आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एमाले प्रस्ट छ, संशोधन बिना एमसीसीको पक्षमा उभिँदैन, पक्षमा मत हाल्दैन’

सत्ता पक्षले बिना संशोधन मध्यरातमा एमसीसी पास गर्छ : शेरबहादुर तामाङ
बुधबार, ११ फागुन २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ सम्झौता यही फागुन १२ गते मध्यरातसम्ममा बिना संशोधन पास हुने बताएका छन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै पूर्वमन्त्री तामाङले पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास गरिछाड्ने बताएका हुन् ।

संसदमा एमसीसी टेबल भइसक्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन रहेको आरोप लाग्दै आए पनि तामाङ भने एमालेले पटक पटक संशोधनसहित एमसीसी स्वीकार गर्ने बताउँदै आएको तर्क गर्दछन् । उनले हाल संसद् गतिरोधकै अवस्था रहेको र सरकारले संसद्को गतिरोध हटाउन कुनै पहल नगरेर जनताको आवाजलाई दबाउन खोजेको आरोप पनि लगाए ।

पूर्वमन्त्री तामाङले भने, ‘१२ गतेको संसद् बैठकमा पाँच दलीय गठबन्धनभित्रका केही दल र दलका नेताले एकखालको नाटक मञ्चन गर्नुहुन्छ । कसैले बहिस्कार गरेजस्तो गर्नुहोला, कसैले सडकमा जुलुस निकालेको नाटक पनि गर्नुहोला । र, सबै नाटकको पटाक्षेप १२ गते सम्भवतः मध्यराति एमालेको संसद् अवरोधकै बीच एमसीसी बिना संशोधन पास हुन्छ ।’

प्रस्तुत छ, एमाले नेता शेरबहादुर तामाङसँग गरिएका कुराकानीका सम्पादित अंश–

देश एमसीसीले तातेको छ हैन त?

बढी गिजोलियौं, हामी बढी जान्ने भयौं । हामीले अन्तर्राष्ट्रिय समुदाय गुहार्‍यौं र अन्तर्राष्ट्रिय समुदायले पनि के देखेको छ कुन्नि ! कसैले सपोर्ट गरेजस्तो, कसैले विरोध गरेक जस्तो । फेरि हामी नेपाली जनता पनि बाँढिएका छौं, त्यसैले हामीले यसलाई धेरै गिजोल्यौं ।

नेकपा एमाले एमसीसीबारे मौन छ नि, किन ?

नेकपा एमाले एमसीसीका बारेमा कहिल्यै मौन छैन । ‘हिजो एमालेले नै ल्याएको थियो नि त !’ भनेर कतिपयले प्रश्न पनि गर्छन् । एमसीसी एउटा अन्तर्राष्ट्रिय सहयोग परियोजना हो । अमेरिकाले हामीलाई सहयोग गर्न खोज्दै छ । यदि अमेरिकी डलर र नेपाली पैसाको मूल्य बराबर हुने हो भने यो रकम ठूलो होइन । तर, यो रकम डलरसँग विनिमय गर्दा ठूलो रकम हुने र त्यसको खरिदमा धेरै विकास सामग्री आउनै नै भयो । त्यसैले यो एउटा विकास परियोजना मात्र हो ।

तर, यसका केही प्रावधान शंकास्पद रहे । जसका कारण नेपालको सार्वभौम सत्ता, नेपालको संविधान, कानुनभन्दा यो माथि भयो कि भन्ने प्रश्न उठे । कुनै बेला प्रचण्ड प्रधानमन्त्री हुनुभयो, कुनै बेला बाबुराम, कुनै बेला देउवा त कुनै बेला केपी ओली नै प्रधानमन्त्री हुनु भयो ।

हिजो अनुदान लिने सम्झौता गर्दा तत्कालीन नेकपा थियो । अहिलेकै सत्ता गठबन्धनका नेताहरु नै हुनुहुन्थ्यो । र, नेकपा एमाले सोही नेपाल कम्युनिष्ट पाटी (नेकपा) एकीकृत भएका बेला अघिल्ला प्रधानमन्त्रीहरूले निरन्तरता दिँदै आउनुभएको विषयलाई सदनमा ल्याइएको मात्र हो ।

हामीले पार्लियामेन्टमा किन लगेको भन्दा, यो एउटा सहयोग परियोजना हो, यसलाई अनुमोदन गरेर जाउँ भनेरै हो । अनुमोदनका क्रममा सडकमा जे जति प्रश्न उठेका छन्, ती विषयलाई संशोधन गरेर जाउँ भन्ने अभिप्रायले नै हामीले एमसीसी संसद्मा लगेका हौं ।

तर, सँगै रहेको एकीकृत पार्टी भित्रकै नेताहरू क्रान्तिकारी निस्किए र सदनमा छलफल गर्नसमेत दिएनन् । हामीले त्यतिबेलै सदनमा छलफल गराएर अहिले सडकमा देखिएको, बुद्धिजिवीहरूमा देखिएको कन्सर्नलाई संशोधन गरेर पास गरेको भए यो समस्या नै आउँदैन थियो । सडकमा निस्कने, टायर बाल्ने ठाउँमा यो विषय पुग्दै थियो । त्यसकारण नेकपा एमाले संशोधन सहित एमसीसी पास गराउन त्यो बेलै तयार भएको हो । तर, त्यसपछि हामी सरकारमा रहेनौँ । हामी प्रतिपक्षमा छौं ।

अब, सरकार त अभिच्छिन्न उत्तराधिकार वाला हो । त्यसकारण हामीले संसद्मा पुर्‍याएको प्रस्ताव अहिलेको सरकारले अघि बढाउनै पर्‍यो । यो सरकारको दायित्व पनि हो । अहिलेका सरकारमा सहभागीहरूले त्यो प्रस्ताव अघि बढाएपछि पारित गर्नै पर्छ । पाँच दलीय गठबन्धन त्यसको विपक्षमा उभिन त भएन । बहुमत भएकै कारण सरकार गठन हुन्छ र जुनसुकै प्रस्ताव लगे पनि त्यो त बहुमतले पास गर्नै पर्छ होला ! उहाँहरूसँग भएको १६५ सिट संख्याले अब के गर्ने भन्ने त उहाँहरूले जान्ने कुरा हो नि । अब, एमालेले मौनता साध्यो, एमालेले यसो गर्‍यो भन्न मिल्छ र ?

तर, अहिले के खेल खेलियो भने, जनतालाई बाँड्ने, भाँड्न र उद्वेलित बनाउने कार्य गरियो । सत्ता गठबन्धनभित्रकै मान्छेले कसैले यो नभइ मुलुक नै बन्दैन भन्ने, कसैले मुलुकै सकिन्छ भन्ने भ्रम छरियो । एमसीसी ल्याउनु छैन भने सरकारमै भएपछि त नल्याउने भनेर निर्णय गरे भइहाल्यो नि !

नेकपा एमाले अहिले प्रतिपक्षमा छ । तर, एमसीसीका विषयमा चाँहि एमाले पक्षमा कि विपक्षमा छ त ?

एमसीसी पारित गर्दा हुन्छ तर, संशोधन सहित । एमालेको पक्ष यही नै हो । संशोधन सहित आएन, हामी विपक्षमा छौं । तर, त्योसम्म पुग्न संसद् खुल्नु पर्‍यो । आज संसद् गतिरोधको अवस्था छ । एमालेले राखेका मागको सम्बोधनसहित संसद् खुलेर एमसीसीका बारेमा बहस गर्ने वातावरण तयार गर्नु पर्‍यो । त्यही बहसका बीचमा एमालेले आफ्ना सांसदद्वारा जनताको कन्सर्न संशोधनमार्फत दर्ज गर्छ र त्यो संशोधन प्रस्तावलाई सरकारले स्वीकार गर्‍यो र संशोधन भयो भने एमाले एमसीसीको पक्षमा हुन्छ । तर, एमाले प्रतिपक्षमा भएकाले पक्षमा भोट भने हाल्दैन । किनकि संसदीय व्यवस्थामा प्रतिपक्ष मौन रहन्छ तर भोट हाल्दैन ।

एमाले संशोधनसहितको पक्षमा छ भनिरहँदा ती संशोधन गरिनुपर्ने बुँदा के–के हुन् ?

यसमा केही अनावश्यक विषय पनि उठेका छन् । जस्तो जलस्रोतको विषय धेरै बहस गर्नुपर्ने हुन्छ । तर, कतिपय प्रावधानहरू नेपालको कानुन भन्दा, नेपाली जनताको सार्वभौम सत्ता भन्दा अलि माथि छन् कि भन्ने प्रश्न रहे । कतिपय सैन्य रणनीति अन्तर्गत रहे कि भन्ने छ । तर, त्यो हो–होइन भन्ने कुरामा क्लियर हुन जरुरी छ । यसको अडिटदेखि कार्यान्वयनका विषयमा जोडिएका कतिपय दफाहरूमा छलफल जरुरी छ ।

एमसीसी सम्बन्धमा अहिले गठानादेश मार्फत एमसीए गठन गरिएको छ । तर, यसले गर्ने कतिपय कामहरू नेपालको संविधान, कानुनभन्दा अलि पर बसेर छुट्टै समानान्तर सरकार हो कि भन्ने हिसावले अघि बढेको भान हामीलाई पनि भइरहेको छ । त्यसैले यस्ता विषयमा संशोधन आवश्यक छ ।

तर, यो संशोधन संसद् खुलेपछि मात्र हुन्छ । त्यसैले अवरोध खुलेर संशोधन प्रस्ताव स्वीकार भयो भने हामी पक्षमा हुन्छौं, यद्यपि हामी पक्षमा भोट हाल्दैनौँ । त्यसैले नेकपा एमाले एमसीसीको कामै छैन, खारेजै गर्नुपर्छ भन्ने पक्षमा छैन र हुबहु, जस्ताको त्यस्तै ल्याएर सबैथोक हुन्छ, सबै झिलिमिली हुन्छ भन्ने पक्षमा पनि छैन । संशोधन सहितको पक्षमा नेकपा एमाले छ ।

राजनीतिक वृत्तमा एमसीसी कमा, फुलस्टप केही संशोधन नभइ पारित हुनुपर्छ भन्ने अमेरिकी दबाब छ भनिन्छ नि ?

यदि जस्तोका त्यस्तै आयो र संसद् अवरोध हट्यो भने हामी हुन्न भनेर भोट हाल्छौँ ।

तर, संसद्मा त तपाईंहरुको अवरोधका बाबजुद विभिन्न निर्णय भइरहेको हुन्छ नि ?

संसद् खुलेन भने त हामी संसद् अवरोधकै अवस्थामा हुन्छौं । हामी नाराबाजी लगाइरहेकै हुन्छौं । त्यो अवरोध खुलेन भने तपाईंले भनेजस्तै होहल्लाकै बीचमा हाम्रा क्रान्तिकारी सभामुखको मुखारविन्दुबाट हामीले सुन्न पर्ने हुन्छ कि, एमसीसी पारित भयो ।

उहाँ ‘म एमसीसी टेबल गर्नै दिन्न’ भन्दै क्रान्तिकारी देखिँदै हुनुहुन्थ्यो तर, उहाँले नै हाम्रो विरोधका बीच ‘हुन्न भन्नेको भन्दा हुन्छ भन्नेको बहुमत भएकाले पारित भयो’ भन्नु हुन्छ ।

अब, १२ गते संसद् बैठक बस्दैछ, एमसीसीका बारेमा अबको प्रक्रिया के हुन्छ ?

१२ गते संसद् बस्दै छ । संसद्को अवरोध खुलाउन सत्ता पक्षले केही भूमिका खेलेको छैन । बरु सत्ता पक्षका केही दलहरू नाटक गरिरहेका छन् । आफ्ना कार्यकर्तालाई एमसीसीको विरोधमा सडकमा उतार्नु हुन्छ, टायर बाल्न लगाउनु हुन्छ । आफू सरकारमा छ, अनि सरकारमै बसेर दलको बैठक बसेर एमसीसी टेबल गर्ने निर्णय पनि गर्छ । अचम्म छ ! टेबल नगर्नु थियो भने दलको बैठकमै टेबल नगर्ने निर्णय गरे भइहाल्थ्यो नि !

सडकमा त स्वतन्त्र नागरिकको पनि सहभागिता होला नि !

स्वतन्त्र नागरिकको कुरा अर्कै हो । दलकै संलग्नतामा जुलुस भएनन् र ! दलकै संलग्नतामा पुलिसलाई ढुंगा हानिएन ? दलकै संलग्नतामा नयाँ बानेश्वरका रुख विरुवा नष्ट गरिएनन् ? यी सबै काम त दलकै आह्वानमा भएका छन् नि । ती दलले कार्यकर्तालाई किन उफार्नु पर्‍यो ? अनि सरकारमा बसीबसी सुरक्षा अंगलाई ठोक भन्न लगाउने ? पानीको फोहोरा हान्ने, लाठी हान्ने र जनता, कार्यकर्ता घाइते हुने अनि त्यही दलले विज्ञप्ति जारी गरेर सरकारले ज्यादती गर्‍यो, दमन गर्‍यो भन्ने ? यदि, एमसीसीको विरोध नै गर्ने हो भने बैठकमै टेबल नगर्ने निर्णय गरे भइहाल्यो, सरकार छोड्दिए भइहाल्यो ।

त्यसैले सरकार पनि सडक पनि मेरै हो भन्ने द्वैध चरित्रले एमसीसी गिजलियो । एमाले प्रस्ट छ, यो संशोधन बिना एमाले यसको पक्षमा उभिँदैन र संशोधन गरिएछ भने पनि एमालेले प्रतिपक्ष दलको नाताले पक्षमा मत हाल्दैन ।

स्वतन्त्र ढंगबाट विरोधमा निस्किएका स्वतन्त्र नागरिकका लागि भए पनि एमाले बोल्नु पर्ने होइन ?

जनताले चासो राखेकै विषय हो कि, एमालेले संसद् खुल्यो भने एमसीसीमाथिका विवादास्पद विषयमाथि संशोधन पेस गर्छ । अब यो बोलेर मात्र संशोधन हुँदैन । सडकमा स्वतन्त्र नागरिकले जुलुस निकालेर प्रेसर हुन्छ तर, संशोधन हुँदैन ।

एमसीसी गिजोलिनुमा दलहरूको द्वैध चरित्र बाहेक अन्तर्राष्ट्रिय पक्षको भूमिकाचाहिँ कस्तो छ ?

नेपाल राष्ट्रमाथि विदेशी शक्तिको जुन खालको नजर र व्यवहार छ, त्यो मिलिराखेको छैन । के स्वार्थ छ उहाँहरूको थाहा छैन । दुई छिमेकी राष्ट्रहरूको के स्वार्थ छ, थाहा छैन । के प्राप्त गर्छन् यी विशाल सम्पन्न राष्ट्रहरूले नेपालबाट, थाहा छैन । नेपालको राजनीतिमा किन हात हाल्नु पर्ने ? नेपालका नेताहरूलाई किन आफ्नो बनाउनु पर्ने हो ? अब, चीन र अमेरिका बीचको सम्बन्ध के हुन्छ, उहाँहरूले जान्नु पर्ने हो नि । उहाँहरू बीचकै समस्या हो भने आकाशमै लडे पनि भइहाल्यो नि । नेपाललाई किन बीचमा तान्नु पर्ने ? नेपाल जस्तो शान्तिपूर्ण राष्ट्रलाई सबै मुलुकले साथ सपोर्ट गरौं है भन्नु पर्ने हो ।

हुन त हाम्रो कुटनीति सफल नभएको हुनसक्छ । सत्ता सञ्चालन गर्ने हाम्रो क्षमता नभएको होला अथवा समस्याका विषयमा हामीले कन्भिन्स गर्न नसकेको होला ! हामीमा पनि कमजोरी छ । तर, नेपाललाई अन्तर्राष्ट्रिय समुदायले बीचमा घिसार्नु जरुरी छैन । नेपाललाई बीचमा पारेर वैचारिक क्षेप्यास्त्र हानाहानको जरुरी छैन । त्यसैले सबै मित्रराष्ट्रसँग आग्रह गर्छु, हामीलाई शान्तिसँग बाँच्न देऊ । निःस्वार्थ सहयोग गर्न हो भने आऊ, गर तर नगरे पनि हामी मर्दैनौँ ।

यति धेरै विरोध भएको एमसीसी खारेज गरौं, यो ५० करोड अमेरिकी डलर अन्तरिक स्रोतबाटै जुटाउन पनि सकिन्छ भनेर जनमत आफ्नो पक्षमा बनाउन नेकपा एमाले किन डराउने ?

जनताले पनि एमसीसी ल्याउनै हुँदैन भनेर भनेका छैनन् । त्यहाँ  रहेका कतिपय विवादास्पद बुँदाको कन्सर्नको विषय हो । फेरि हामी बढी बहसमा छौं । हामी नेपाली बढी जान्ने छौं । पाएदेखि हरेक नेपाली अमेरिका गएर बस्न पाए हुन्थ्यो, ग्रीनकार्ड पाए हुन्थ्यो भन्नेखालका छौं । पाएको दिन भोज लगाउने पनि छौं । त्यो भोज ग्रीनकार्ड पाएरमात्र होइन, नेपालको नागरिकता त्यागेँ भनेर पनि लगाइएको हो । त्यसमा चाँहि तयार हुने तर, एमसीसी आउँदा अमेरिकी सेना आउँछ भन्ने, बढी हल्ला गर्ने । कतिपय विषयमा हामीले बढी भ्रम फैलाएका छौं ।

त्यसैले जनताका कन्सर्नका विषयमा एमाले एकाकार नै छ, जनताका आवाजलाई एमालेले लिड गर्छ ।

भनेपछि, संसद्मा एमाले विरोध गरेर नारा जुलुस गरेरै बस्छ, संसद्बाट विना संशोधन एमसीसी १२ गते नै पास हुन्छ हो ?

हो, स्थिति त्यही देखियो । नेकपा एमालेको धारणा हाम्रो मात्र धारणा होइन । यो जनताको धारणा हो । तर, त्यो अवस्था सरकारले÷सत्ता गठबन्धनले दिएन । उसलाई एमाले विरोधमै रहिरहोस् भन्ने छ । त्यसैले एमालेले संशोधन प्रस्ताव पेस गर्ने अवस्था देखिन्न । हिजो जसरी टेबल गर्न सहमत हुनुभयो, त्यसैगरी पास गर्न पनि सहमत हुनुहुने छ । किनकि सरकारले टेबल गरेको विषयमा सरकारमै रहेको दल विपक्षमा उभिने कुरै हुँदैन । कि त विरोध गर्नेले सरकारबाट निस्केर जानुको विकल्प छैन ।

फागुन १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा तपाईंहरुको भूमिका कस्तो हुन्छ त ?

१२ गतेसम्ममा सरकारले संसद् खुल्ने वातावरण बनायो भने हामी संसद्मा सहभागी हुन्छौं । हामी एमसीसीका विषयमा संशोधन प्रस्ताव राख्छौं । तर त्यो अवस्था आएन भने त हामी विरोध नै गरिरहेका हुन्छौं । र, अब १२ गते के सिनारियो हुन्छ भने एमाले विरोधमै देखिन्छ । संसद् अवरोधको अवस्था कायमै रहन्छ । उहाँहरुले एक खालको नाटक मञ्चन गर्नुहुन्छ । कसैले बहिस्कार गरेजस्तो गर्नुहोला, कसैले सडकमा जुलुस निकालेको नाटक पनि गर्नुहोला । र, सबै नाटकको पटाक्षेप १२ गते सम्भवतः मध्यराति एमालेको विरोधकै बीच एमसीसी सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुन्छ । केही सांसद्का क्रान्तिकारी व्यवहारका बीच सभामुखले ‘हुन्न भन्ने भन्दा हुन्छ भन्नेको बहुमत भएकाले एमसीसी पास भएको’ घोषणा गर्नु हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया