आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरण गर्दै, महाधिवेशन टार्दै उपेन्द्र यादव, १३ वर्षदेखि नेतृत्वमा लगाम

शुक्रबार, १६ पुस २०७८, ०७ : ४९
शुक्रबार, १६ पुस २०७८

एमाले, काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसकेको छ । माओवादी केन्द्रको महाधिवेशन समापनको क्रममा छ । मधेसी जनअधिकार फोरम नेपाल हुँदै जनता समाजवादी पार्टी नेपाल बने पनि सो पार्टीले महाधिवेशन गर्ने जाँगर देखाएको छैन ।

मधेसी जनअधिकार फोरम नेपालले २०६५ माघ ४ गते वीरगञ्जमा पहिलो महाधिवेशन गरेको थियो । पहिलो महाधिवेशन सम्पन्न भएको १३ वर्ष भइसक्यो । यस बीचमा फोरम, राजपालगायत अन्य दलको एकीकरण भई जसपा बनिसक्यो । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्को महाधिवेशन हालसम्म गराउन सकेका छैनन् । पार्टीमा समयमा कार्यसमिति परिवर्तन हुँदा नेताहरूको पद परिवर्तन भए पनि हालसम्म सो पार्टीको अध्यक्षमा उपेन्द्र यादवकै निरन्तरता छ ।

जसपा नेपालको अन्तरिम विधानमा ‘महाधिवेशन प्रत्येक ५ वर्षमा हुनेछ तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिनेछ,’ भनी उल्लेख छ । मधेसी जनअधिकार फोरम, संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टीसम्मको विभिन्न विधानमा यही उल्लेख थियो । अझ कुनैमा दलमा त तीन वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो ।

भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । तर पार्टीहरूसँग एकीकरण गर्दै नयाँ पार्टी र विधान बनाउँदै गएपछि १३ वर्षमा पनि महाधिवेशनको आवश्यकता परेन । मधेसी जनअधिकार फोरमको स्थापनाकालदेखि जसपासम्म उपेन्द्र यादवसँग साथै रहेका रामसहाय यादव भन्छन्, ‘हामीहरूले पटक पटक महाधिवेशनको मिति तय गरेको, तयारी पनि पुरा गरेको हो । तर त्यस बीचमा कुनै न कुनै पार्टीसँग एकीकरण हुँदा महाधिवेशन टर्दै आएको अवस्था छ ।’ उनले चाँडै नै आफूहरूले विधान अधिवेशन गरेर जसपाको एकता महाधिवेशन पनि गर्ने दाबी गरे ।

तीन पार्टीसँग एकीकरण

मधेसी जनअधिकार फोरम नेपाल पार्टीको रूपमा २०६४ सालमा गठन भएको थियो । त्यसयता २०६५ माघ ४ मा पहिलो महाधिवेशन वीरगञ्जमा भएको थियो । त्यसपछि पटक पटक मिति तोकिए पनि महाधिवेशन हुन सकेको छैन । २०७२ जेठ २२ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल बनेको थियो ।

त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ देखि ३० गतेसम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । त्यसपछि अर्को मिति २०७६ बैशाखका लागि तय गरियो । महाधिवेशन त भएन तर वैशाख २३ गते डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण भयो । नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । त्यसपछि समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने भनी पार्टीले चर्चा चलायो ।

महाधिवेशन गर्ने भन्दै त्यतिबेला समाजवादी पार्टीले समायोजन प्रक्रियालाई तीव्रता दिएको थियो । तर, समाजवादी पार्टीको महाधिवेशन हुने साइत जुरेन । उता २०७७ वैशाख १० गते मध्यराती तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल (जसपा) बन्यो । सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । सो पार्टी एकीकरणपछि बनेको विधानमा ५ वर्षभित्र एकता महाधिवेशन गर्ने उल्लेख छ । त्यसका लागि पार्टी समायोजनका कामहरू अगाडि बढायो तर समायोजनको काम चलिरहेकै बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच विवाद सुरु भयो । र, पार्टी विभाजन भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरे । उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष कायमै छन् ।

आन्दोलनले महाधिवेशनमा ढिलाइ

अहिले पनि उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको पुरानै अन्तरिम विधान रहेको छ । त्यसलाई संशोधन गर्न विधान अधिवेशन गर्ने तयारी भइरहेको छ । पार्टीका कार्यकारिणी सदस्य तथा वन मन्त्री समेत रहेका नेता रामसहाय यादवले भने, ‘अहिले पार्टीमा समायोजनको काम सुरु भएको छ, समायोजन सकिने वित्तिकै विधान अधिवेशन गर्ने र त्यसपछि महाधिवेशनको मिति तोक्नेछौँ ।’

२०७२ मा संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण भई सात वर्षको अवधिमा महाधिवेशन किन भएन भन्ने जिज्ञासामा नेता यादव भन्छन्, पार्टीको स्थापना नै आन्दोलनको जगमा भयो । त्यसपछि पटक पटक आन्दोलनमै रहेको कारण महाधिवेशनमा ढिलाइ भएको हो ।’

त्यसो त जसपाको अन्तरिम विधानमा तोकिएको समयमा पनि महाधिवेशन हुने सम्भावना न्यून छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकीकरणका लागि कुराकानी अगाडि बढाएका छन् । जसपाका एक नेताले भने, ‘माधव नेपालसँग साइड टक भइरहेको छ तर ठोस कुरा अहिले बाहिर आएको छैन ।’ त्यस्तै, जसपा र माओवादी केन्द्रबीच पनि एकताको सम्भावना रहेको छ । यदि यी दुई पार्टीमध्ये कुनै एक पार्टीसँग एकीकरण भयो भने पुनः जसपाको महाधिवेशन हुने छैन । त्यसपछि लामो समयसम्म उपेन्द्र यादव सदाबहार अध्यक्षको रूपमा रहिरहने देखिन्छ ।

सामाजिक संस्थादेखि पार्टी अध्यक्षसम्म

२०५४ सालमा एउटा सामाजिक संस्थाको रूपमा गठन भएको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको अध्यक्ष थिए उपेन्द्र यादव । सामाजिक संस्थाको रूपमा रहेको फोरम नेपालको पहिलो महाधिवेशन २०६० साउन १० र ११ गते  विराटनगरमा भएको थियो, जसको उद्घाटन गणतान्त्रिक नेता रामराजा प्रसाद सिंहले गरेका थिए । सामाजिक संस्थाको रूपमा रहेको मधेसी जनअधिकार फोरम नेपाल जनआन्दोलन २०६२/०६३ पछि पार्टीको रूपमा रूपान्तरण भयो ।

मधेसी जनअधिकार फोरमले संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल बन्यो । संघीय समाजवादी फोरम नेपालले नयाँ शक्तिसँग एकीकरण गरेपछि समाजवादी पार्टी बन्यो । समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि जसपा बन्यो । जसपासम्म आइपुग्दा उपेन्द्र यादवको नेतृत्व कायमै छ ।

उपेन्द्र यादव सुरुमा माओवादी कार्यकर्ता थिए । यादवले भूमिगत अवस्थामा मधेसमा काम गर्न २०५४ सालमा मधेसी जनअधिकार फोरम नेपाल आफ्नो संयोजकत्वमा गठन गरेका थिए । माओवादीका अरू कार्यकर्ताको प्रत्यक्ष संलग्नता संस्थामा नदेखिए पनि गठनदेखि लिएर पहिलो महाधिवेशनसम्म माओवादीको प्रत्यक्ष सहयोग थियो ।

सामाजिक संस्थाको रूपमा मधेसमा तीब्र गतिविधि बढाउँदै गएपछि यादवले बिस्तारै माओवादीको साथ छाडे । फोरम नेपालले पहिलो पटक आफ्नो ब्यानर र झण्डा लिएर २०६२/०६३ मा मधेस आन्दोलनको नेतृत्व गर्‍यो । २०६५ सालमा पार्टीको रूपमा दर्ता भएपछि पहिलो संविधानसभामा फोरम नेपालले प्रत्यक्षतर्फ ३० र समानुपातिक तर्फ २२ गरी जम्मा ५२ सिट जितेर चौथो ठूलो दल बनेको थियो । त्यसपछि २०६५ मा बनेको माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पहिलो पटक फोरमको सहभागिता रह्यो ।

२०६६ सालमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने विषयमा विवाद हुँदा विजयकुमार गच्छदारले पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम नेपाल गठन गरेका थिए । त्यसपछि सत्ताकै लागि उपेन्द्र यादव नेतृत्वको फोरम पटक पटक विभाजन भयो । विजय गच्छदार अलग भएको दुई वर्षपछि २०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए ।

त्यसअघि आन्दोलन चलिरहेकै बेला मधेसी जनअधिकार फोरमबाट भाग्यनाथ गुप्ता अलग भएर मधेसी जनअधिकार फोरम मधेस गठन गरेका थिए । त्यस्तै, अमर यादव सोही पार्टीबाट अलग भएर मधेस तराई फोरम गठन गरेका थिए ।

२०६८ सालपछि फोरम नेपालमा फुटको शृङ्खला रोकिएर एकीकरणको अभियान चलेको थियो । मधेसीले साथ छाड्दै गएपछि आदिवासी जनजाति तथा खससँग सम्बन्धित अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल, डा.बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकीकरण गरे । पछि महन्थ ठाकुर नेतृत्वको राजपासँगको एकीकरण टिकाउ भएन । तर राजपासँग भएको एकीकरणले जसपामा उपेन्द्र अझै बलियो भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप