आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कथा : ​डिभोर्सी प्रेमी

शनिबार, ०७ फागुन २०७८, ०७ : १९
शनिबार, ०७ फागुन २०७८

मेरो कोठाबाट अफिस हिँडेर तीस मिनेटमा पुगिन्छ । गाडीमा गयो भने जामले पैतालिस मिनेट लाग्छ । आफ्नै सवारीसाधन एउटा स्कुटर किन्ने पैसा नजुट्नु र खुराफाती गर्न मनले नमानेर पनि हो । अफिसबाट हिँड्दै कोठा गइरहेकी थिएँ, नयाँ बानेश्वर चोकमा अचानक प्रवेशसँग भेट भयो । जो मान्छेको छाँया पनि देख्न नपरोस् भन्ने लाग्थ्यो, उहीसँग भेट भो ।

प्रवेशसँग दश वर्ष अगाडि कलेजमा भेट भएको थियो । ब्याचलर पहिलो वर्षमा थिएँ म, उ दोस्रो वर्षमा थियो । कलेजले पिकनिक लैजाने क्रममा उसँग चिनजान भयो । उसले भने मलाई पहिलेदेखि ख्याल गरेको रहेछ । त्यसपछि चिनजानसँगै कलेजबाहेक अन्य ठाउँमा हाम्रो भेटघाट बाक्लिदै गयो । उसले विस्तारै आफ्नोपनको आभाष दिलाइरहेको जस्तो लाग्यो ।

एकदिन शनिबार बिहान म खाना बनाउँदै थिएँ । उसको मोबाइल नम्बरबाट ‘आइ लभ यू’ भनेर मेसेज आयो । डाडु हातमै थियो, हातैमा राखेर नाच्न पो थालेछु । शनिबार भनेर दुइचार थरिका खानेकुरा पकाएकी थिएँ तर भोकै हरायो । म घरि नाच्ने, घरि बेडमा पल्टिन थाले । खुसीले पनि बेचैन बनाउँदो रहेछ मान्छेलाई । मलाई यो खुसीको कुरा कसलाई पो सुनाऊँ भयो । सबैभन्दा पहिला आफ्नै बहिनीलाई सम्झे । बहिनीलाई फोन गर्नै लागेको थिए, प्रवेशको अर्को मेसेज आयो । मेसेज थियो,‘अघिको मेसेज झुक्किएर तिमीलाई आएछ, सरी है’ अरे ! मजाकको पनि हद हुन्छ नि यार । 

बेलुका फेरि उसको फोन आयो । यसको अब खैरियत छैन भन्दै फोन उठाएँ । उ बिस्तारै बोल्यो, ‘बिहानको मेसेज नि खास तिमीलाई नै पठाएको थिएँ, लास्टै डर लाग्यो र दोस्रो मेसेज गरेको थिएँ ।’ अब मलाई के बोलुँ, के नबोलुँ भयो । ऊ मसँग डराउँदो पनि रहेछ भनेर म क्षणभरमै पग्लिएँ । गाली गर्छु भनेर जुरमुरिएको म एकाएक शान्त भएँ । मनमा ऊ प्रतिको प्रेम अगाध रहे पनि केही दिनमा जवाफ दिन्छु भनेर फोन राखे । उसले त्यो पल भनेको थियो, ‘म बूढो भएर दाँत झरेपछि मात्रै जवाफ नदेऊ है, अलि बेलैमा देऊ ।’ उसको कुरा सुनेर म हाँसे ।

विना जवाफ म उसँग नजिकिदै गएँ । मेरो एक प्राइभेट कम्पनीमा जागिर थियो । त्यसैले, ऊसँग बिताउन मसँग प्रशस्त समय थिएन । एकदिन उसले मलाई शनिबार आफ्नो कोठामा खाना खाने गरी बोलायो । म उसको कोठामा पुगेकी मात्रै के थिएँ, कसैले ढोका ढक्ढकायो । मलाई असाध्यै डर लाग्यो । उसले पनि को आयो यति बेला भन्दै विस्तारै ढोका खोल्यो । ढोकामा घरबेटी आएकी रहेछिन् । घरबेटीले प्रवेशलाई काँच्चै खाउँला झैं गरिन् । तीन महिना भयो घरभाडा नतिरेको, कहिले तिर्ने हो ? अर्काको घरमा बसेर भाडा तिर्नु पर्दैन ? लाजसरम नै छैन यी गाउँका मान्छेलाई भन्दै उनी जुरमुरिइन् । ढोकाबाट मलाई नियाल्दै उनले झन् ठूलो स्वरमा कराउन थालिन् । वाह, केटी डुलाउन पुग्छ तर घरभाडा छैन ।

घरबेटीको कुरा सुनेर मलाई असाध्यै रिस उठ्यो । म प्रवेशको प्रेमिका थिएँ, उनले कसरी मलाई डुलुवाइ भन्न सकिन् ? दुइ दिन अगाडि अफिसमा बुझेको तलब बैंकमा राख्न नभ्याएर मेरो ब्यागमै थियो । मैले तीन महिनाको घरभाडा खन खन गन्दिएँ । उनले मुख बन्द गरेपनि आँखा ठूलो पार्न छोडिनन् ।

प्रवेशको स्थायी घर जाजरकोट थियो । उसले आफ्ना आमाबुवालाई पैसा पठाउन ढिला गरेको भनेर गाली गर्यो । मैले उसलाई त्यसो नगर्न सम्झाएँ । ‘आमाबाबुले कहिले पैसा पठाउनु हुन्छ भन्दै कुरेर किन बस्नु यत्तिको लक्का जवान छोराले’ भन्न मन लागेपनि म केही बोलिनँ । तर, मेरो एक महिनाको कमाई एक निमेषमै सकिएको थियो । अब आफू पो कसरी चल्ने भन्ने थियो । तर आफ्नो प्रेमीले त्यसरी गाली खाइरहेको पनि कसरी हेर्नु ?

भोलिपल्ट, अफिसमा एडभान्स सेलेरी माँगे । एकाउन्टेन्ट सरले जिस्किाउँदै भने, ‘राम्री मान्छेलाई के समस्या पर्यो ? पढेलेखेको, जागिरे, अलिअलि पैसा भएको ब्वाइफ्रेन्ड बनाउनु । भैपरि आउने समस्यामा साथ दिन सक्ने साथी बनाउनुपर्छ क्या लाटी ।’ तर म त्यतिबेला प्रेममा थिएँ, उनको कुरा नै सही हो भन्ने लागेन । राम्रो दिनको प्रतिक्षा थियो मलाई ।

पन्ध्र दिनमा घरबाट पैसा आएको भन्दै उसले मलाई लिन बोलायो । ‘अहिले सबै दिन सक्दिनँ, केही थोरै लैजाऊ’ भन्यो । तर म भित्र ‘महान्’ बन्ने भूत सवार थियो । आफ्नो प्रेमीको कोठा भाडा तिरेको पैसा कोही फिर्ता लिन्छ ? उसलाई फिर्ता गर्न पदैन भनें ।

समयसँगै हामीले एकअर्काका सुख–दुःख जान्दै गयौ । अझै भन्नुपर्दा उसका समस्या मैलै बुझ्दै गएँ । उसको घरबाट पैसा आउन सधैं ढिला हुन्थ्यो । मैले उसलाई जागिर गर भन्न नसकेपछि उसका कोठामा चाहिने ग्याँस, चामलका बोरा हुँदै चिनी र चियापत्ति किनिदिनु पर्ने अवस्था आयो । हुँदा–हुँदा उसले मलाई तिम्रो तलब आउने बेला भएन भनेर सोध्न थाल्यो । मेरो बाबुआमाले आजसम्म नसोधेको कुरा उसले कसरी सोध्न सक्यो ? काम गर्ने म, तलबको दिन गनेर बस्ने ऊ ? क्रोधले सीमा नाघेपनि सम्बन्ध बिग्रिने डरले फेरि पनि केही बोलिनँ । मेरो आफ्ना आवश्यकता मार्दै उसको खुसीको लागि जे भन्यो, त्यही पुर्याउन थालें । उसलाई ठूलो कुरा गर्दै फुर्सद थिएन । बिजनेस गर्छु, यस्तो गर्छु, उस्तो गर्छु, लक्जरी गाडी किन्छु लगायतका थुप्रै गफ । म भने दुइतिरकै नुन र तेलमै रुमल्लिरहेको थिएँ । ब्याच्लर सकेर हामी विदेश जाने योजनामा थियौ । आशा थियो, उसले विदेश गएर मिहिनेत गर्नेछ । त्यसैले यतिबेलाको दुःख मेरो भागमा परेको जस्तो लाग्थ्यो ।

एकदिन म अफिसमा काम गरेर बसेकी थिएँ । प्रवेशको फोन आयो, बोलीमा केही असन्तुष्ट छ भन्ने भान भयो । मैले सोधे के भयो ? उसले एकाएक कल्पनै नगरेको कुरा गर्यो । लभ गरेर आफ्नो पढाइ बिग्रेको भन्दै ब्रेकअप गर्नुपर्ने बतायो । र, अन्तिममा उसले म उसको सबैभन्दा ठूलो टेन्सनको भारी भन्दै फोनसमेत नगर्न आग्रह गर्यो । ऊफ् हातगोडा गलेर फतक्कै भए उसको कुरा सुनेर । रुन पनि सकिनँ अफिसमा । असाध्यै कमजोर महसुुस गरें । अब के गर्नुपर्छ भन्ने दिमागले कामै गरेन । उसलाई मैले एकपटक भेट्न अनुरोध गरे । उसले दुई दिन पछिको समय दियो ।

त्यो दुई दिन मलाई पुरै ज्वरो आयो, अफिस जान पनि सकिन । हातखुट्टा थरथराउँदै म उसले भनेको ठाउँमा पुगे । धेरै कुरा गर्छु भनेर गएकी थिएँ, तर उसलाई देख्ने बित्तिकै आँसु टिल्पिलाउन थाले । रोक्ने कोसिस गर्दागर्दै भक्कानिएँ । जो मान्छे मलाई सदाका लागि छोड्न चाहेको थियो, उसैको अगाडि यति लाचार बन्नुपर्ने यो कस्तो दुर्भाग्य ?

मलाई उसले रोएर बेइज्जत नगर्न धम्क्याइरहेको थियो । तर म देखाउनकै लागि रोएकी थिइनँ । ऊ मलाई कन्भिन्स गर्ने पुरा तयारीका साथ आएको थियो । मैले हार खानुको विकल्प थिएन र भएन पनि ।

म जत्तिको हयान्डसमसँग बिहे गर्ने केटीसँग धेरथोर पैसा पनि हुनुपर्छ के, नत्र मेरो महत्व नै रहेन नि । तिम्रो व्यवहार सरल छ, इमान्दार पनि छौ, तर तिमीसँग पैसा छैन । तिमी गरिब, म पनि गरिब कसरी चल्छ जिन्दगी ? अनि मैले अर्को पैसा भएकी केटी खोज्न परेन ? म कुनै पनि हालतमा गरिब भएर बाँच्ने छैन । मेरो भविष्य उज्ज्वल होस्, म सुखले बाँचोस् भन्ने लाग्छ भने बिन्ती मलाइ बिर्सिदेऊ । उसका कुरा सुनेर म भित्रैदेखि बलियो भएर आएँ । बल्ल मेरो आवाज फुट्यो । मैले भने, ‘जिन्दगीको कुनै समयमा पुगेर मलाई छोडेकोमा पछुतो लाग्यो भनेपनि फर्केर आउने छैन भनेर वाचा गर ।’ उसले मेरो कुरा सकिन नपाउँदै भन्यो, ‘कौन कम्बक्त फिरेगा’ । मेरो प्रेम, त्याग, समर्पणले पैसाको अगाडि डेग चलाउन सकेन । त्यसपछि, म त्यहाँबाट निस्के ।

....

त्यसपछि आज ऊसँग भेट भएको थियो । मन नहुँदा नहुँदै उसको कथा सुन्नु परेको थियो ।

तिमीलाई छोडेपछि म पोखराकी एक जना केटीसँग फेसबुकमार्फत् जोडिएँ । उनको बुवासँग टन्न पैसा थियो । करिब ६ महिना फेसबुक डेटपछि हामीले घरपरिवारको सहमति विना बिहे गर्यौं । उनीसँग क्यानाडाको भिसा थियो । बिहेपछि उनको परिवारले हामीलाई क्यानडा पठाइदिए । उनकै कारणले म त्यहाँ पुगेको थिए । नत्र मेरो आफ्नै हैसियत दुवई, मलेशिया जान सक्ने पनि थिएन । मेरो जिन्दगी सोचेअनुरुप नै चलिरहेको थियो ।

तर विदेश गएपछि उनले केही फरक व्यवहार गर्न थालिन् । मेरो पैसामा आएको भनेर मलाई सक्दो दबाउने कोसिस गर्थिन् । कामबाट आएपछि खाना बनाउने, लुगा धुने, भाँडा माझ्ने, घर सफा गर्ने काम सबथोक म आफै गर्थे । कहिलेकाँही सुत्नेबेला उनी बडी मसाज गर्न लगाउँथिन् । मैले श्रीमतीको बडी मसाज गरिदिनुमा कुनै आपत्ति देखिन ।

एकदिन श्रीमतीको आफन्ती दिदी हाम्रोमा आइन् । श्रीमतीले भनिन्,‘दिदी ज्वाँइले असाध्यै राम्रो बडी मसाज गर्नुहुन्छ ।’ उनले त्यति के भनेकी थिइन्, ती जेठानी दिदी वन्डरवेयर बाहेक सबै लुगा फुकालेर वेडमा पल्टिइन् । मन नलागेरै पनि मैले दिदीको बडी मसाज गरिदिएँ । पछि तिनी दिदी हाम्रोमा आएर हप्तादिनै बस्न थालिन् । ज्वाँइको मसाज बिर्सनै सकिनँ भन्दै आउँथिन् । उनीहरु दुवैको लागि खाना बनाउनु, उनीहरुको लुगा धुनु मेरो काम थियो । आफ्नो बूढीको त ठिकै छ, जेठानी दिदीको समेत पेन्टी, ब्रा धुन पर्थ्यो । मैले सहँदै गए, श्रीमतीले अन्य आफन्त केटीसाथीहरुलाई पनि मैले राम्रो बडी मसाज गर्ने कुरा सुनाइछन् । हप्तैपिच्छे घरमा कोही न कोही मबाट मसाज गराउन ओइरिन थाले ।

एकदिन मैले यो विषयमा श्रीमतीसँग कुरा गरे । उनले जवाफ फर्काइन्, ‘त्यति जाबो बडी मसाज गर्दिदैमा तिम्रो के जान्छ ?’ आफ्नो बूढालाई आफन्तका माझ लिलाम गरेको कुरालाइ उनले यति सहज ढंगले लिइन् । त्यसपछि हरेक दिन झगडा हुन थाल्यो । हरेक झगडामा आफूले पैसा खर्च गरेको भन्दै मलाई नीच देखाउँथिन् । झगडा पैसामा जोडिएपछि म बोल्न सक्तिनथे । उनको व्यवहारले म विस्तारै डिप्रेशनमा जान थालें । एकजना साथीले मेरो उद्धार नगरेको भए, सायद मैले आत्महत्या गर्ने थिएँ । साथीले डिभोर्स गर्न सम्झायो र हामी कानुनी बाटो हुँदै अलग्गियौ ।

डिभोर्स भएको दिन मैले आफ्नो शरीरभित्र बल्ल सञ्चार वायु छिरेको अनुभव गरेको थिएँ । लामो समयपछि  सास फेरेछु जस्तो लागेको थियो । म नेपाल फर्किएको चार महिना भयो, अब विदेश जान्न । यही देशमा आफूले सक्ने सानो पसल गरेर बस्ने योजनामा छु । मैले केही प्रगति गर्न त सकिन तर पैसा मात्रै सबथोक रहेनछ भन्ने बुझेर आएको छु । सम्मान विनाको जिन्दगी पैसा विनाको जिन्दगीभन्दा मुस्किल रहेछ ।

तर अचम्म यही लागेको छ, यत्तिका वर्षपछि भेट् हुँदा तिमीलाई सिङ्गल नै भेट्छु भन्ने लागेकै थिएन । यो संयोग भगवानको इच्छा पनि हुन सक्छ, पुराना सबै कुरा बिर्सिएर हामी फेरि एक हुने पो हो कि ?

आफूभन्दा धेरै माया गरेको मान्छेसँग घिन पनि लाग्ने रहेछ । आज मलाई साँच्चै यो मान्छेप्रति दया लागेर आयो । धेरै बोल्न मन लागेन, प्रतिउत्तरमा उसलाई मैले विगत सम्झाएँ । तिमीले जिन्दगीको कुनै समयमा पुगेर मलाई छोडेकोमा पछुतो लाग्यो भने पनि, फर्केर आउने छैन भनेर वाचा गरेका थियो । मलाई थाहा थियो, तिमी पछुताउनेछौ ।

मेरो कुराले उ नतमस्तक बनेको थियो, पश्चाताप देखाइरहेको थियो । मेरो अगाडि कोही मान्छे लाचार बनेको हेर्नै मन लाग्दैन, त्यसैले मैले आफ्नो बाटो तताएँ । xfOnfO6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप