बेलायतमा एक महिनायताकै कम सङ्क्रमित
लन्डन । बेलायतमा कोरोना सङ्क्रमित सङ्ख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र रूपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी सङ्क्रमित भएका थिए । एकै दिन दुई लाख बीस हजार भन्दा बढी सङ्क्रमित हुँदै आएकोमा अहिले यो सङ्ख्या घटेर ८१ हजारमा झरेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ७१३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो । योसङै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ । बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना सङ्क्रमण पोजेटिभ भएका मानिसहरूले पाँच दिन आइसोलेसन बसेर पाँचौँ र छैटौँ दिनको नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेसनमुक्त हुन सक्नेछन् ।
यद्यपि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एक सातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो सङ्ख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो । गएको २४ घण्टामा २८७ सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।
यसै गरी कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा दुई हजार ४२३ जना अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा १९ हजार ५३९ जनाको उपचार भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’को तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ७७७ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
यसै गरी बेलायतमा ९०.५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या ८३.२ प्रतिशत रहेको छ । बुस्टर अर्थात् तेस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पनि ६३ प्रतिशत भन्दा बढी छ ।