आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रजातन्त्रको जग बलियो बनाउन खेलाडीको भूमिका महत्वपूर्ण : रामहरि खतिवडा

मङ्गलबार, ०१ चैत २०७८, १७ : ५१
मङ्गलबार, ०१ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले खेलकुद मन्त्रीलाई खेलको विकासमा लाग्न सुझाव दिएका छन् । गण्डकी तेक्वान्दो संघको कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै खतिवडाले खेलकुदको विकास र खेलाडीका लागि खेलकुद मन्त्रीले काम गर्नुपर्ने बताए ।

खेलकुदको क्षेत्रबाट नेपालको नाम विश्वभरि चिनाउनुपर्ने उनले बताए । उनले झण्डा हल्लाउन र सुविधा लिन मात्रै मन्त्री बन्ने हो भने कहिल्यै पनि खेलकुदको विकास नहुने बताए । नेता खतिवडाले सगरमाथा र गौतम बुद्धको नामले नेपाललाई चिनाए जस्तै गरेर खेलकुदको माध्यमबाट पर्यटनको पूर्वाधारका रुपमा नेपाललाई चिनाउनुपर्ने बताए । उनले भने, ‘मन्त्री बन्नका लागि मात्रै होइन, खेलकुद क्षेत्रको विकासमा पनि मन्त्री लाग्नुपर्छ ।’
 
‘विदेशी सहयोग र ऋण लिनुपर्ने अवस्था छ । खेलकुदमा रकम छुट्याउन सक्यौँ भने खेलकुदको विकास हुन्छ’, उनले भने, ‘खेलकुद र खेलाडीका लागि बजेट दिएर सहयोग गर्नुपर्छ । खेलाडी र खेल क्षेत्रलाई सहयोग गर्नुपर्छ ।’

काँग्रेस नेता खतिवडाले सरकारले खेलाडीको सम्मान गर्नुपर्ने बताए । प्रजातन्त्रको जग बलियो बनाउन पनि खेलाडीको महत्वपूर्ण भूमिका रहने उनले बताए । गण्डकीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नका लागि पनि उनीहरूलाई सेवा सुविधा दिनुपर्ने खतिवडाले बताएका छन् ।

‘मुख्यमन्त्रीलाई तपाईहरूले घचघच्याउनु होला । उहाँले केन्द्रमा घचघच्याउनु हुनेछ । म पनि सहयोग गर्नेछु’, खतिवडाले भने । नेता खतिवडाले सरकारले पर्यटन व्यवसायलाई सहयोग गर्न भनेर चौबीसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाएको बताए ।

‘गृहमन्त्रीले पर्यटन व्यवसायलाई सहयोग पुगोस् भनेर रात्रिकालीन व्यवसायलाई २४ सैं घण्टा चलाउनुपर्ने निर्णय गराउँदै हुनुहुन्छ’, उनले भने, ‘यो निर्णयले पोखरालाई सहयोग हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप