आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : गन्तव्य

शनिबार, १५ माघ २०७८, ०७ : ४८
शनिबार, १५ माघ २०७८

कसैलाई ठूलै ठाउँको होला
कसैलाई सानै ठाउँको
कुनै त कुनै गन्तव्य साँधेर 
हिँडिरहेछन् संसारका प्राणीहरु
आ–आफ्नो पेट पाल्न
आ–आफ्नो संसार बनाउन ।

अस्ति भर्खर त हो नि
बाटैमा भेट भएकोथ्यो
ऊ अन्तै हिँडेको, म अन्तै
समय र पैसाको रफ्तारमा
म जस्तै हिँडिरहने मेरो साथी
खुसी लाग्यो, एकछिनको भेटमा
तर प्लेन छुट्न लागेको भन्दै ऊ
बिदा भएर हत्त र पत्त लाग्यो
जता जानुपर्ने थियो त्यतै
आफ्नै गन्तव्यतिर ।

घर पुगेकै रात 
मीठो सपना देख्न थाल्दा थाल्दै
हिजो भर्खर भोट माग्न आएथे
एक हुल मानिसहरु
फलानोलाई जिताऊ भन्दै
गन्तव्य ठूलै बोकी
मन्त्री अनि प्रधानमन्त्रीको
आफ्नै राष्ट्रमा रोजगारी
सिर्जना गर्छन् कि जस्तो गरी ।

घरि घरि त यस्तो लाग्छ
बरू हवाइजहाज नभएको भए
मोटर र रेलगाडी नभएको भए
मानिस रमाइरहन्थ्यो आफ्नै ठाउँमा
आफ्नै वेशभूषामा सजिएर
आफ्नै भाषा र रहनसहनमा
गन्तव्यलाई छोटो र नजिक पारेर
सानो परिधिमा मात्र सीमित राखेर
तराई, पहाड र हिमालभित्रै
आफन्तहरुको वरपर
आफ्नै देशको हावापानीमा ।
हालः लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप