आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन : मन्त्री आङ्बो

शनिबार, ०३ वैशाख २०७९, १३ : २९
शनिबार, ०३ वैशाख २०७९

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् । 

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

गठबन्धनको बैठकमा होस् वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरूमा काँग्रेसले माओवादीको धेरै अपमान गरिरहेको महसुस गरेर आफूले यसखालको टिप्पणी गरेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै गठबन्धन काँग्रेसलाई नै चाहिएको छ र भए जति सबै सिट पनि काँग्रेसलाई नै चाहिने भएको छ । यो तादम्यता नै मिलेन नि,’ उनले भने, ‘यो एउटा चुनौतीपूर्ण देखिन्छ । अर्को काँग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतीपूर्ण देखिन्छ । एमालेलाई हराउने ठेक्का माओवादीको जिम्मा होइन । एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी किन बनाउनु पर्‍यो ? संविधान मिचियो, गणतन्त्र खतरामा पर्‍यो, व्यवस्थामा संकट आयो भनेर पो गठबन्धन गरेको त ।’

उनले माओवादीले पहिले जितेका स्थानलाई सुरक्षित गर्दै त्यति नै मात्रामा अहिले थप विजयी हुने दाबी पनि गरे । ‘हामी कमजोर अवस्थामा हुँदा पनि ०७४ सालमा हामीले सय बढी स्थानीय तह जितेका थियौँ । अहिले हामीसँग सरकार छ । संगठन बलियो बनाएका छौँ, जनताका धेरै काम गरेका छौँ । अब हामीले अरू १ सय जति बढाउँदा त्यसै पनि हाम्रो सम्मानजनक अवस्था बनिहाल्छ नि काँग्रेससँगै गठबन्धन किन गर्नुपर्‍यो र ? त्यसकारण स्थानीय स्तरमा स्वतन्त्र हिसाबले गठबन्धन गर्ने गरी अगाडि बढौँ ।’

त्यस्तो परिस्थितिमा आवश्यकता हेरेर गठबन्धन हुने उनको भनाइ छ । ‘त्यसो गर्दा काहिँ एमालेसँग गठबन्धन हुन्छ, काहिँ काँग्रेससँग गठबन्धन हुन्छ । काँग्रेसलाई ठूलो बनाउनु पर्ने र एमालेलाई हराउनुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त पनि होइन, उद्देश्य पनि होइन र नीति पनि त्यो होइन । हामी स्थानीय तहको निर्वाचनको हकमा तालमेल गर्ने विषय काँग्रेसले भनेजस्तै आवश्यकता र औचित्यको आधारमा तल्लो तहलाई नै छोडिदिऔँ,’  आङ्बोले भने, ‘त्यसो गर्दा काहिँ वामलोकतान्त्रिक गठबन्धन होला, काहिँ वामपन्थी गठबन्धन होला । गठबन्धनको विषयमा काँग्रेसले जसरी आफूलाई मसिहा ठानिरहेको छ यो कुरालाई स्वीकार गर्न सकिँदैन ।’

सङ्खुवासभामा गठबन्धन गर्न काँग्रेस तयार भएन : माओवादी

यसैबीच माओवादी केन्द्रले सङ्खुवासभामा काँग्रेससँग गठबन्धन नहुने घोषणा गरेको छ । माओवादी केन्द्र सङ्खुवासभाका संयोजक टेकमान राईले एक विज्ञप्ति जारी गर्दै काँग्रेस आफ्नो निर्णय लिने स्वतन्त्र भएको बताएका छन् । 

‘यदि नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लङ्घन गरेर एकलौटी अगाडी बढेमा हाम्रो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आफ्नो राजनैतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

वैशाख २ गतेको बैठकमा काँग्रेसले आफ्नो पार्टीभित्रको अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरूमा तालमेल गर्ने विषयमा भएको सकस, नेपाली काँग्रेसबाट माओवादीलाई भएको अति उपेक्षा र अवमूल्यन गरेको कारण गठबन्धनमा सहमति हुन नसकेको निष्कर्षमा माओवादी पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले आफ्नो पार्टीभित्र देखिएको गुटगत समस्यालाई मिलाउन नसकेर गठबन्धन नगर्ने भन्दै गरेको घोषणा औचित्यपूर्ण नभएको भन्दै आफ्नो पार्टी अझै पनि गठबन्धनको भावना र मर्म अनुसार अगाडि बढ्न तयार रहेको उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप