चोलाङपाटीमा बास बस्याँै ।

दोस्रो दिन

बिहान चिया नास्ता गरेर ७ बजे चोलाङपाटीबाट हाम्रो यात्रा फेरि सुरु भयो । १० बजे बौद्धगुम्बा पुगेका थियौँ । बिस्तारै लेक लाग्ने समस्याले यात्राको गति सुस्त बनाउँदै थियो । पहाडको टाकुरामा सिरसिर बतास, उस्तै मनमोहक दृश्य, सुस्त सुस्त यात्राका बीच हामी ११ बजे गोसाईंकुण्ड पुग्यौँँ । कुण्ड हिउँ नै हिउँ भएर जमेको रहेछ । त्रिशूलधारासम्मको अवलोकन गर्यौँ अनि कुण्ड छेउको एउटा होटलमा खाना खाएर हामी फर्कियौँ ।

हामीलाई लेक लाग्ने समस्याले सताउन खोजेको थियो । तर साढे २ बजे त्यहाँबाट फर्कियौँ । यात्राको गति तीव्र रफ्तारमा थियो । ३ बजे बौद्धगुम्बा आएका हामी केही क्षण त्यहीँ सुस्तायौँ । ‘ओम नमो शिवायः’ र ‘ओम माने पेमे हुँ’ लेखेका लुङ्दर एकैसाथ फरफराइरहेका थिए । हामी वेगवान् गतिमा कुदिरहेका थियौँ ।

अपरान्ह ४ बजे हामी चोलाङपाटी आइपुग्यौँ । त्यहाँ चिया, नास्ता गरेर साढे ४ बजे हिँड्यौँ । साढे ५ बज्दा हामी चन्दनबारी आइपुगेका थियौँ । त्यहाँ उनै सुब्बा दाइसँग बिदावारी भएर ६ बजे हिँड्यौँ । बाटोमा चन्दनबारीकै एक होटलवाला दाइले सुनाए, ‘अस्ती भर्खर एक स्थानीयलाई बाघले झम्टियो । गीत गाउँदै, कराउँदै, हल्ला गर्दै जानुहोला ।’ यो कार्य निकुञ्जमा वन्यजन्तु र मानव यात्रामा एकले अर्काको बाटोमा नआउने भन्ने उपाय थियो । मेरो मनमा लोकगायक दामोदर खतिवडाको लय शब्दको गीत गुन्जिरहेको थियोः

लाङ्टाङ् थोराङ पास

मायालु दिलैमा बस्न गयो बास

यात्राको रफ्तार अझ बढ्दै थियो । बेलुका ९ बजे धुन्चे बजार आइपुग्यौँ । त्यसपछि त मोटरसाइकल हरर रेलको गतिमा हुँइकियो र राति ११ बजे नुवाकोट जिल्ला सदरमुकाम विदुरमा हाम्रो यात्री समूह बास बस्न आइपुग्यो । यो यात्रापछि हामीले गोसाईंकुण्ड यात्राको बारेमा खोज, अध्ययन गर्ने प्रयास गरेका थियौँ ।

गोसाईंकुण्ड क्षेत्र विकासको बारेमा सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका थिए । रसुवाका नेकपा एमाले नेता पूर्वसभासद जनार्दन ढकालले सामाजिक सञ्जालमा सेयर गरेको एउटा समाचार यस्तो थियो, ‘गोसाईंकुण्ड विकासका लागि रकम विनियोजन ।’

पत्रकार पुरुषोत्तम लम्सालको टिप्पणी थियो, ‘के हो गोसाईंकुण्ड भनेको ? साँच्चै लम्सालको प्रश्न जस्तै गहिरो सवाल छ । गोसाईंकुण्ड विकास भनेको के गर्ने हो ? पोखरीको  डिल अग्लो बनाउने कि ? कुण्डको आकार ठूलो बनाउने कि ? यो कुण्ड मानवसभ्यता विकासका प्रातकालीन चरणसँग जोडिएका तथ्यहरू जनसमक्ष ल्याउन अझ गहिरो अध्ययन जरुरी छ ।

नेवाः सभ्यताभित्र

नेपालको नेवारी समुदायमा प्रचलित एक संस्कार हो– ‘शिलु तीर्थ’ । नेवाः सभ्यतामा शिलु तीर्थबारे अनेक धारणा पाइन्छन् । गोसाईंकुण्डबारे प्राध्यापक एवं इतिहासका अध्येता गौतमवज्र वज्राचार्य लेख्नुहुन्छ, ‘पुरानो नेवारी नाम सिह्लुती भनेर लेखिएको छ । नेवारी भाषामा  सिह्लुती भन्नाले रुखजस्तो झरना भन्ने बुझिन्छ (त्रिशूली र सरस्वती ः दुई नदी, एउटै कथा हिमालखबर २१ वैशाख २०७८) ।’

नेवारी संस्कृतिमा रुखजस्तो नदी वा झरनाको कथा प्रचलनमा छ । त्यही तीर्थ कथामा आधारित नेवारी गीतलाई ‘शिलुगीत’ भन्ने गरिन्छ । यो तीर्थ जाँदा श्रीमान् श्रीमतीसँगै जान हुन्न भन्ने धारणा नेवार समुदायमा पाइन्छ । शिलु तीर्थ सँगै गयो भने विछोड हुन्छ भन्ने मान्यता छ । त्यही मान्यताको मिथकमा आधारित शिलुगीतको एक अंश यस्तो छ–

शिलु तीर्थ म्वल्हुय

नेम्ह तिपु वनेमज्यु ।

‘त्रिशूली र सरस्वती ः दुई नदी, एउटै कथा’ शीर्षकको बज्राचार्यको हिमालखबरमा प्रकाशित लेखमा असहमति जनाउँदै शिलु तीर्थको नेवारी सभ्यताभित्र शिव स्नान गर्ने प्रथा र गोसाईंकुण्ड बाग्मतीको समानताका बारे प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका जगमान गुरुङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘शिव ल्हुतिको लघुरूप शिलु हो । ल्हुतिको अर्थ स्नान हो । अतः शिलुतीर्थ शिवस्नान हो । सरस्वती र वाग्वती अथवा वागमती समान अर्थबोधक शब्द हो । भारतमा सरस्वती नदी सुकिन् तर नेपालमा बागमती अझै बग्दैछिन् तर नेपालीहरूले बागमती र बागमती सभ्यता एवं संस्कृतिको महत्त्व बुझ्न सकेका छैनन् ।

सरस्वती नदीको तर्कसँग असहमत रहे पनि र गुरुङको तर्क शिलुतीर्थ नेवारी सभ्यतासँग जोडिएको तथ्यलाई भने गुरुङले पनि स्वीकार गर्नु भएको छ । गोसाईंकुण्डको पानी आउने  विश्वासले साउन शुक्ल पूर्णिमाको दिन शिलु तीर्थ जान नसक्ने अशक्तहरूका लागि ललितपुरको कुम्भेश्वर मेलाको व्यवस्था गरेको हुनसक्छ । अथवा सनातन परम्परामा यो ऋतु संस्कृतिसँग सम्बन्ध रहेको एउटा तीर्थ हुन सक्छ । तर जे भए पनि अहिलेसम्मको तथ्यले उजागर गरेको सत्य भनेको नेवाः सभ्यताभित्र शिलुतीर्थ र गोसाईंकुण्डको सम्बन्ध रहनुको धार्मिक मात्र नभई समाजशास्त्रीय तथ्यहरू समेत रहेको पाउन सकिन्छ । त्यसको खोज, अनुसन्धान जरुरी छ । 

वैदिक सभ्यता र साहित्य : नीलकण्ठ दह

गोसाईंकुण्डका बारेमा वैदिक सभ्यता र साहित्यहरूमा चर्चा भएको पाइन्छ । वैदिक सभ्यतालाई ३५०० वर्षअघिको मानिन्छ । वैदिक साहित्य र वेद पुराणमा यो कुण्डको बारेमा उल्लेख भएको प्रसङ्ग भेट्न सकिन्छ । त्यहाँ यो गोसाईंकुण्ड भन्ने शब्द उल्लेख छैन । नीलकण्ठदहको नामले यो कुण्डको उल्लेख गरेको पाइन्छ ।

यो दह नीलकण्ठ हिमाल नजिक रहेको छ । पौराणिक कथामा समुन्द्र मन्थन गर्दा उत्पन्न भएको कालकूट विष महादेवले घाँटीमा लिएर छट्पटिँदै यहाँ आएर त्यो डाहा शान्त गरे भन्ने किंवदन्ती छ । धर्मपर्वतमा आएर निस्किएको तीनधाराको नाममा त्रिशूल धारा प्रचलनमा रहेको पाइन्छ । यो कुरा गोसाईंकुण्ड माहात्मा प्रसङ्ग वेदमा उल्लेख छ ।

क्ष्वेडतापविनाशाय शुलेनादि विभेद च ।

ततो भुत्वा त्रयोधारा उत्पेतु धर्मपर्वतत् ।।

स्कन्द पुराणको हिमवत् खण्ड ४५ मा उल्लेखित यो श्लोकले धर्मपर्वतमा भएको यो त्रयोधारालाई जनाएको छ । त्यो त्रयोधारा र त्यही त्रिशूलधाराबाट बग्ने नदी भएर त्रिशूली नदी भनिए पनि धर्मधाराको नामले वैदिक साहित्यमा त्रिशूली नदीलाई बुझिन्छ । गण्डक ऋषिले तपस्या गरेको हुनाले त्रिशूली गण्डकी भन्ने गरिन्छ । तर त्रिशूलधारा वा धर्मपर्वतमा भएको झरनालाई वैदिक साहित्यमा रुखजस्तो झरना भन्ने शब्दावली उल्लेख भएको छ ।

हदमध्ये ततो रुद्रः प्रवेश्यचातिहर्षितः ।

ऋशयिष्ट सुखं धीमन् बहुशीतजलोत्तमे ।।

साउन शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमाको रूपमा हिन्दु धर्मावलम्बीले मान्ने गरेका छन् । यसै दिन यो कुण्डमा मेला भर्न जाने तीर्थलुको भीड लाग्ने गर्दछ । 

तामाङ सभ्यतामा बोन्बो

गोसाईंकुण्ड आसपासका क्षेत्रमा तामाङ समुदायको बाहुल्य छ । तामाङ सभ्यतामा बोन्बो तामाङ झाँक्री एक मौलिक संस्कृतिका रूपमा रहेको छ । लेखक परशुराम तामाङले आफ्नो पुस्तक तामाङ जातिमा बोम्बोसम्बन्धी महत्त्वपूर्ण तीर्थस्थलका रूपमा गोसाईंकुण्डलाई उल्लेख गरेका छन् । ‘बौद्ध मतअनुसार गोसाईंकुण्ड अवलोकितश्वर करुणमय बोधिसत्व नागहरूको बीचमा विराजमान रहेको छ (परशुराम तामाङ, तामाङ जाति पृष्ठ २४८) ।’

कान्छा थोकर गोसाईंकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीका हुन् । उनी पुख्र्यौली बोम्बो संस्कार थाम्दैछन् । उमेरले ५० वर्षमा टेकेका उनी यो पाला पुस्ता सर्दै आएको संस्कारको थालनी कहिले भयो, यकिनसाथ भन्न सक्दैनन् । उनीहरूले त्यहाँ चौँरीको दूध चढाउँछन् । धनसम्पत्ति हाीननोक्सानी नहोस् भनेर, गाउँमा दुःख बिमार नपरोस् भनेर यो प्रथा चलिरहेको उनको विश्वास छ । ढयाङ्ग्रो, मालासहित भेषमा सजिएर नाच्दै जाने गरेका उनीहरू योपटक कोरोनाले गर्दा जान सकेनन् ।

‘स्वलङ् म्येवा’ आत्मविश्वाससहित प्रार्थना गर्नु भन्ने बुझिन्छ । ‘स्वलङ म्येवा, खस्याङवो महादेव, र्नोवि याङ मि छे ।’ गोसाईंकुण्डको यात्रालाई क्षेकोर भनेर स्थानीय तामाङ भाषामा बुझिने रहेछ । ‘यो भनेको हाम्रो तीर्थ हो’ कान्छा थोकरले भन्नुभयो । तामाङ र शेर्पा जातिले स्थानीय भाषामा धर्मपरिक्रमा गर्नुलाई क्षेकोर भन्दारहेछन् । स्थानीय तामाङहरूले त्रिशूली नदीलाई ‘तिवरलुङ’ पनि भन्ने गर्छन् । तर कान्छा थोकर भन्नुहुन्छ, ‘स्थानीय भाषामा हामीले ङहोइकुई भनिन्छ, ङहो भनेको कुण्ड र कुई भन्नाले खोला बुझिन्छ ।’

तामाङहरूमा गोले थरका बोम्बो झाँक्री किन जाँदैनन् त भन्ने जिज्ञासामा थोकर भन्नुहुन्छ, ‘नागकुण्डमा नाग र गोले झाँक्रीको लडाइँ भएको थियो । नागलाई जितेर समातेर कुण्ड बाहिर ल्याउँदासम्म श्रीमती ढयाङ्ग्रो बजाएर बस्दै थिइन् । गोले झाँक्रीले नाग समातेको देखेर तर्सिएकी उनी ढ्याङ्ग्रो फालेर हिँडिन् । ढ्याङ्ग्रो बज्न छोडेपछि नागले जितेर गोले झाँक्री त्यही कुण्डमा मरेको हुनाले उनीहरूका सन्तान आजसम्म त्यहाँ नजाने गरेका हुन् ।’

यो स्थानीय मिथक र विज्ञका मत तुलना गर्ने हो भने केही तथ्य खुल्न सक्छ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङ भन्नुहुन्छ, ‘स्वयम्भू पुराणमा नेपाल उपत्यका नागपोखरीका रूपमा थियो भनेको छ । नागलाई अहिले हामी सर्प भन्ने ठान्छौँ तर नाग मानवजातिकै एउटा वर्ग थियो । नागजाति ज्यादै प्राकृतिक र सरल थिए । त्यसकारण नेपालका आदिम भूमिपुत्र तिनै नाग जाति हुन् । त्यसपछि मञ्जुश्रीको कथाले उत्तर भोट–चीनबाट बसाइँ सर्दै नेपाल उपत्यकामा मानिस आएका हुन् भन्ने बुझिन्छ ।’

भोटबाट आउने तामाङ जाति र भूमिपुत्र नागजातिको युद्धभूमि यो नीलकण्ठ हिमालको काखमा नहोला भन्न सकिन्न । गोल थरका तामाङ जातिहरूलाई नागले नागकुण्डमा मारेको भएर नागकुण्डमा नजाने यो तथ्यलाई आदिमकालीन समाजको कविला जातिको युद्ध मिथक र त्यो संस्कारका रूपमा लिएर अध्ययन गर्न सकिन्छ । तामाङ भाषाविद् एवं अध्येता अजितमान तामाङ भन्नुहुन्छ, ‘तिब्बती भाषामा ‘ग्ह्यकी’ भन्नाले ताल, पोखरी वा कुण्डलाई बुझिन्छ । ‘छो’ को अर्थ धार्मिक महत्त्वको पोखरी हो । ‘स्यार्की क्षोकर’ भन्नाले पूर्वतर्फको सेतो पोखरी गोसाईंकुण्ड र ‘स्यार्की गान्दी’ भन्नाले त्रिशूली नदीलाई बुझिन्छ ।

तिब्बती भाषामा ‘कार’को अर्थ सेतो श्वेत, ‘क्षे’ भन्नाले माथिको पोखरी, दूधकुण्ड जो गोसाईंकुण्डमा माथि रहेको छ । नुवाकोट जिल्लामा तादी नदीको उपनामले चिनिने सूर्यमतीको मुहान यही सूर्यकुण्ड हो । तामाङको यो भनाइ बारेमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जगमान गुरुङको भनाइ भने फरक छ, ‘तामाङ र शेर्पामा ‘क्षे’ भनेको धर्म र ‘कोर’ भनेको घुम्नु, परिक्रमा गर्नु हो । त्यसैले गोसाईंकुण्डको यात्रालाई ‘क्षेकोर’ भनिएको हो । ङ्हे भनेको पोखरी हो । तिब्बती भाषासँग शेर्पा भाषा नजिक, तामाङ भाषा अलि पर छ ।

जगमान गुरुङको यो भनाइबारे अजितमान तामाङ भन्नुहुन्छ, ‘जगमान सरले भन्नुभएको क्षे ‘छ्योइ’ शास्त्र वा धर्मसँग सम्बन्धित हो तर ‘छो’ वा ‘छ्यो’ को तिब्बती या  सिनोटिबेटन भाषा परिवारको भाषामा ‘सागर’ गङ्गा वा ताल पनि हो । त्यसकारण छोकोर या ‘छोकोर’ भनेमा ताल या सागर या पोखरीको परिक्रमा भन्ने हुन्छ । यहाँ ‘छोकार’को अर्थ गुरुङ सरले भन्नुभएको परिक्रमा होइन । ककनी नाम शब्द हाम्रो शास्त्रीय भाषामा ‘कारकानी’ श्वेत प्रवेशद्वारबाट व्युत्पत्ति भएको रूप हो । त्यसकारण ‘कार’ सेतो र ‘कोरा’ परिक्रमा हो । यस्तै मानव सरोवरलाई पनि ‘छोकार’ भनिन्छ भने सँगैको राक्षस सरोवरलाई ‘छोनाग’ भनिन्छ कैलाश जाँदा ।’

ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने यो तीर्थ हिन्दु बौद्ध धर्मको उत्पत्ति हुनुभन्दा अघिको रहेको गौतमवज्र वज्राचार्यको धारणा सत्य तथ्यको नजिक रहेको छ ।

के हो गोसाईंकुण्ड, गोसाईंथान ?

आइज चरी काटौँ कान लौजा चरी गोसाईं थान

गोसाईं थानमा के के छ यो चरीले देखेछ ।।

गाउँघरतिर गाउने यो बालगीत मेरो मानसपटलमा ताजै छ । के होला त्यो गोसाईंकुण्ड ? के होला त्यो गोसाईंथान ? यो अध्ययन जारी छ । गोसाईं शब्द र भारतीय शिवभक्त शैव सम्प्रदायलाई चिनिन्छ । योगी सन्त महन्त मालिकलाई जनाउने शब्द हो गोसाईं ।

नाथ सम्प्रदायको इतिहास पुरानो छ । उनीहरूको गोसाईंकुण्ड यात्रा पुरानो रहेछ भन्दै जगमान गुरुङ भन्नुहुन्छ, ‘गोरखनाथको पात्र देवता नीलकण्ठको दर्शन गर्न गोसाईंकुण्ड लैजाने चलन रहेछ । गोरक्ष मठबाट हनुमानढोकामा रहेको तिरपाटीमा लगिन्छ । गोरखनाथको महन्तलाई तिरमहन्त भनिन्छ । उनीहरू बस्ने पाटीलाई तिरपाटी भनिने रहेछ । त्यहाँबाट पात्रदेवतालाई गोसाईंकुण्ड लैजाने प्रचलन रहेको छ । काष्ठमण्डपमा गोसाईंकुण्ड यात्राबाट फर्किएपछि चक्रपूजा गरेर भोज लगाउने प्रथा रहेछ ।’ मध्यकालमा नेपालको उत्तरी व्यापार गोसाईं र काश्मीरी मुसलमानहरूको नियन्त्रणमा रहेको थियो । १७६९ तिर उनीहरू नेपाल आएको पाइन्छ ।  ‘भारतबाट १३ औँ, १४ औँ शताब्दीमा नेपाल आएका गोसाईंहरूले यस तीर्थयात्रामा भाग लिन थालेपछि मात्रै यसको नाम गोसाईंकुण्ड वा गोसाईंथान भन्न थालियो । (गौतमवज्र वज्राचार्य, प्राध्यापक एवं अनुसन्धानकर्ता त्रिशूली र सरस्वती ः दुई नदी, एउटै कथा हिमाल खबर २१ वैशाख २०७८ ।)

नाथ सम्प्रदायको नेपालमा संस्कृतीकरणको प्रभुत्व भएको बेला उपत्यकाका सबै धामलाई नाथ उपाधि थपिएको थियो । गोरखनाथ र मत्स्येन्द्रनाथ मात्रै होइन, स्वयम्भु र बौद्धलाई समेत उनीहरूले नाथ झुण्डाइदिएका थिए । जस्तै बौद्धनाथ, स्वयम्भुनाथ, नाथ सम्प्रदायको संस्कृतिकीकरणबारे वज्राचार्यको थप प्रष्ट्याइँ रहेको छ ।

राज्यका नायकहरूको नजरमा यो कुण्ड भक्तपुरका राजा जययक्ष मल्लदेवले वि.स. १५०४ देखि यात्रा सुरु गरेपछि जोडिएको तथ्यहरू फेला परेका छन् । पृथ्वीनारायण शाह, बहादुर शाह, बडाकाजी अमरसिह थापाले सुगौली सन्धिबाट विरक्तिएपछि उनले १८१६ मा गोसाईंकुण्डमा देह त्याग गरेका थिए ।

शिलुःतीर्थ, स्यारी क्षेकार, धर्मपर्वत कि गोसाईंकुण्ड ? हिन्दु र बौद्धमार्गीहरूको साझा आस्थाको थलो ब्राह्मण, क्षेत्री, नेवार र तामाङ समुदायको साझा आस्थाको केन्द्र हो । इतिहास र तथ्य खोज्ने र त्यसको मौलिकताको आधुनिक प्रतिविम्ब झल्काउने, पर्यावरण अनुकूल हुनेगरी हराउँदै गएका कुण्डहरू बचाउने अभियान जरुरी छ । संस्कृतिकीकरणको चपेटामा परेका हाम्रा मौलिक सम्पदाहरूको एक नमुनाका रूपमा हामीले यो धर्मपर्वतमा भएको नीलकण्ठ हिमालको काखको धर्मधारा, शिलुःतीर्थ, स्यारी क्षेकारको गोसाईंकुण्ड नामको पहिचानलाई लिन सक्छौँ ।

सांस्कृतिक अतिक्रमणको चपेटामा परेको काठमाडौँ बारे सिकुःमोहरीको उदारहण दिँदै गौतमवज्र वज्राचार्य भन्नुहुन्छ, ‘अहिलेको काष्ठमण्डपलाई नेवारीमा सिकुःमोहरी भनिन्छ । नेवारी भाषामा सिकुःमोहरी भन्नाले रुखमुनिको चौतारो भन्ने बुझिन्छ । नेवारीमा सिः भन्नाले काठ, रुख, दाउरा भन्ने अर्थ लाग्छ ।  सिकुः मोहरी भन्नाले सीधै काष्ठमण्डप भएको भन्ने हो भने त्यो रुख मण्डप वा दाउरा मण्डप किन हुँदैन प्रश्न उठ्नु स्वाभाविक हो ।

हाम्रो समाजमा गुरुपूर्णिमा भन्नाले अरू समुदायले असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा मान्छन् । तामाङ झाँक्रीले विद्या ग्रहण गर्ने साउन शुक्ल पूर्णिमालाई गुरुपूर्र्णिमा मान्छन् । जतिबेला ब्राह्मणले जनै फेर्ने जनै पूर्णिमा एकै तिथिमिति कसरी खप्टिन आयो होला ? यो तथ्यले मानवशास्त्रको अध्ययनमा नेपाली जात व्यवस्थाको उत्पत्तिबारे अझै अनुसन्धानको माग गरेको छ ।

तर, नेपाली लेखन, अध्ययन र अनुसन्धान संस्कृतिले सत्यतथ्य भन्दा पनि कथ्य भाष्य निमार्ण गर्दै तथ्यको आधारमा सत्यको अन्वेषण गर्ने तरिकालाई विद्रुप गरेकोतर्फ चिन्ता जाहेर गर्दै गौतमवज्र वज्राचार्य भन्नुहुन्छ, ‘अध्येता र अनुसन्धाताले प्रमाणले के देखाउँछ भन्नेमा गहिराइतिर अनुसन्धान गर्नुभन्दा कुनै एक तथ्यलाई सिद्ध गर्न नियोजित रूपमा प्रमाणित गर्न खोज्ने प्रवृत्तिले खोज, अनुसन्धान प्रभावित भएको छ । १०८ कुण्डको जिल्ला हो रसुवा भन्ने जनश्रुति छँदैछ । सूर्यकुण्ड, दूधकुण्ड, रक्तकुण्ड लगायत २० औँ कुण्डहरू वर्तमानसम्म रहेको छ । मानवशास्त्रीय कोणबाट यस क्षेत्रको बृहत् अध्ययन, अनुसन्धान जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप