आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८ महिनाको अर्थतन्त्र : बढ्दो आयात र घट्दो रेमिट्यान्स

बजार महँगीले लक्षित सीमा नाघ्यो
मङ्गलबार, २९ चैत २०७८, १७ : २७
मङ्गलबार, २९ चैत २०७८

चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिले राखेको मुद्रास्फीतिको लक्षित सीमा ६.५ प्रतिशत हो । यसरी मुद्रास्फीति ह्वातै बढ्नुको कारणमा भने आन्तरिक भन्दा बाह्य कारण प्रमुख रहेको छ । पछिल्लो समय बढ्दो रुस–युक्रेनले प्रभाव विश्व बजारमा पर्दा सोको दबाब नेपालमा समेत पर्न गएको हो । 

रेमिट्यान्सको निरन्तरको दबाब कायमै
निरन्तर घट्दो दरमा रहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स) ८ औं महिनामा पनि खासै सुधार आउन सकेन । चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा १.७ प्रतिशतले रेमिट्यान्स घटेर ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.७ प्रतिशतले बढेको थियो ।

तर, रेमिट्यान्स घट्दै गर्दा यता आयात भने ३८.६ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष फागुनमा आयात २.१ प्रतिशतले मात्रै बढेको थियो । अघिल्लो वर्ष फागुनसम्ममा कूल वस्तु व्यापार घाटा १.६ प्रतिशतले बढेकोमा अहिले ३४.५ प्रतिशत पुगेको छ । नेपालले ८ महिनामा ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको हो । 

निर्यात बढेको देखिएपनि भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष फागुनमा ६८ अर्ब १ करोड रुपैयाँ बचनमा थियो । अर्थात, वाह्य क्षेत्रमा मौद्रिक कारोबार गर्दा नेपालले घाटा नै व्यहोरेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानीतर्फ चाहिँ ६० प्रतिशत वृद्धि भएको छ ।

विनिमय सञ्चितिमा दबाब बढ्दो
चालू आर्थिक वर्षको ८ महिनामा नेपालको विदेशी विनिमय सञ्चितिमा पनि दबाब परेको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको विनिमय सञ्चिति घटेर फागुनसम्ममा ११ खर्ब ७१ रुपैयाँ छ । यसबीच विनियम सञ्चिति १६.३ प्रतिशतले घटेको हो । उपलब्ध विनियम सिञ्चितिले ७.४ महिनाका लागि आवश्यक वस्तु र ६.७ महिनाका लागि आवश्यक वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

आफूसँग असारमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १८.२ प्रतिशत घटेर १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँमात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि विदेशी विनिमय सञ्चिति पनि १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँमात्रै छ । अहिले नेपालको कूल विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत छ । असारदेखि फागुनसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६३ प्रतिशतले अवमूल्यन भएको छ ।

​यसको अर्थ, अमेरिकी मुद्रामा कुनै वस्तु तथा सेवाको मूल्य स्थिर रहँदा पनि नेपाली रुपैयाँमा खरिद गर्दा अहिले २.६३ प्रतिशत बढी रकम तिर्नुपरेको छ । अघिल्लो वर्ष फागुनमा भने नेपाली मुद्रा अमेरिकी डलरसँग बलियो हुने क्रममा थियो । त्यतिखेर डलरसँग रुपैयाँ ३.६२ प्रतिशतले अवमूल्यन भएको थियो ।

निक्षेप र कर्जा वृद्धिदर पनि संकुचित
आर्थिक गतिविधि बढाउने मौद्रिक अस्त्र मानिने निक्षेप र कर्जा वृद्धिदर पनि यो वर्षको पहिलो आठ महिनामा संकुचित भएको छ । अघिल्लो फागुनसम्ममा १७.४ प्रतिशतले बढेको कर्जा प्रवाह यो फागुनसम्ममा १२.८ प्रतिशतले मात्रै बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ६७ प्रतिशत हिस्सा अनुत्पादक मानिने घरजग्गाको धितोमा गएको छ । कृषि र गैर कृषिजन्य वस्तु अर्थात चालु सम्पत्तिको धितोमा जम्मा १२.५ प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष घरजग्गामा ६६.२ प्रतिशत कर्जा प्रवाह भएकोमा यो वर्ष सो कर्जा बढेको छ । 

नेपालका बैंकहरूमा अघिल्लो फागुनसम्म निक्षेप ११ प्रतिशतले बढेको थियो । शुरूदेखि नै तरलता संकट भोगेको यो वर्षको फागुन मसान्तसम्म भने ४.१ प्रतिशतले मात्रै निक्षेप बढेको हो । कूल निक्षेपमध्ये अघिल्लो वर्ष फागुनमा मुद्दती खातामा ५५.५ प्रतिशत थियो । अहिले सो परिमाण ४८.६ प्रतिशतमा झरेको छ । संस्थागत निक्षेप पनि ४२.१ बाट ३८.८ प्रतिशतमा झरेको छ । 

ब्याजदरले लपेट्दै
अघिल्लो वर्षको फागुनभन्दा यो फागुनसम्ममा सबै प्रकारका भारित औसत ब्याजदर बढेको छ । ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.०३ बाट ६.८२, अन्तरबैंक ब्याजदर १.२६ बाट ६.५६, आधारदर (बेस रेट) ६.८४ बाट ८.९८, निक्षेपको ब्याजदर ४.७६ बाट ६.९३ र कर्जा ब्याजदर ८.७३ बाट बढेर १०.६० प्रतिशत पुगेको छ । 

सेवा आयमा ६७ अर्ब घाटा
यो आठ महिनामा नेपाललाई सेवा आयमा पनि खुद ६७ अर्ब २ करोड घाटा भएको छ । अघिल्लो फागुनमा यस्तो घाटा ४३ अर्ब ३६ करोड रुपैयाँमात्रै थियो । नेपाल भ्रमण गरेकाबाट १४ अर्ब ९६ करोड रुपैयाँ संकलन हुँदा भ्रमण व्यय ४६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । विदेश पढ्न जानेले मात्रै ३० अर्ब ३८ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्ष फागुनमा यो माध्यमबाट १८ अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप