आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्ण खोप लगाएकालाई पीसीआर अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

शुक्रबार, २७ फागुन २०७८, २० : ००
शुक्रबार, २७ फागुन २०७८

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ । 
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य हुने छैन । यसअघि अस्पतालमा अपरेशन लगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य चाहिन्थ्यो ।

मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपमात्रै १५ लाख बढीले लगाएका छन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा  कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाइसकेका छन् । 

 मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा एक करोड ८६ लाख ३ हजार ४५४ जनाले लगाएका छन् भने पूर्ण मात्रा एक करोड ८३ लाख ५२ हजार १२१ जनाले लगाइसकेका छन् । अर्थात् कुल जनसङ्ख्याको ७४.५ प्रतिशतले कम्तीमा एक मात्रा, पूर्ण मात्रा ६२.९ प्रतिशतले लगाएका छन् ।

सरकारले चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ । हालसम्म कम्तीमा एक मात्रा खोप १ करोड ८३ लाख  ८७ हजार ५२७ जनाले लगाएका छन् भने पूर्ण मात्रा १ करोड ६० लाख  १७ हजार २८ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् ८०.४ प्रतिशत पूर्ण मात्रा र ९२.३ प्रतिशतले एक मात्रा लगाएका छन् । 
सरकारले खोप अभियान सुरु गरेको १४ महिनामा १८ वर्ष माथिका ८०.४ प्रतिशत जनतालाई खोप दिइसकेको छ । लक्ष्यअनुसार अबको एक महिनाभित्र २० प्रतिशत जनसङ्ख्यालाई दिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप