आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाराही घाटमा सन्ध्या आरतीको सौन्दर्य (फोटो फिचर)

शनिबार, ०५ चैत २०७८, १७ : १५
शनिबार, ०५ चैत २०७८

जब सन्ध्या हुन्छ, माछापुच्छ्रेको आँगन फेवाताल थकित देखिन्छ । आगन्तुकहरूलाई बिहानीबाटै तालबाराही माताको दर्शन गराउन अनि ताल वरपर घुमाउन व्यस्त डुङ्गा पनि सन्ध्यासँगै फेवा किनारा लाग्छन् । दिनभरिको कमाइ बोकेर माझीहरू डेरातिर लम्कन्छन् ।

अँध्यारोले घेर्दै जाँदा फेवाको चहलपहल शून्य हुन्छ । अर्थात् फेवा आफैमा सिरानी कस्छ । तर, साँझ फेवा वरपर टहलिन निस्कने पर्यटकलाई भने फेवा निदाएको पटक्कै मन पर्दैन । सुस्ताएको फेवाले कता कता खल्लो महसुस गराउँछ । लाग्छ, दिनमा झैँ साँझ पनि फेवा उसैगरी जागिरहोस् ।

फेवालाई अध्यारोले घुम्टो ओढाउँदै गर्दा थोरै भए पनि पर्यटकको मन जित्ने काम भने ‘सन्ध्याकालीन आरती’ले गरेको छ । विशेष गरेर धार्मिक पर्यटनलाई केन्द्रमा राखेर ‘माता तालबाराही आरती सेवा समितिले’ बाराहीघाटमा सन्ध्याकालीन आरती गर्ने गरेको छ । यसले बाराहीघाटमा थोरै समय भएपनि पर्यटकलाई मन्त्र मुग्ध बनाउने गरेको छ ।

२०७५ साल असोजको तेस्रो साता अर्थात्, दसैँको घटनास्थापनाको अवसर पारेर सुरु गरिएको सन्ध्या आरती हेर्न आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लै हुने गरेको छ । अझ, मुक्तिनाथ यात्रामा हिँडेको अधिकांश भारतीय पर्यटकका लागि बाराही घाटको संगीतमय आरती कार्यक्रम अर्को आकर्षणको विषय बन्ने गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप