आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किकीको २२ वर्षको रोमाञ्चक बार यात्रा

टम क्रुजलाई आदर्श मान्दै ‘बारटेन्डर’
सोमबार, १९ पुस २०७८, १२ : २०
सोमबार, १९ पुस २०७८

अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्, ‘तिमीलाई मनपर्ने काम खोज, त्यसपछि तिमीले जीवनभर एकदिन पनि काम गर्नु पर्दैन ।’ ​

किकी भुटियालाई पनि त्यस्तै लाग्छ । उनको बार यात्राले २२ बर्ष पूरा गरिसक्यो । तर, उनलाई एकदिन पनि काम गरेको जस्तो महसुस हुँदैन । ओहो, आज मेरो ९ घन्टा काम छ है ? यस्ता कुराले उनको दिमागमा कहिल्यै डेरा जमाएन ।  कामको प्रवाहसँगै यति बग्दथे कि १४–१५ घन्टा कसरी बित्थे, पत्तै हुँदैनथ्यो । सुरुवाती दिन सम्झँदै उनी भन्छन्, ‘इट वाज ग्रेट फन ।’

तपाईंको जुन काममा प्यासन छ, त्यो गर्दा काम गरेजस्तै नलाग्ने रहेछ,’ उनले  आफ्नै लवजमा प्वाक्क भने ।

सन् १९७२ अक्टोबरमा दार्जिलिङमा जन्मेका उनी २२ वर्षको हुँदा हङकङ पुगे । त्यहाँ १८ वर्ष बसे । १० वर्ष अघि नेपाल फर्किएका किकी भुटिया हाल वेभरेज कन्सलटेन्टको रुपमा ‘१९०५ सुट्स एन्ड रेष्टुरेन्ट’मा कार्यरत छन् । किकीले हङकङदेखि नेपालसम्म बारटेन्डिङको आफ्नो यात्रा, नेपालमा यसको अवस्था र नयाँ पुस्तामाझ यसको लोकप्रियताबारे रातोपाटीसँग कुराकानी गरेका छन् ।

हङकङजस्तो सहरमा एसियाका उत्कृष्ट बारटेन्डरहरू थिए । उनीहरूले बारटेन्डिङ गरेको देख्थे, हेरेरै धेरै कुरा सिक्थे पनि । लन्डनबाट आएका बारटेन्डरहरूबाट उनले धेरै कुरा सिक्ने मौका पाए । काम सिक्दै गएपछि उनलाई यसमा झनै मज्जा आउन थाल्यो ।

सुरुवातमा फोहोर फ्याँक्ने काम

दार्जिलिङमा स्कूले पढाई सिद्धिसकेको थियो । उनका सबै साथीहरूले शिक्षकको जागिर खोजिरहेको थिए । तर उनलाई कम्प्युटर साइन्स पढ्ने इच्छा थियो । सधैं आफूले सोचेजस्तो कहाँ हुन्छ र ? नजिकै कम्प्युटर साइन्स पढाउने संस्था नभएकाले आफूभित्र जागृत नयाँ रुचीलाई सोचमै सीमित पारे उनले ।

त्यसको केही वर्षपछि किकी स–परिवार हङकङ हानिए । धुँइपत्ताल काम खोजे । अनि, बल्लतल्ल फास्टफुड रेस्टुरेन्ट कम्पनी मेकडोनल्ड, स्टारबक्समा काम पाए । ती कम्पनीमा हुँदा नै ‘बारमा काम गर्न पाए नि हुन्थ्यो’ भन्ने इच्छा नपलाएका होइन । आफ्नो इच्छा जाहेर गरे तर अनुभव नभएकोले मालिकले उनलाई काम दिन हिच्किचाए ।

मनैदेखि चाहेको कुरा पुरा हुन्छ भन्छन् । सायद यस्तै भयो । एउटा रेस्टुरेन्टले उनलाई अफर गर्यो, ‘गर्छस् भने तँलाई बार ब्याकमा राखिदिन्छु ।’ उनको दिमागले दोस्रो कुरा सोचेन, फ्याट्टै भनिहाले ‘गर्छु’ । उनले ‘बार ब्याक’ बारे विस्तृत जानकारी दिँदै भने, ‘यो शब्द रमाइलो सुनिन्छ होला । तर, खासमा बार ब्याकले फोहोर फ्याँक्ने र फ्रिजमा बियर हाल्ने मात्रै काम गर्छ । अरु केही गर्न पाउँदैन ।’

सिक्न औधी रुचाउने उनले त्यतिबेलै बारसम्बन्धि थप सिक्न खोजे तर मौका पाएनन् । ‘तेरो काम भनेको फोहोर फ्याँक्ने हो । फोहोर फ्याँक, बियर फ्रिजमा हाल’ भन्थे । तर उनलाई बार ब्याकको रुपमा काम गर्दासमेत समय बिताउन खासै गाह्रो भएन । ६ महिना त्यहाँ काम गरेपछि मात्रै उनको प्रोमोसन भयो । त्यसपछि क्रमशः उनले बारमा प्रवेश पाए । 

हङकङजस्तो सहरमा एसियाका उत्कृष्ट बारटेन्डरहरू थिए । उनीहरूले बारटेन्डिङ गरेको देख्थे, हेरेरै धेरै कुरा सिक्थे पनि । लन्डनबाट आएका बारटेन्डरहरूबाट उनले धेरै कुरा सिक्ने मौका पाए । काम सिक्दै गएपछि उनलाई यसमा झनै मज्जा आउन थाल्यो ।

टम क्रुजलाई देखेपछि...

साथीहरू सबै शिक्षक बन्ने सपना बुनिरहेका बेला अरुभन्दा भिन्न सपना कसरी पलायो ? उनले यसको कारण अमेरिकी नायक टम क्रुज रहेको रहस्य खोले । यसबारे विस्तृत जानकारी दिँदै उनी भन्छन्, ‘सन् १९८८ मा टम क्रुजको ‘ककटेल्स एन्ड ड्रिम्स’ भन्ने फिल्म रिलिज भएको थियो । त्यतिबेला टम क्रुज लक्का जवान थिए । त्यो बारटेन्टिङकै फिल्म हो । त्यो फिल्म हेरेपछि म असाध्यै प्रभावित भएँ ।’

फिल्ममा बोतलहरू चलाएको, आगो बालेको देख्दा उनलाई ‘वाह, कस्तो खतरा’ जस्तो लाग्यो । फिल्म पूरा हुँदा नहुँदै उनको बाल मस्तिष्कले एउटा संकल्प लिइसकेको थियो, ‘ओहो, म पनि यही बन्नुपर्छ ।’ संयोगले त्यतिबेला उनी नेपालमा थिए ।

सो फिल्मबारे उनी थप्छन्, ‘खासमा ‘ककटेल्स एन्ड ड्रिम्स’ भन्ने फिल्मले गर्दा संसारभरी थुप्रै यस्ता बारटेन्डरहरू छन्, जसले यो क्षेत्रमा नामसमेत कमाएका छन् ।’

उनले धेरै कुरा हेरेरै सिके । आफ्नो समयमा कोर्स, क्लासलगायतका सिक्ने केही माध्यम नभएको कुराले उनलाई बिझाउँछ । उनले विभिन्न किताबमार्फत् र काम गर्दा गर्दै यसबारे सिक्दै गएको बताए । ‘प्यासन, कमिटमेन्ट त्यही नै हो । काम गर्दा हल्का टिप्स पाइन्थ्यो, त्यो जोगाउँदै किताब किन्थ्यौं ।’ प्यासनले नै यहाँसम्म डोर्यायो है ? अर्को प्रश्नमा उनी खुलेर हाँसे । हाँसोमा ब्रेक लगाउँदै उनले भने, ‘अँ, मे बी मोर ।’

सबै पाँचतारे होटलमा बेभरेज कन्सलटेन्ट हुन्छन् । किकीका अनुसार २० वर्षमा राम्रो बारमा काम गरे प्रोमोसन भएर सुपरभाइजर हुन सकिन्छ, त्यहाँबाट पनि प्रोमोसन भएर म्यानेजर बन्न सकिन्छ । यस्तै म्यानेजरपछि बेभरेज ब्रान्ड एम्बेसेडर हुन सकिन्छ, त्यसपछि अझै अघि बढ्ने हो भने बेभरेज कन्सलटेन्ट भइन्छ ।

बारटेन्डर्स आर नट मेड डे आर बर्न

बर्षौदेखि बारटेन्डिङ क्षेत्रमा काम उनी दृढतासाथ भन्छन्, ‘कति भाइ बहिनीहरूसँग काम गरेँ । धेरैसँग सहकार्य भयो तर सबैजना स्थापित हुन सकेका छैनन् । किन यस्तो भयो भनेर सोच्दा सबैजनामा प्यासनको कमी रहेछ भनेर बुझेँ । चाहे जेसुकै होस्, प्यासन, कमिटमेन्ट हुनेहरू मात्रै अघि बढ्न सक्छन् । ’

तर कतिजनाले यो मेरो ९ घन्टाको काम हो, साहुको आँखा छल्न खोज्यो  भने उनीहरू खासै अघि बढ्न नसक्ने किकीको ठम्याइँ छ । उनी अगाडि भन्छन्, ‘दुर्भाग्यवश, समयले तपाईंलाई पर्खिँदैन । २० वर्षको उमेरमा बारमा काम गर्दा रमाइलो हुन्छ, मान्छेहरू भेटिन्छन् । तर, तपाईंले आफ्नो वृत्ति विकास गर्नुभएन भने ३० वर्षको हुँदासम्म यो को मान्छे हो, कस्तो हो भन्न थाल्छन् ।’

‘४० वर्ष पुगेपछि त मानिसले हेप्न नै थाल्ने उनी बताउँछन् । ‘यो अंकल यहाँ के गरेको ?’ उनी थप्छन्, ‘यस्तो भयो भने तपाईंले कसैलाई पनि दोष दिने कुरा छैन ।’

सबै पाँचतारे होटलमा बेभरेज कन्सलटेन्ट हुन्छन् । उनका अनुसार २० वर्षमा राम्रो बारमा काम गरेको खन्डमा प्रोमोसन भएर सुपरभाइजर हुन सकिन्छ, त्यहाँबाट पनि प्रोमोसन भएर म्यानेजर बन्न सकिन्छ । यस्तै म्यानेजरपछि बेभरेज ब्रान्ड एम्बेसेडर हुन सकिन्छ, त्यसपछि अझै अघि बढ्ने हो भने बेभरेज कन्सलटेन्ट भइन्छ । उनले यो क्षेत्रका विभिन्न सम्भावनाबारे प्रस्ट्याउँदै भने, ‘यी अवसर त्यतिबेला मात्रै आउँछ, जब तपाईंले सबैभन्दा राम्रो काम गर्नुहुन्छ ।’

सिकारुलाई जिम्मा, काम निकम्मा

सुरुमा नेपाल फर्किदा यहाँको बारटेन्डरको स्ट्यान्डर्ड हेर्दा ‘वाउ’ जस्तो केही नलागेको उनले स्मरण गरे ।  तर अहिले नेपालमा धेरै कुरा फेरिइसकेको उनी बताउँछन । ‘यहाँ कत्ति राम्रो राम्रा बार रेष्टुरेन्टहरू खुलेको छ । बारटेन्डरहरू पनि वर्ल्र्ड क्लासका छन् । म आशावादी छु कि नेपालका बार टेन्डरहरूले निकै छिट्टै  संसारमा नाम कमाउँछन् ।’

तर एउटा कुरा देख्दा भने आफूलाई दुःख लागेको उनी बताउँछन् । ‘रेष्टुरेन्ट बारको मालिकहरूले करोडौं खर्चिएर पूरा रेस्टुरेन्ट बनाइरहेका हुन्छन्, डेकोरमा खर्च गर्छन् । तर अन्तिममा बारमा चाहिँ मान्छे राख्ने बेला ‘ए, त्यो हाम्रो गाउँको भाइ छ नि, काम नभएको भाइ, त्यसलाई राखिदिए हुन्छ नि’ भन्दा रहेछन् । अनि दुई महिना पछि ‘के हो, हाम्रो बारमा सेल्स नै छैन’ भन्दा रहेछन् ।’

हङकङ र नेपालमा देखेको बारटेन्डरमा काम गर्ने शैलीबारे किकी स्पष्ट शब्दमा भन्छन्, ‘यसमा सबैको गल्ती देख्छु । किनभने ती भाइलाई केही थाहा हुँदैन, तालिम लिएको हुँदैन । बारमा काम गर्नु भनेको ड्रिङ्क बनाउने मात्रै होइन, धेरै थोक जान्नुपर्छ । गेस्टसँग कसरी डिल गर्ने भन्ने थाहा हुनुपर्छ । पक्कै पनि ड्रिङ्क्स पनि बनाउन सक्नुपर्छ । खाली बियर र ह्विस्की मात्रै हालेर बारटेन्डर त हुँदैन नि । यो चाहिँ मैले हङकङ र नेपालमा देखेको ठूलो भिन्नता हो ।’

बाँदरलाई पनि सिकाउन सकिन्छ

द बारटेन्डर्स फ्याक्ट्री नामको बारटेन्डिङ स्कूलसमेत सञ्चालन गरिरहेका किकीले हाल युवापुस्तामा यसको बढ्दो क्रेज पाइरहेका छन् । धेरैले रक्सी खान पाइन्छ, रमाइलो हुने रहेछ, यसमा त नाइट लाइफ हुँदो रहेछ भनेर रुची जगाइरहेका छन् । उनी भन्छन्, ‘मेरो स्कूलमा तीन हजारभन्दा बढी विद्यार्थी छन् । तर, सबैले यहाँ नाम कमाउँछन् भन्ने छैन । हामीकहाँ सिकाएको कुरा राम्रोसँग पालना गरिएन, निरन्तरता दिइएन, प्यासोनेट भइएन भने त यो समयको बर्बादी मात्र हो जस्तो मलाई लाग्छ ।’

किकीका अनुसार बारटेन्डर हुनु कुनै ठूलो कुरा होइन । उनी भन्छन्, ‘मैले चाहें भने अहिले नै म पशुपतिबाट सातवटा बाँदरलाई ल्याएर ड्रिङ्क्स बनाउन सिकाउन सक्छु । तर म यसमा लाग्ने चाहना राख्नेहरू उत्कृष्ट हुनुहोस् भन्ने चाहन्छु । जसले प्यासनसहित मान्छेसँग डिल गर्न सकून्, बोल्न सकून् । त्यो बन्न चाहिँ अलि गाह्रो छ ।’

उत्कृष्ट भए अवसर मनग्गे

बारटेन्डिङको आर्थिक पाटोबारे किकीले भने, ‘बार टेन्डिङ ह्याज बिन भेरी काइन्ड टु मि । अफ कोर्स ।’

बारमा काम काम गरेपछि सबै कुरा पाएजस्तो लाग्छ उनलाई । यो क्षेत्रमा आउने नयाँ पुस्ता पनि आर्थिक रुपमा सबल हुन सक्ने उनी किटान गर्छन् । उनी भन्छन्, ‘यसका लागि खट्नुपर्यो, मिहिनेत गर्नुपर्यो, त्यसपछि त पक्कै पनि सकिन्छ । किनभने नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डहरू धेरै आइसके । रक्सीका ब्रान्डहरूले उत्कृष्ट बार टेन्डर त खोजेकै हुन्छन् । र, उत्कृष्ट हुनेहरू ब्रान्ड एम्बेसेडरसमेत बन्न पाउँछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप