आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् केपी ओलीका सम्भावित ७ उत्तराधिकारी

शनिबार, ०४ मङ्सिर २०७८, ०८ : १७
शनिबार, ०४ मङ्सिर २०७८

नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ । यद्यपि, ११ औं महाधिवेशनका लागि ओलीको उत्तराधिकारी को बन्न सक्छन् भन्नेबारे दशौं महाधिवेशनले प्रारम्भिक खाका भने तयार पार्ने देखिन्छ ।

दशौं महाधिवेशनबाट एमालेमा अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । दशौं महाधिवेशनमा महासचिव बन्न सफल व्यक्ति र सो पदका दाबेदार नै ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि स्वाभाविक दाबेदार मानिने छन् ।

महासचिव पदका लागि धेरै नेता आकांक्षी देखिएकाले पनि एमाले वृत्तमा भावी महासचिवबारे चासो र चर्चा बढ्न पुगेको हो । एमाले महासचिवको उम्मेदवारका रुपमा केही नेताले शंकर पोखरेलको नाम लिन थालेका छन् भने केहीले विष्णु पौडेल त केहीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको चर्चा गरिरहेका छन् ।

मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन गरेर सौराहामा हुने बन्दसत्रपछि नेतृत्वका लागि निर्वाचन हुनेछ । दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्येबाटै ११ औं महाधिवेशनको नेतृत्व लिने भएकाले पनि दशौं महाधिवेशनमा एमाले महासचिव को बन्ला भन्ने धेरैका लागि चासो हुन पुगेको हो ।

हुन त यसअघि आफूले कक्षा नदोहोर्याउने बताएका एमाले अध्यक्ष ओलीले पुनः एक कार्यकाल नेतृत्व सम्हाल्ने घोषणा गरे अनुसार तयारीसमेत गरिसकेका छन् । दशौं महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिने लगभग निश्चित भएपनि ११ औं महाधिवेशनबाट उनी बाहिरिने पनि निश्चित छ ।

एमालेको पछिल्लो विधानमा राखिएको ७० वर्षे प्रावधानका कारण ११ औं महाधिवेशनबाट अध्यक्ष ओली र हालका महासचिव ईश्वर पोखरेल समेत बाहिरिने पक्का छ । ओली र पोखरेलसँगै नेता सुवास नेम्वाङ पनि यही विधान कायम रहे ११ औं महाधिवेशनमा प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।

उमेर हदकै कारण कतिपय दोस्रो पुस्ताका नेतामध्येबाट ११ औं महाधिवेशनलाई मध्यनजर गरेर अध्यक्षपछिको कार्यकारी पद अर्थात् महासचिव पद कसले पाउला भन्नेमा धेरैको चासो हुन थालेको एमाले नेता कार्यकर्ताहरु बताउँछन् ।

किनभने, कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद भनेकै महासचिव हो । सोही कारण अहिले महासचिव पदमा जो पुग्छ अपवादबाहेक ११ औं महाधिवेशनमा एमालेको अध्यक्ष उही हुनेछ भन्नेमा कुनै शंका छैन । त्यसैले पनि दशौं महाधिवेशनमा महासचिवका लागि धेरै नेता आकांक्षी बनेका हुन् ।

दशौं महाधिवेशनमा एमाले महासचिव पदका लागि नेताहरु घनश्याम भुसाल, शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ लगायतका नाम चर्चामा छन् । यसबाहेक हाल सचिव रहेका प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवमा आकांक्षा राख्नुपर्ने अवस्थामा छन् । ज्ञवाली, भट्टराई, विष्ट र पाण्डे ११ औं महाधिवेशनमा अध्यक्षको दावी गर्नकै लागि भए पनि यो पटक महासचिवमा दावेदारी गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

महासचिवका आकांक्षी को कस्ता ?

१.विष्णु पौडेल (६१ वर्ष)

दशौं महाधिवेशनमा महासचिवको उम्मेदवारको रुपमा चर्चामा आएका नेतामा पर्छन् हालका उपमहासचिव विष्णु पौडेल । एमालेको नवौं महाधिवेशनमा पौडेल ओली समूहबाटै उपमहासचिव पदमा निर्वाचित भएका हुन् । एक कार्यकाल उपमहासचिव भइसकेका शालीन स्वभावका पौडेल तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा एकतामा महत्त्वपूर्ण भूमिका खेल्नेमध्येका एक हुन् । सोही कारण उनले झण्डै तीन वर्ष दुई पार्टी मिलेर बनेको नेकपाको महासचिव पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
त्यसबेला नेकपाका नेताहरु प्रचण्ड, ओली र माधव नेपाललगायतका नेताहरुले समेत पौडेललाई एकीकृत पार्टीको महासचिव स्वीकार गर्न तयार भएका थिए । तर, पछि सर्वोच्चको आदेशसँगै नेकपा विघटन भएपछि पौडेल पुनः एमालेको उपमहासचिव पदमै सीमित हुन पुगे । पार्टी एकतामा लगाएको गुन र महासचिव हुँदा खेलेको भूमिकाकै कारण ओलीले पौडेललाई आफ्नो नेतृत्वको सरकारमा अर्थमन्त्रीसमेत बनाए । तर पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएर केही बद्नाम पनि भए । यद्यपि उनले उक्त जग्गा फिर्ता गरेपछि आममाफी समेत पाए र अर्थमन्त्रीमा दोहोरिने सौभाग्य पाए ।

पौडेलको तुलनामा ओलीको विश्वासपात्र नेता शंकर पोखरेल भएकाले पनि उनलाई यस पटक महासचिव बन्न त्यति सहज भने देखिँदैन । पौडेलको महासचिव बन्ने चाहना पुरा हुन्छ या हुँदैन, त्यो हेर्न केही समय कुर्नुको विकल्प छैन ।

२. शंकर पोखरेल (५९ वर्ष) 

नवौ महाधिवेशनमा उपमहासचिव पदमा पराजय भोगेका शंकर पोखरेल अध्यक्ष केपी ओलीले मन पराउने नेतामध्ये सबैभन्दा नजिकका भनेर चिनिन्छन् । पोखरेललाई एमालेभित्र जनताको बहुदलीय जनवाद (जवज) को कुशल व्याख्याता भनेर धेरै नेता कार्यकर्ताले चिन्छन् । त्यतिमात्रै होइन, पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने गरेको एमालेभित्रका धेरै नेता कार्यकर्तामा ‘ओपन सिक्रेट’ बनेको छ ।

गत ०७४ सालको निर्वाचनमा दाङबाट प्रदेश सदस्यमा निर्वाचित पोखरेललाई मुख्यमन्त्री बनाउन ओली र राष्ट्रपति भण्डारीकै जोडबल थियो भन्नेहरु पनि धेरै छन् । पछि नेकपामा नेताहरुबीच विवाद बढ्दा समेत ओलीलाई साथ दिन पोखरेल कुदेर काठमाडौ आइपुग्थे । त्यसक्रममा कतिपय एमाले नेताले पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा आउन सुझाव समेत दिने गरेका थिए ।

यसअघि विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पढ्ने क्रममा ओलीलाई स्वास्थ्यमा केही अप्ठेरो पर्दा ओलीले उनै पोखरेललाई पढ्न लगाएबाट पनि पोखरेललाई ओलीले आफ्नो उत्तराधिकारी बनाउन चाहेका हुन् भनेर धेरैले अनुमान लगाएका थिए ।

पछिल्लो समयमा पार्टी जीवनमा देखा पर्ने हर समस्याको समाधानका लागि ओलीलाई साथ र सहयोग गर्दै आएका पोखरेलका प्रतिद्वन्द्वीका रुपमा नेता विष्णु पौडेल आउने हुँदा उनलाई महासचिव बन्न त्यति सहज भने देखिँदैन ।

पौडेलमात्रै होइन, एमालेभित्र विगतमा माधव नेपाल समूहमा रहेर संघर्ष गरेका तर पार्टी विभाजनमा एमालेमै बसेका एमाले नेता कार्यकर्ताले पनि पोखरेललाई सहजै मन नपराउने चर्चा एमालेभित्रै हुने गरेको छ ।

पूर्वमाओवादीप्रति खरो आलोचक मानिने पोखरेललाई एमालेभित्रै समाहित पूर्वमाओवादीको एक समूह पनि चुनौतीका रुपमा उभिने देखिन्छ । त्यतिमात्र नभई पृथ्वी सुब्बा गुरुङले पनि पोखरेल र आफू पार्टी संगठन, जिम्मेवारी र भूमिकाका दृष्टिले समान हैसियतमा रहेको बताउँदै उनीसँग प्रतिस्पर्धाका लागि कम्मर कसेको एमाले कार्यकर्ताहरूको भनाइ छ ।

३.सुरेन्द्र पाण्डे (६३ वर्ष) 

लामो समय माधव नेपाल समूहमा रहेर राजनीति गर्दै आएका र चितवनलाई राजनीतिक बेस बनाएका सुरेन्द्र पाण्डेले भदौ २ मा माधव नेपालले पार्टी फुटाएर अलग पार्टी गठन गर्दा एमाले नै रोज्न पुगे । नवौं महाधिवेशनमा माधव नेपालको समूहबाट महासचिवमा प्रतिस्पर्धा गरेपनि ईश्वर पोखरेलसँग पराजित हुन पुगेका पाण्डे यो पटक पनि एमालेको महासचिवका आकांक्षी हुन् ।

अघिल्लो महाधिवेशनमै महासचिवमा प्रतिस्पर्धा गरिसकेका पाण्डे वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अध्यक्षका दावेदार मानिन्छन् तर अध्यक्षमा ओली, वरिष्ठ उपाध्यमा ईश्वर पोखरेलले स्थान प्याक गरिसकेकाले उनलाई यस पटक पनि महासचिवकै दाबीमा कायम रहनुपर्ने बाध्यता छ ।

विगतमा अर्थमन्त्रीको समेत जिम्मेवारी पूरा गरेका पाण्डेले महासचिवमा आकांक्षा देखाए पनि ओलीले कति रुचाउँछन् भन्नेमा नै उनको सफलता निर्भर हुन्छ । ओली निकटकै पोखरेल र पौडेलले समेत महासचिव पदमा आकांक्षा देखाइरहँदा दुवैको झगडा भए त्यसको लाभ पाण्डेले उठाउन सक्ने सम्भावनासमेत नभएको होइन ।

पार्टी विभाजनमा समेत एमालेमै रहेको र माधव नेपाललाई साथ नदिएकाले पाण्डेप्रति ओलीको थोरै सहानुभूति रहेको बताइन्छ ।  यस पटक महासचिव नभए पाण्डेले त्योभन्दा माथिल्लो पदमा समेत मौका नपाउने हुँदा उनका लागि महासचिव पद अनिवार्य जस्तै भएको छ ।

कतिपयले पाण्डेले यसपटक महासचिव पदमा दावी गरेर आगामी ११ औं महाधिवेशनमा अध्यक्षको सिट सुरक्षित गर्न खोजेको समेत भनेर टिप्पणी गर्न थालेका छन् ।

४.प्रदीप ज्ञवाली (६० वर्ष) 

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका नेता प्रदीप ज्ञवालीको चाहना अब उपमहासचिव या महासचिव बन्ने नै हो । तर, उनले यही पदमा उठ्ने भनेर घोषणा गरिसकेका छैनन् ।  शान्त र मिजासिलो स्वभावका भनेर चिनिने ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येका भनेरै चिनिन्छन् ।

ज्ञवालीलाई ओलीले विश्वास गरेरै आफूले दोस्रो पटक सरकारको नेतृत्व गर्दा परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी दिएका थिए । त्यतिमात्रै होइन, आफू अध्यक्षमा निर्वाचित भएपछि ओलीले नेता ज्ञवालीलाई पार्टी प्रवक्ताको भूमिकामा ल्याए । एमाले र माओवादी मिलेर नेकपा बनेको समयमा ज्ञवालीको प्रवक्ताको भूमिका खोसिए पनि नेकपा विभाजनसँगै उनी फेरि एमाले प्रवक्तामा फर्किए ।

जबकि १० बुँदे सहमति अनुसार भीम रावल र अष्टलक्ष्मी शाक्यको प्रदेश इन्चार्ज पद खोसिँदा ज्ञवालीलाई भने ओलीले सोही जिम्मेवारी दिएर सदासयता देखाए ।

दशौं महाधिवेशनमा भने ओलीले ज्ञवालीलाई कुन पदमा व्यवस्थापन गर्छन् भन्ने विषयले नै उनको राजनीतिक भविष्य निर्धारण हुने एमाले बृत्तमा चर्चा छ । यद्यपि कतिपयले ज्ञवालीले पुन सचिव पदमै वा एक स्टेप बढुवा भएर उपमहासचिवको जिम्मेवारी पाउने सम्भावना रहेको बताउने गरेका छन् ।

५.योगेश भट्टराई (५६ वर्ष)

विद्यार्थी राजनीतिबाट उदाएका योगेश भट्टराई नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट एमालेको सचिव पदमा निर्वाचित भएका हुन् । युवा–विद्यार्थीमाझ एमालेको भावी नेतृत्व गर्ने नेताका रुपमा हेरिएका भट्टराई अबको महाधिवेशनमा उपमहासचिव वा महासचिवको दाबेदारका रुपमा अघि बढ्न सक्छन् । यी पदमा प्रतिस्पर्धा गर्न भट्टराईलाई स्वतन्त्रता भए पनि पार्टीभित्रको समीकरणले उनलाई त्यो अवसर मिल्छ वा मिल्दैन, त्यो भने भविष्यले नै दिशानिर्देश गर्नेछ ।

विगतको निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईमाथि अध्यक्ष ओलीले थोरै भए पनि सहानुभूति राख्ने गरेको प्रष्ट देखिएको छ । किनभने, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनको सवालमा भट्टराईलाई जेठ २ कै अवस्थामा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिन कुनै हिचकिचाहट गरेनन् । प्रतिनिधिसभा विघटनपछि माधव नेपाललाई खुलेर साथ दिएका भट्टराई अन्ततः माधव नेपालले पार्टी फुटाउँदा भने एमालेमै रहेर ओलीलाई साथ दिन पुग्ने सीमित नेतामध्येमा पर्छन् ।

अप्ठेरो अवस्थामा भट्टराईले आफूलाई सहयोग गरेकाले पनि ओलीको दृष्टिकोण भट्टराईप्रति सकारात्मक रहेको बताइन्छ । जानकारहरुका अनुसार पछिल्लो समय भटट्राईले दशौैं महाधिवेशनमा पदाधिकारीको एक थान पद सुरक्षित गर्न र ओलीलाई खुसी पार्न विगतमा सहकार्य गरेका माधव नेपाल र प्रचण्डप्रति कटाक्षपुर्ण अभिव्यक्ति दिने गरेका छन् ।

६.गोकर्ण विष्ट (५६ वर्ष)

नेता गोकर्ण विष्ट पनि एमालेको नवौं महाधिवेशनमा माधव नेपाल समूहबाटै सचिव पदमा निर्वाचित भएका हुन् । उनी पनि योगेशसँगै माधव नेपालले फरक पार्टी बनाउँदा एमाले नै रोज्न पुगेका नेता हुन् । १० बुँदे पक्षधर नेता मानिने विष्ट पनि उपमहासचिव वा महासचिवका दाबेदारमध्येमा पर्छन् ।

तर, विष्टका लागि पनि पार्टीमा बढुवा हुने उचित स्थान भने पहिचान भइसकेको छैन । यद्यपि ११ औ महाधिवेशनमा समेत पदाधिकारीमा लड्न पाउने सुविधा विष्टले पाउने छन् । प्रायः कम बोल्न रुचाउने विष्ट पनि ओलीको छत्रछायाबाटै पदोन्नति हुन चाहान्छन् ।

७. घनश्याम भुसाल (६० वर्ष) 

घनश्याम भुसाल नेकपा एमालेभित्र वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमालेको उपमहासचिव रहेका भुसाल दशौं महाधिवेशनमा स्वतः महासचिवका दावेदार हुन् । तर, एमालेभित्रको राजनीतिक समीकरणमा भुसालले महासचिव पद पाउने सम्भावना निकै कमजोर छ ।

अध्यक्ष ओलीसँग फरक मत राख्ने भुसाल विगतमा पनि माधव नेपाल निकट भनेर चिनिएका हुन् । एमाले विभाजन हुन नदिने भन्दै १० बुँदे सहमति गर्ने मध्येका एक भुसाल अन्ततः माधव नेपाललाई छोडेर एमालेमै बस्ने १० नेता मध्येमा पर्छन् । उनी ओलीसँग अन्तरसंघर्ष गरेरै भएपनि पार्टीलाई सुधार गर्नुपर्छ भन्ने नेता हुन् । तर उनको अन्तरसंघर्षले ओली र एमाले कति सुधारिन्छ ? या आफै सुधारिन्छन् त्यो भने आगामी दिनले नै बताउनेछ ।

माधव नेपालले पार्टी विभाजन गर्दा एमालेमै बसे पनि भुसालप्रति ओलीको हेर्ने दृष्टिकोण त्यति धेरै सकारात्मक नभएकाले उनले यो महाधिवेशनमा चाहेको पद पाउने सम्भावना अत्यन्त कम रहेको एमाले वृत्तमा चर्चा छ । त्यही बुझेर पनि भुसाल यो पटक अध्यक्षमै ओलीसँग प्रतिस्पर्धा गर्ने सोचमा छन् । यद्यपि उनले आफू अध्यक्षमा प्रतिस्पर्धा गर्ने भनेर सार्वजनिक गरिसकेका छैनन् ।

भुसाल निकट नेताहरुका अनुसार सहमतिमै पदाधिकारी छनोट गरिए र महासचिव वा उपाध्यक्ष दिए अध्यक्षको उम्मेद्वारीबाट पछि हट्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप