आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा नेपाली सेनाको नयाँ भवन शिलान्यास

सोमबार, २३ फागुन २०७८, १७ : ३८
सोमबार, २३ फागुन २०७८

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् । सिंहदरबारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो । आगामी दुई वर्षभित्र भवन निर्माण सम्पन्न हुने लक्ष्य आयोजनाले लिएको छ । सिंहदरबारभित्र हाल संघीय संसद भवन निर्माण भइरहेको स्थलमा यसअघि चण्डी दल गण रहेको  थियो । संसद भवन निर्माणसँग जोडिएको क्षेत्रमा मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न भवन निर्माणको काम सुरु गरेको छ । 

नयाँ भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले तोकिएको समयभित्र नै सम्पन्न हुने विश्वास व्यक्त गरेकी हुन् । मन्त्रालयको तर्फबाट समयसीमा अघि नै सम्पन्न गर्नको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउदै उनले सिंहदरबारभित्र बन्न लागेको आयोजना ढिला सुस्ती भएको अवस्थामा निर्माणको क्षमता माथि नै प्रश्न उठ्ने बताइन् । 

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले चण्डी दल गणको नयाँ भवन आगामी २२ महिनाभित्र नै सम्पन्न हुने बताए । सहरी विकास मन्त्रालय विभाग र आयोजनाबाट निर्माण व्यवसायीलाई पूर्ण रुपमा सहयोग हुने बताउँदै उनले गुणस्तरीय ढंगले नयाँ भवन तोकिएकै समयभित्र सम्पन्न गर्न आग्रह गरे । 

रक्षा सचिव किरणराज शर्माले सुरक्षाबिना विकास र शान्ति प्राप्त नहुने भएकाले समग्र सिंहदरबारको सुरक्षाको लागि चण्डी दल गणको नयाँ भवन निर्माण हुन सुखद विषय भएको बताए । भूकम्पबाट पीडित नेपाली सेनाका जवानहरू अहिले रक्षा मन्त्रालयको छिँडीमा बसिरहेको र समयमा नै नयाँ भवन निर्माण भएपछि बस्नको लागि सहज हुने उनले बताए । 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले २५ पुस २०८० सम्म समय रहे पनि त्यसभन्दा अघि नै भवन निर्माण हुने विश्वास व्यक्त गरे । 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले निर्माण हुन लागेको पाँच तले नयाँ भवनमा ७०२ जना नेपाली सेनाका जवान बस्ने गरी डिजाइन गरिएको  छ । विभाग र निर्माण व्यवसायीबीच भवन निर्माणको लागि ६५ करोड ९५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप