यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास
सिरहा– स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ ।
अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भनेपछि अभिभावक उजुरी गर्न सोमबार विद्यालय पुगेका थिए ।
अभिभावकको उजुरीपछि आज (मंगलबार) विहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहितको उपस्थितिमा घटना मिलाउन छलफल चलिरहेको बताइएको छ ।
घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा ताला लगाएका छन् । तालाबन्दका कारण जारी अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै सिरहाको चोहर्वामा चक्काजाम गरिएको छ ।