आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा आगलागीका ५९० घटना, २५ को मृत्यु

नियन्त्रण प्रणाली कमजोर, पीडित परिवार सधैँ पीडामा
शुक्रबार, २५ चैत २०७८, १८ : ०३
शुक्रबार, २५ चैत २०७८

बाराको परवानीपुर गाउँपालिका–५ नौतनकी कुन्तीदेवी साह खरले छाएको घरमा सुतेकी थिइन । खाना खाएर नाती नातिनासँगै मध्याह्न करिब १२ बजेतिर मस्त निद्रामा रहेकी कुन्तीले घरमा आगो लागेको सुइँको पाउन सकेकी थिइनन् । आधा घर जलिसक्दा पनि कुन्तीसहित उनकी ५ वर्षीय नातिनी सृष्टि कुमारी र २ वर्षीय नाती शिवम सुतिरहेकै थिए । छिमेकी शेषमन साहको गोठबाट सुरु भएको आगलागीले एकैछिनमा कुन्तीको आधी घर जलाइसकेको थियो । तर उनीहरुलाई घरमा आगो लागेको कुनै अत्तोपत्तो थिएन ।

कुन्तीका श्रीमान् मोतिलाल साह कानु तथा छोरा बुहारी रोजगारीको सिलसिलामा खाना खाएर बीरगंजतिर गएका थिए । गाउँका अधिकांश पुरुष पनि रोजगारीका लागि बीरगंज लगायतका स्थानमा गएका थिए । काम गर्न नसक्ने तथा कलिला बालबालिका बाहेक छिटफुट रुपमा केही युवामात्र गाउँमा थिए । घर जलिरहेको देखेर छिमेकी समतोला देवी कानुले कराउँदै आगो निभाउन गुहार माग्न थालिन् । उनले कुन्तीको नाम लिँदै ‘घरबाहिर निस्क, तिम्रो घरमा आगो लाग्या छ’ भन्दै कराउन थालेपछि कुन्ती घर बाहिर निस्केकी थिइन् ।

‘घर बाहिर निस्किँदा आधी घर जलिसकेको थियो,’ उनले भनिन्, ‘हतार हतारमा नाती नातिनीलाई पनि स्थानीयवासीको सहयोगमा बाहिर निकाल्न भ्याएँ,’ उनले भनिन्, ‘त्यसपछि दोहो¥याएर घरमा पस्न सकिएन । हेर्दाहेर्दा घरसँगै भित्रको सबै सामान, नगद जलेर खरानी भयो । गाउँलेले तत्कालै दमकललाई फोन गर्दा पनि समयमै आउन नसक्दा अन्नपात, घरमा राखिएको नगद, गरगहना, लताकपडा, भाँडाकुडा, पलङ लगायतका सबै सामान जलेको पीडित कुन्तीले रातोपाटीलाई जानकारी दिइन् ।

जेनतेन गरेर बनाएको घर जलेर खरानी भएको खबरले मोतीलाललाई एक छिन रिंगटा नै लागेको थियो । परिवार चलाउन सकस खेप्दै आएका मोतीलाललाई ओत लाग्ने सहारा खोसिएपछि पीडा थपिएको छ । बढ्दो महँगीको सामना गरिरहेको बेला आगलागीको बज्रपातले थपिएको पीडा सहन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

शेषमन र मोतीलाल दुवै जनाका गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । घटनाबारे जानकारी पाउने बितिकै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले खानेकुरा, भाँडाकुडा, चामल, दाल, ओत लाग्न प्लाष्टिकको त्रिपाल सहितको राहत सामाग्री पीडित परिवारलाई उपलब्ध गराएका थिए । उनले आगलागीबाट गाउँबस्तीलाई जोगाउन हरहमेसा चनाखो बस्न स्थानीयलाई सुझाव दिए भने पीडित परिवारलाई पुरानो अवस्थामा फर्काउन थप सहयोग गर्ने आश्वासन पनि दिए ।

आगलागी कसरी सुरु भएको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । पछिल्लो ३ साता यता बारामा १३ वटा घर गोठमा आगलागी हुँदा करिब ३१ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए । गर्मी सुरु भएसँगै बारामा एक÷दुई दिनको अन्तरालमा आगलागीको घटना हुने गरेको उनको भनाइ छ ।

यी घटना प्रतिनिधिपात्र मात्र हुन । वर्षौँदेखि कमाएर जोडेको घर, सम्पत्ति एकछिनको आगोले खरानी बनाइदिने गरेको छ । आगलागीको घटना बारम्बार भए पनि सर्वसाधारणले किन सावधानी अपनाउन सकेका छैनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सावधानी नअपनाउँदा बर्सेनि मधेस प्रदेशको ८ वटै जिल्लामा आगलागीको घटना दोहोरिने गरेको छ ।

मधेस प्रदेशमा पाँच सय ९० आगलागी

साउन यता मधेस प्रदेशको ८ वटै जिल्लामा गरी अहिले सम्म ५९० वटा आगलागीका घटना भएका छन् । यी आगलागीका घटनामा परेर १७ जना महिला, ६ जना बालबालिका २ जना पुरुष गरी २५ जनाको मृत्यु भइसकेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, साउन यता ६१ जना महिला, ९ जना बालबालिका र १० जना पुरुष जलेर घाइते भई अंगभंग भएका छन । यो अवधिमा आगलागीमै परेर १८ सय ७३ वटा चौपाया जलेर मरेका छन् भने ६३ वटा चौपाया घाइते भएका छन ।

आगलागीमा परेर २४ वटा पक्की, २ सय २६ वटा कच्ची र १२१ वटा गोठ जलेर ध्वस्त भएको छ । आगलागीमा फसेका एक हजार ७६ जनाको स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको मधेस प्रदेश प्रहरी कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए ।

यी सबै आगलागीमा गरेर अहिले सम्म २३ करोड १७ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।  साउन यता रौतहट जिल्लामा मात्र आगलागीका ८० वटा घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यी आगलागीमा रौतहटमा मात्र एक करोड ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको पूर्व तयारी प्रणाली कमजोर

स्थानीय पालिका तथा जिल्ला विपद व्यवस्थापनकै कमजोरीका कारण मधेस प्रदेशमा भइरहेको आगलागीका घटनामा ठुलो जनधनको क्षति हुने गरेको छ ।

पालिकाहरुले आगलागी नियन्त्रण गर्न खरिद गरेको दमकल सडकमा पानी छर्ने, सेनिटाईजर छर्ने, भीआईपी नेताहरुको कार्यक्रममा फिल्डमा पानी छर्ने काममा बढी प्रयोग हुने गरेका छन् । अन्य काममा प्रयोग गरिएका दमकल चुस्तदुरुस्त अवस्थामा नराखिएका कारण तथा दमकलका कर्मचारी तम्तयार अवस्थामा नबस्दा आगलागीलाई समयमा नियन्त्रण गर्न नसकेर ठुलो जनधनको क्षति हुने गरेको पीडितहरुको भनाइ छ ।

समयमा आगलागी नियन्त्रण गर्न नसक्दा यही चैत १२ गते दिउँसो सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठहामा एकै पटक १४ वटा घरगोठ जलेर खरानी भए । जसमा करिब २६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी ३ साता अघि सप्तरीको तिलाठी गाउँपालिकामा एउटै टोलका १० वटा घर जलेर खरानी बने । गर्मीको बेलामा तराईमा आगलागीका घटना बढी हुने गरेकाले जिल्ला विपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम सेढाईले जानकारी दिए । आगलागी नियन्त्रण गर्ने संयन्त्र पालिकाहरुसँग रहेको र त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी उनीहरुकै रहेकाले बैठक राखेर सबै पालिका प्रमुखलाई सचेत गराइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पवन यादव
पवन यादव
लेखकबाट थप