स्पष्टीकरणको कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? : भीम रावल
नेकपा एमालेका नेता डा भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो भनेर प्रश्न गरेका छन् । सरकारले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा रावलले संसद्‍मा बोलेका थिए ।
एमालेले रावललाई बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्ट व्यक्त गरेको थियो । यस्तै एमाले नेता महेश बस्नेतले रावललाई स्पष्टीकरण साध्नु पर्ने बताएका थिए । रावलले मंगलबार सामाजिक सञ्जालमा भनेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’ उनले देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेलमा पार्टी सुरु भएको हो भनेर पनि प्रश्न गरेका छन् ।