आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिलालाई प्रतिनिधिसभामा आरक्षण दिनुपर्छ

मङ्गलबार, २४ फागुन २०७८, १८ : २४
मङ्गलबार, २४ फागुन २०७८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरुलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने बताएकी छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता ः चुनौती र अगाडीको बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री यादवले महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरुले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताइन् ।  

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक पार्टीहरुले महिलालाई अगाडी बढाउने योजना बनाउनुपर्ने बताइन् । उनले हाल स्थानीय तहमा उपप्रमुखको भूमिकामा रहेका महिलाहरु अब उपप्रमुखमै सिमित हुनु नहुने बताइन् । मेहनत र स्वअध्ययनले आफ्नो क्षमता वृद्धि गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।  एमालेकी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पछिल्लो पुस्ताका महिलाहरु राजनीतिक रुपमा नेतृत्व लिन सक्षम र योग्य भएको बताइन् । धेरै महिलाहरु स्थानीय तहको प्रमुख चलाउन योग्य भएको भएपनि जसले प्रमुख दाबी गर्छ उसलाई किनारा लगाउने सम्भावना हुने गरेको उनले बताइन् । चुनावमा टिकट दिने ठाउँमा पनि महिला हुनुपर्नेमा उनले जोड दिइन् ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले महिलाहरु चुनाव लडेर नेतृत्व लिन तयार रहेको बताइन् । चुनावमा महिलालाई आउन नदिने पुरुष मानसिकता पार्टी भित्र र बाहिर हुने गरेकाले त्यस्तो मानसिकता हटाउनुपर्ने उनले बताइन् ।  काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडी बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताइन् । अग्रजहरूसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उनले बताइन् । उनले महिलाहरु आफ्नो अधिकार प्राप्तिको निम्ति सचेत हुनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप