आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो

मङ्गलबार, ०८ चैत २०७८, १८ : ०४
मङ्गलबार, ०८ चैत २०७८

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।

संशोधित ब्याजदर अनुसार अब सर्वसाधारण ऋणीले सहुलियतपूर्ण कर्जाको अधिकतम ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको थियो । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनर्कर्जामा ऋणीहरुले बैंकहरुलाई अधिकतम ७ प्रतिशत ब्याजदर तिर्नुपर्ने छ भने, सो कर्जामा बैंकहरुले राष्ट्र बैंकलाई ४ प्रतिशत तिर्नुपर्छ । अर्थात् यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग ४ प्रतिशतमा लिएर सेवाग्राही ऋणीहरुलाई अधिकतम ७ प्रतिशतमा लगानी गर्न सक्नेछन् । 

तर, विशेष पुनर्कर्जामा भने बैंकहरुले २ प्रतिशतमा लिएर अधिकतम ५ प्रतिशतसम्ममा मात्र लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित निजी व्यवसायिक, उद्योग, कलकारखानासँगै विशेष प्रभावित होटल पर्यटन तथा ट्रेकिङ क्षेत्रको उत्थानका लागि विशेष पुनरकर्जाको व्यवस्था गरिएको थियो ।

हाल बजारमा तरलताको अभाव भएसँगै निक्षेपको ब्याजदर नै अधिकतम ११.०३ प्रतिशत पुगिसकेको अवस्थामा कर्जाको ब्याजदर औषतमा १४ प्रतिशत पुगिसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप