आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : जस्तो कर्म, त्यस्तै फल

मङ्गलबार, १० फागुन २०७८, १० : २१
मङ्गलबार, १० फागुन २०७८

बुढापाकाहरूले जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने गरेका भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । तर, त्यो किन र कसरी भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यस्तै प्रसङ्ग प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ यसबारे प्रष्ट हुन सक्ने छौ ।

धेरै पहिलेको कुरा हो । एक दिन एउटा पोखरीमा सानो कमिला खस्यो । तत्कालै कसैले उद्धार नगरे उसको मृत्यु निश्चित थियो । एउटै रुखमा बस्दै आएको कमिलाको विजोग परेवाले हेरेर बस्न सकेन र चुचोले ढुँगेर रुखको एउटा पात पोखरीमा खसाइदियो । कमिलाले त्यसैमाथि चडेर आफ्नो ज्यान बचायो । कमिलाले तत्काल कुनै प्रतिक्रिया नजाए पनि परेवाको गुन भने बिर्सेको थिएन ।

एक दिन एकजना शिकारी आएर परेवालाई गुलेली ताक्यो । विचरा आफ्नै धुनमा मस्त परेवालाई त्यसको छनकसम्म थिएन । तर, कमिलाले भने तत्कालै देख्यो र साथीमाथि आउन लागेको विपत्ति हेरेर बस्न सकेन र हतारहतार गएर शिकारीको खुट्टामा जोरले टोकिदियो ।

कमिलाको टोकाइले शिकारी तिलमिलायो । उसको गुलेलीबाट गोली त छुट्यो तर एकाग्रता भङ्ग भएकाले निशाना चुक्यो । गुलेलीको गोली छेउबाटै गयो, परेवाले उडेर ज्यान बचायो ।

धेरै पहिलेदेखि गुरुहरूबाट सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर कसैमाथि गरिएको उपकारको फल खेर जान्न भन्ने कुरा भने सोह्रै आना सत्य हो । उपकार निस्वार्थ हुनुपर्छ त्यसको फल खेर जान्न । तत्कालै ईश्वरको खातामा जम्मा भएर बस्छ र पछि आवश्यकता परेको बेला सोही खाताबाट फिर्ता भएर सहयोग गर्न आइपुग्छ ।

यहाँ पनि यस्तै भएको थियो । सुरूमा कमिलाई थाहा पनि थिएन कि परेवाको सहयोगले ज्यान बचेको हो भन्ने कुरा । पछि अरूकै मुखबाट सुनेर मात्र थाहा पाएको थियो । परेवाले पनि पछि परेको बेला आफूलाई सहयोग गर्ला भनेर कमिलाको ज्यान बचाएको थिएन । उसले आफ्नो जुन कर्तव्य थियो त्यही निर्वाह गरेको थियो ।

तर, यहाँ परेवाले जसरी निस्वार्थ भावले कमिलाको ज्यान बचाउन सहयोग गरेको थियो त्यसको फल ईश्वरको खातामा जम्मा भएर बसेको थियो । पछि उसलाई आपत परेको बेला कमिलामार्फत् सोही सहयोगको फल फिर्ता आयो र परेवाको ज्यान बचायो ।

मानिसको ठूलो धर्म भनेकै अरूको उपकार हो । योभन्दा ठूलो धर्म अर्को छैन भन्ने धर्मशास्त्रको वचन छ । महाभारतमा व्यासजीले भनेका छन्– ‘जसले आफ्नो धर्म निर्वाह गर्छ वा रक्षा गर्छ पछि उसलाई त्यही धर्मले रक्षा गर्छ ।’ (धर्मो रक्षति रक्षितः) हो, तत्काल फल नमिल्छ सक्छ तर फल  पाइएन भनेर चिन्ता गर्नुपर्दैन । अरूले पनि परेको बेला सहयोग गर्लान् भनेर उपकार गर्ने पनि होइन । उपकार गर्नु मेरो धर्म हो, गर्नुपर्छ भन्ने भावनाले गर्नुपर्छ । फल अवश्य मिल्छ ।

यदि आफ्नो धर्मजस्तो कुरामा पनि प्रतिफल खोज्न थालियो त्यो धर्म नभई व्यपार हुन्छ । व्यापार भनेको व्यपार नै हो, जहाँ हमेशा फाइदा नै हुन्छ भन्ने छैन । यदाकदा घाटा लाग्न पनि सक्छ । फेरि व्यापारको पैसा चाहिएको बेला नै फिर्ता हुन्छ नै भन्ने पनि हुँदैन । उधारो जान पनि सक्छ, भनेको बेला फिर्ता नहुन पनि सक्छ । त्यस्तै परे फिर्ता नै हुनसक्ने वातावरण बन्न पनि सक्छ तर उपकारको फल खेर जाँदैन । कुनै न कुनै दिन सके व्याजसहित नभए पनि साँवा अवश्य फिर्ता हुन्छ । यो ईश्वरीय नियम हो । यसमा तलमाथि गर्ने शक्ति ईश्वर बाहेक कसैमा हुँदैन । 

महाभारतमा एउटा कथा छ । गुरुकुलमा पढ्न बस्दा गुरु द्रोणाचार्य र पाञ्चाल नरेश पुत्र द्रुपद सहपाठी थिए । त्यतिबेला द्रुपदले द्रोणाचार्यलाई भनेका थिए– ‘साथी ! म राजा भएपछि आधा राज्य तिमीलाई दिनेछु ।’ द्रुपदले विश्वास गरेका त थिएनन् तैपनि खिस्स हाँस्दै भइहाल्छ नि भनेर कुरो टुङ्ग्याएका थिए ।

समय आएपछि द्रुपद पाञ्चाल देशको राजा त भए तर बोलकबूल पूरा गर्ने कुरा त परै राखौँ छोरा अश्वत्थामालाई दूध खुवाउन एउटी गाई माग्दसमेत दिएन । विचरा अश्वत्थामाले दूध खानै पाएनन् । छोराले दूध माग्दा बाबु द्रोणाचार्यले चामलको पीठो घोलेर खुवाएका थिए ।

उनको व्यवहार द्रोणाचार्यलाई मन नपरे पनि केही भनेनन् । आफ्नै भाग्यको खेल भन्दै चित्त बुझाए । बिस्तारै उनले त्यस कुरालाई बिर्सी पनि सकेका थिए । समय बित्दै गयो । पछि उनी हस्तिनापुर राजकुमारहरूलाई  धनुर्विद्या पढाउने गुरु पदमा नियुुक्त भए । त्यतिबेला राजकुमारहरूलाई लगानशील भएर पढाउनु उनको जुन धर्म थियो त्यही निर्वाह गरे । उनका विद्यार्थीहरू एकसेएक कुशल योद्धा बनेर निस्के । यिनमा अर्जुन सर्वश्रेष्ठमा पर्थे । पछि तिनै अर्जुनले राजा द्रुपदलाई झुकाएर द्रोणाचार्य समक्ष माफी  माग्न वाध्य पारे ।

यहाँ पनि द्रोणाचार्यले अर्जुनलाई द्रुपदसित माफी मगाउने उद्देश्यले पढाएका थिएनन् । विचरा अर्जुनको के कुरा गर्ने त्यसकोे थाहापत्तै थिएन । उनले पढाउनुलाई आफ्नो धर्म त्यसैको भूमिका निर्वाह गरे । अन्ततः त्यही धर्मले नै अर्जुनमार्फत् द्रुपदलाई माफी मगाउन सफल भए । 

यी केही उदाहरण हुन् । संसारका हरेक कुरामा यही नियमले काम गरेको हुन्छ । भगवान्ले कहिले पनि सेवा कसले गरेकोछ वा गरेको थियो भनेर हेर्दैनन् । न सानो ठूलो भनेर विभेद नै गर्छन् । उनले हेर्ने भनेको कसले कस्तो कर्म गरेको छ भन्ने नै हो । जसले असल कर्म गर्छ सोही अनुसारको फल आफ्नो खातामा जम्मा गर्छन् र परेको बेला त्यसैलाई कुनै पात्र मार्फत् फिर्ता गर्छन् । जसले खराब कर्म गर्छन् त्यसलाई पनि सोही अनुसार आफ्नो खातामा जम्मा गर्छन् र कुनै पनि बेला कुनै पात्र मार्फत् त्यसलाई फिर्ता गरी प्रतिफल भोगाउने काम गरिरहेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप