आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वसन्त ऋतुमा फूलको बहार, तस्बिरमा हेर्नुहोस् पुष्प मेला

१० प्रतिशत फूल मात्र आयात
बिहीबार, १० चैत २०७८, १४ : ५२
बिहीबार, १० चैत २०७८

यतिबेला वसन्त ऋतु । बोटविरुवाको पात झरेर नयाँ पालुवा हाल्ने बेला । उराठबाट हरियालीतिर लाग्ने यो ऋतुमा रंगी विरंगी फूलले कसलाई पो मोहित नपर्ला र ! यही वसन्त ऋतुमा २३ औं पुष्प मेला सुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा सुरु भएको मेला चार दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

मेलामा विभिन्न ५१ वटा स्टल रहेका छन् । मेलाको अवलोकन ४५ हजारले गर्ने र करिब ७५ लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको एशोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्रीहरु समेत प्रदर्शनमा राखिएको छ ।


साथै, सुक्ष्म तथा थोपा सिंचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष पनि राखिएको छ । उनका अनुसार मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्था, कलेज, स्कुलका प्रध्यापक तथा विद्याथीहरुको सहभागिता रहने छन् । 

एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको अध्यक्षतामा भएको पुष्प मेलाको उद्घाटन बागमती प्रदेश सरकारका कृषि राज्यमन्त्री इन्दुमाया गुरुङले गरिन् । उनले नेपालमा पुष्प व्यवसायीको सम्भावना भएपनि यसलाई नीति ढंगबाट अगाडि बढाउन नसकेको बताइन् । नेपालमा ६५ प्रतिशत जनता कृषिमा संलग्न छन्, त्यसमध्ये एक प्रतिशत कृषक मात्र पुष्प खेतीमा लागेको बताउँदै उनले यस व्यवसायीलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन सके आर्थिक वृद्धिमा राम्रो सहयोग गर्न सकिने बताइन् ।

कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले पनि पुष्प व्यवसायको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताए । यो क्षेत्र आकर्षणको क्षेत्र भएपनि समग्रमा सरकारको पनि ध्यान नपुगेको बताउँदै उनले नेपाल लगभग फूलमा आत्मनिर्भर रहेको बताए । 

नेपालमा माग हुने फूलको ९० प्रतिशत आन्तरिक उत्पादनले नै पुगिरहेको र १० प्रतिशत मात्र बाहिरबाट मगाउनुपर्ने बताउँदै उनले अलिकति मेहनत गर्यो भने आत्मनिर्भर मात्र होइन, निर्यात पनि गर्न सकिने बताए ।
उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तालाल हिराचनले यसखालको मेलाहरु भइरह्यो भने फूलको प्रचार प्रसार तथा व्यपार प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए । कोभिड–१९ बाट पुष्प क्षेत्र पनि प्रभावित भएको बताउँदै उनले यसको समग्र विकासका लाग महासंघ सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए । 

एशोसिएसनका अध्यक्ष तामाङले पुष्प व्यवसायी आफ्नो बलमा आत्मनिर्भरतर्फ अगाडि बढि रहेको दावी गर्दै यसमा सरकारको कुनै सहयोग नरहेको बताए । कृषिका धेरैजसो उत्पादनलाई अत्यावश्यवस्तुमा राखेपनि फूललाई त्यसमा नराखेको कारण यस क्षेत्रमा लागेका व्यवसायीको ठूलो नोक्सानी भएको उनले बताए । सरकारले थोरै सहयोग गरे भने आफूहरु निर्यातको अवस्थामा पुग्ने दावी गर्दै उनले पुष्प प्रवद्र्धन नीतिलाई परिमार्जनसहित कार्यान्वयनमा ल्याउन आग्रह पनि गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप