आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ज्यान मार्ने उद्योग’को मुद्दा फिर्ता लिन काँग्रेस नेताहरूको दौडधुप

प्रोफेसर कुट्न भाडाका गुण्डाले लिएका थिए विद्यार्थी नेतासँग २० हजार रुपैयाँ
बुधबार, १४ वैशाख २०७९, १२ : २६
बुधबार, १४ वैशाख २०७९

अन्य सबै कुरा सामान्य नै हुन्थ्यो भने यतिबेला प्रेम बहादुर चलाउने त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको कक्षा लिइरहेका हुन्थे । उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीलाई विश्वविद्यालयमा पढाउनु पर्ने उनी यतिबेला कहिले गृह मन्त्रालय, कहिले राष्ट्रिय मानव अधिकार आयोग त कहिले अदालत धाइरहेका छन् । किनभने उनले पाएको यातनाको भरपाई नहुँदै उनको मुद्दा फिर्ताको तयारी गरिएको छ ।

२०७७ साल असोज २० गते बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपक प्रेम बहादुर चलाउनेमाथि त्रिभुवन विश्वविद्यालयकै हातामा आक्रमण भयो । ज्यान मार्ने उद्योगले आक्रमण गराउने व्यक्तिहरूमा सोही विश्वविद्यालयमा राजनीति गर्ने विद्यार्थी नेताहरू थिए । विद्यार्थी नेताहरूले भाडाको गुण्डा ल्याएर उपप्राध्यापक चलाउनेमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए । तर भाग्यवस बाँचेका उनी यतिबेला न्यायका लागि भौँतारिनु परेको छ । ज्यान मार्ने उद्योगमा संलग्न ‘अपराधी’को मुद्दा फिर्ता लिन लागेको भन्दै उनले फेरि हारगुहार गर्न थालेका छन् ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरी ज्यान मार्ने उद्योगमा संलग्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट राजनीति गर्ने हरि आचार्य र योगेन्द्र रावल लगायतविरुद्धको मुद्दा ‘राजनीतिक’ भन्दै फिर्ता लिने तयारी भएको छ । प्रेम बहादुर चलाउनेको जाहेरीले नेपाल सरकार बादी भएको ज्यान मार्ने उद्योगको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । यद्यपि आरोपितहरू जिल्ला तथा उच्च अदालतको आदेशबाट जनही ५ लाख धरौटी तिरेर छुटिसकेका छन् ।

उक्त मुद्दाको अन्तिम किनारा लागिसकेको छैन । जिल्ला अदालतमा विचाराधीन मुद्दालाई अहिले राजनीतिकरण गर्दैै मुद्दा फिर्ताको तयारी गरिएको छ । त्यसका लागि काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति र नेपाल विद्यार्थी संघले गृह मन्त्रालयमा दिएको निवेदनलाई सम्बोधन गर्दै उनीहरूको मुद्दा फिर्ताको तयारी गरिएको छ ।

‘नेपाल सरकार बादी भई चलाइएका फौजदारी मुद्दाहरू फिर्ता लिनेसम्बन्धी कार्यविधि, २०७५’ अनुसार मुद्दा फिर्ताका लागि सुरुमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ । सोही कार्यविधि अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवादीहरूले उक्त घटनामा आफूहरूलाई राजनीतिक प्रतिशोध साँध्नेका लागि फसाइएको भन्दै निवेदन दिएका थिए ।

२०७८ कात्तिक ८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको निवेदनमाथि जिल्लाले कुनै कारवाही अगाडि नबढाएपछि नेपाली काँग्रेसको काठमाडौं जिल्ला समिति र नेपाल विद्यार्थी संघले गृह मन्त्रालयलाई पत्र लेखेर राजनीतिक घटना भएको कारण मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए । उक्त अनुरोधपछि गृह मन्त्रालयले २०७८ माघ ५ गते ‘आवश्यक कार्यार्थ’ भनी दर्ता नम्बर १५१९ बाट जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई मुद्दा फिर्ताको लागि रायसहितको निर्णय पेस गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माघ ६ गते गृहको पत्र प्राप्त गरेसँगै माघ १२ गते बसेको जिल्लाका तीन निकाय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयबाट राहत र क्षतिपूर्ति दिई मुद्दा फिर्ता लिन सकिने राय पठायो । गत माघ १२ गते गृह मन्त्रालयमा पठाइएको रायमा यस्तो लेखिएको छ– ‘यी प्रतिवादीहरूको मुद्दा हाल काठमाडौ जिल्ला अदालतमा विचाराधीन रहेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा पीडित प्रेमबहादुर चलाउनेले तोडेको विषयमा विवाद भई वारदात घटाएको अवस्था छ । प्रतिवादीहरूको उक्त कार्यबाट त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेमबहादुर चलाउनेको जिउ, ज्यानमा गम्भीर असर परेको । त्रिभुवन विश्वविद्यालयको शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको हुँदा उक्त क्षेत्रको शान्ति र अमनचयन कायम गर्न सार्वजनिक हित, शान्ति एवम् व्यवस्थामा गम्भीर असर पर्न नदिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डीन एवम् विभागीय प्रमुख व्यक्तिहरूको जिउ ज्यानको सुरक्षा भई निर्भीक र निर्भयतापूर्वक ढुक्क साथ काम गर्न पाउन भन्ने र त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र आम नागरिकमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा पीडितलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति र राहत रकमसमेत उपलब्ध गराई मुद्दा फिर्ता लिने प्रयोजनार्थ राय साथ निर्णयका लागि श्री गृह मन्त्रालय सिंहदरबार पठाउने निर्णय गरियो ।’

उक्त निर्णयमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका निमित्त सह–न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी र काठमाडौंका सिडिओ गोविन्द प्रसाद रिजालले हस्ताक्षर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मुद्दा फिर्ता लिँदा त्रिभुवन विश्वविद्यालयमा अमनचयन कायम हुने राय आएपछि गृह मन्त्रालयले केही दिन अघिमात्रै उक्त मुद्दा फिर्ताको प्रक्रिया पूरा गर्नका लागि महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाइएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार उपप्राध्यपक प्रेम चलाउनेको जाहेरीले बादी नेपाल सरकार रहेको र प्रतिवादी हरि आचार्य, योगेन्द्र रावल लगायत रहेको मुद्दा फिर्ता लिने प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयमा आइपुगेको छ ।

अब महान्यायाधिवक्ता कार्यालयले आफ्नो रायसहित उक्त फाइन पुनः गृह मन्त्रालयमा पठाउनेछ । र, गृह मन्त्रालयले उक्त फाइल कानुन मन्त्रालयमा पठाएपछि कानुन मन्त्रालयले मन्त्रिपरिषद्समक्ष पेस गर्नेछ । मन्त्रिपरिषद्ले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेमा सोको निर्णयसहित पुनः महान्यायाधिवक्ता कार्यालयमा पठाउनेछ र महान्यायाधिवक्ता कार्यालयले अदालतमा निवेदन दिनेछ । तर अदालतले उक्त मुद्दा फिर्ता हुने वा नहुने निर्णय भने आफै गर्न सक्नेछ ।

यस्तो थियो प्राध्यापक चलाउनेमाथिको आक्रमण

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा समाजशास्त्र विषयको प्राध्यापन गर्ने उपप्राध्यपक हुन् प्रेम बहादुर चलाउने । उनीमाथि २०७७ असोज २० गते बिहान अन्दाजी ९ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमै रहेको नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाबाट पैसा झिकेर फर्किने क्रममा ३ जना व्यक्तिहरूले कुटपिट गरे । उनीहरूले ज्यान मार्ने उद्देश्यले बाँसका भाटा प्रयोग गरी चलाउनेमाथि आक्रमण गरेका थिए । आक्रमणबाट टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेका उनीमाथि त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत रहेका नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावल समेतका व्यक्तिहरूले आक्रमण गरेको आरोपमा किटानी जाहेरी दर्ता भएको थियो ।

किटानी जाहेरी लगत्तै फरार रहेका उनीहरूबारे खोजी गर्ने क्रममा प्रहरीले आक्रमणमा संलग्न रुपेश साह, रविन कुमार लामा, निरज राना मगर र सयुश श्रेष्ठलाई पक्राउ गरेको थियो । सिसीटीभी फुटेजमा देखिएको मोटरसाइकल र व्यक्तिको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए । उनीहरू पक्राउ परेलगत्तै उनीहरूले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा कुटपिट गरेको बयान दिएका थिए ।

उनीहरूको मौकाको बयानकै आधारमा प्रहरीमार्फत् जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविन कुमार लामा, निरज राना मगर र सयुज श्रेष्ठलाई प्रतिवादी तथा उनीहरूलाई सहयोग गर्ने दिपक राज ओझालाई मतियारका रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरियो । प्रतिवादीहरूलाई १० वर्ष कैद र जनही एक लाख जरिवानाको मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंले भने प्रतिवादीहरूलाई सामान्य कुटपिट भन्दै न्युन धरौटी लिएर तारेखमा छाडिदिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले प्रतिवादीसँग २० हजारदेखि ८० हजार रुपैयाँसम्म धरौटी लिएर छाडिदिएका थिए ।

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत पाटन गएको थियो । तर उच्च अदालतले भने जिल्ला अदालतले माग गरेको धरौटी अपराधको प्रकृति र पीडितको स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै जनही ५ लाख रुपैयाँ धरौटी लिई प्रत्येक प्रतिवादीबाट उपचार खर्चका लागि तत्कालै जनही एक लाख रुपैयाँ भराउने आदेश दिएको थियो । यद्यपि सरकारी वकिल कार्यालय भने प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म निवेदन लिएर गएको छ । उक्त निवेदन सर्वोच्चमा अहिले पनि विचाराधीन अवस्थामै छ ।

भाडामा ल्याइएका अभियुक्तले यसरी स्वीकारेका थिए अपराध

उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई ज्यान मार्ने उद्योगले कुटपिट गर्ने प्रमुख व्यक्ति रुपेश साहले चलाउनेमाथि कुटपिट गरिएको र कुटपिटमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता थियो भनेर बयान दिएका थिए । मौकाको बयानमा साहले आफूले नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा कुटपिट गरेको र त्यसबापत २० हजार रुपैयाँ लिएको बताएका थिए ।

यस्तो थियो रुपेश साहको बयान 

म आफू आवद्ध रहेको नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट अनलाईन कक्षाहरू राम्रोसँग नगरेको र विद्यार्थीहरूको पठनपाठनका लागि कुनै योजना नबनाएको भन्ने समेतका विषयहरूमा छलफलको माग राखी आन्दोलन गर्दै आइरहेको र उक्त विरोध कार्यक्रममा विगत १ महिना अगाडिदेखि म आफूसमेत साथीहरूसँग सहभागी हुँदै आइरहेको थिएँ, यसै क्रममा त्रिभुवन विश्वविद्यालयको नेविसंघ सभापति हरि आचार्यले मलाई मिति २०७७ असोज १९ गते बेलुकाको अन्दाजी ८ बजेको समयमा निजको मोबाइल नम्बर ९८५७०..... बाट मेरो ९८४२४.....मा फोन गरी विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम बहादुर चलाउनेले हाम्रो संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा तोडेको छ, त्यसलाई ठीक पार्नु पर्छ, त्यसका लागि मद्दतसहित प्रहारसमेत गर्न तिमीलाई के के र कति जना मानिस चाहिन्छ, सम्पूर्ण काम कुरा तिमीले मिलाउनु र प्रेम बहादुर चलाउनेलाई चिन्ने, निज आउने ठाउँ देखाउने र अन्य सहयोगका लागि भोलि बिहान योगेन्द्र रावललाई त्रिभुवन विश्वविद्यालयमा गई भेट्न भनेको हुँदा मैले सोही कुरा योगेन्द्र रावललाई फोन गरी जानकारी गराएको र निजले मलाई कम्तीमा ४ जना केटाहरू लिई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गेट अगाडि रहेको चिया पसलमा आउनु भनेको हुँदा मैले मेरो साथी रविन कुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठलाई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम चलाउनेलाई ठीक पार्नु पर्नेछ, तिमीहरू पनि मसँग जानु पर्छ भनी मिति २०७७ असोज १९ गते नै फोन सम्पर्क गरी जानकारी गराएको हुँदा मिति २०७७ असोज २० गते साथी स्वर्णिमको नम्बर याद नभएको स्कुटर लिई सोही स्कुटर आफूले चलाई सयुस श्रेष्ठलाई साथमा लिई जिल्ला काठमाडौं कीर्तिपुर नपा वडा न. १० त्रिभुवन विश्वविद्यालयको गेट अगाडि पुग्यौँ ।

हामी दुई जना त्यहाँ पुग्दा मेरो साथीहरू रविन कुमार लामा र निरज राना मगरसमेत त्रिभुवन विश्व विद्यालयको गेट अगाडि रहेको चिया पसलमा आइसकेको हुँदा निजहरूलाई भेटेको र सोही चिया पसलमा योगेन्द्र रावलसमेत भएको हुँदा निजलाई भेटिसके पश्चात निजले मलाई जाहेरवाला प्रेम चलाउनेको फोटो मोबाईलमा देखाई यसैलाई हान्नुपर्ने हो, ढुङ्गा मुडा र भाटा समेतले सकेसम्म चुट्नु, मरेमा केही फरक पर्दैन जे परेको हामी व्यर्होछौँ भनेपछि प्रेम चलाउनेको फोटो मैले योगेन्द्र रावलको मोबाईलबाट मेरो मोबाईलमा खिची म तथा मेरो साथीहरू रविन कुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठ समेत चारै जनाले फोटो हेरी म र रविन कुमार लामाले त्रिभुवन विश्वविद्यालयको कम्पाउण्ड छेउबाट ल्याइए बाँसका गोलगिंडहरू समेत साथमा लिई फोटोमा भएका मानिसलाई ठीक पार्न भनी जाँदै गर्दा योगेन्द्र रावलले निजको ९८५११.....बाट मेरो मोबाईल नम्बर ९८४२४.....मा फोन गरी प्रेम चलाउने बैंकबाट निस्कियो आफ्नो काम गर भनी मलाई जानकारी गराए पश्चात फोटोमा भएका मानिसलाई सोही ठाउँमा भएको नेपाल बैक लिमिटेड अगाडि सार्वजनिक ठाउँमा भेटेको हुँदा निजलाई सोही ठाउँमा रोकी म लगायत मेरो साथीहरू रविन कुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर समेत ४ जना भई निजलाई किन ताल्चा फुटाएको भनी सँगै लिएर गएको बाँसले मैले निजको टाउको तथा अनुहारको भागमा, रविन कुमार लामाले निजको कम्मरको भागमा, सयुज श्रेष्ठले लात्ती र मुक्काले निजलाई कुटपिट गरेको हो । हामी ३ जनाले कुटपिट गर्दा निरज राना मगर नजिकै भाग्ने तयारी तथा प्रहरीसमेत आएको हेर्नका लागि स्कुटर स्टार्ट गरी स्कुटरमै बसेका थिए र हामीले प्रहार गर्दागर्दै बाटोमा यात्रा गरिरहेका ३–४ वटा मोटरसाईकलमा आएका मानिसहरूले समेत मोटरसाईकल रोकी हामीहरूलाई हेर्न थालेकोमा मानिसहरूले समाउछन् कि भन्ने डर लागेको र हामीहरूले प्रहार गरेका मानिस रगताम्य भई रोडमा ढलेपछि म लगायत सयुज श्रेष्ठ, निरज राना मगर र रविन कुमार लामा सो ठाउँबाट भागी हिँडेका हौं । म उक्त वारदात पश्चात भागी मिति २०७७ असोज २० गते काठमाडौंको तिलगंगाको होटलमा गई बसेको, मिति २०७७ असोज २१ गते बेलुका काठमाडौंबाट रात्री बसमा रुपन्देहीको बर्दघाटमा गई सो दिन होटलमा बसेको, मिति २०७७ असोज २३ गते बिहान सो ठाउँबाट जिल्ला चितवन नारायणघाटमा गई होटलमा बसेको र मिति २०७७ असोज २४ गते सो ठाउँबाट सिरहा हुदै दिदीको घर जिल्ला मोरङ विराटनगरमा गई बसेको र मिति २०७७ असोज २५ गते बिराटनगरबाट दिदीको स्कुटर लिई काठमाडौं आएकोमा सोही दिन म पक्राउमा परेको हुँ ।

हामीहरूले लिई गएको गोलगिंड भएको बाँसले निज जाहेरवालालाई प्रहार गर्दा बाँस फुटी टुक्रा भएको हुँदा सोही टुक्रा प्रहरीले बरामद गरी ल्याएको हो । उक्त बाँसका भाटा हेरी चिनी सनाखत गरिदिएँ । जाहेरवालालाई प्रहार र हमला गर्ने र सो बाट ज्यान मरे पनि आफैले जिम्मा लिने भनि मलाई निर्देशन दिने हरि आचार्य हुन् । जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यका लागि म समेतलाई जाहेरवालाको फोटो देखाई चिनाउने, जाहेरवालाको निगरानी र रेकी गर्ने तथा अन्य सहयोगको लागि वारदात स्थलमा खटिने योगेन्द्र रावल हुन् भने निजहरू दुवैको निर्देशन बमोजिम जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यमा रविन कुमार लामा, सयुज श्रेष्ठ, निरज राना मगर र म स्वयं हौँ । यस कार्यका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल भएकोले निजहरूको जाहेरवालासँग अन्य के के रिसईवी थियो मलाई थाहा छैन । निजहरू दुवैको निर्देशन बमोजिम म समेतले जाहरवालालाई प्रहार गरेका हौँ । प्रहरी प्रतिवेदन साथ मिसिल संलग्न भएको जाहेरबाला प्रेम चलाउनेको अनुहारमा घाउ चोट भएको फोटो मलाई देखाउँदा देखी पाएँ, फोटो जाहेरवाला प्रेम चलाउने कै हो, यिनै जाहेरवालाको फोटो मलाई योगेन्द्र रावलले निजको मोबाईलबाट मलाई देखाई मैले मेरो आफ्नो मोबाइलमा निजको फोटो खिचेको हुँ । म समेतले निजलाई बाँसको गोलोगिंडले प्रहार गर्दा निजको अनुहारमा उक्त घाउचोट लागेको हो । वारदात पश्चात भाग्नका लागि आफूसँग रकम नभएको हँुदा मैले हरि आचार्यलाई फोन सम्पर्क गरेको र निजले पठाएको एक जना मानिसले मलाई जिल्ला ललितपुर पाटनमा भेटी जम्मा रकम बीस हजार ल्याई दिएका हुन् । रकम ल्याई दिने मानिस को हुन्, निजको फोन नम्बर मलाई याद भएन ।’

यसरी मौकाको बयानमै अभियुक्तले कसुर स्वीकार गरिसकेको, कल डिटेल्स, म्यासेज आदिको प्राविधिक परीक्षणबाट अभियोग पुष्टी जस्तै भएको मुद्दा पनि यतिबेला राजनीतिक मुद्दा भन्दै सरकारले फिर्ता लिने तयारी गरेको छ ।

ज्यान नै मार्ने उद्देश्यबाट आफूमाथि आक्रमण भएको तर काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सामान्य कुटपिट मात्रै भएको भन्दै अभियुक्तहरूलाई थोरै धरौटीमा छाडेको कुराले पनि चलाउनेको मन अझै दुखेको छ । उनले भने, ‘म त अब मर्छ भनेर छाडिएको व्यक्ति हुँ । मलाई मार्ने उद्देश्यले नै आक्रमण गरिएको थियो । तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सामान्य कुटपिट मात्रै देख्नुभयो र अभियुक्तहरूलाई सामान्य धरौटी लिएर छाडिदिनुभयो । उक्त मुद्दामा न्यायाधीशले मोलाहिजा गरेको स्पष्ट नै छ । त्यही कारणले मैले उहाँविरुद्ध न्याय परिषद्मा पनि उजुरी गरेको थिएँ, तर उक्त उजुरीउपर कुनै कारवाही वा छानबिन भएको जस्तो मलाई लाग्दैन । पछि उहाँ आफैले उक्त मुद्दालाई आफूबाहेकको इजलासमा पेस गर्न आदेश गर्नुभयो ।’

पीडित र साक्षीको बकपत्र नै भएन

काठमाडौं जिल्ला अदालतमा चलेको ज्यान मार्ने उद्योगको मुद्दामा पीडितकै बकपत्र हुन सकेको छैन । पीडित र पीडितका साक्षी तथा उपचारमा संलग्न चिकित्सकको बकपत्र भएमा मुद्दाको अङ्ग पुग्ने र फैसला आउने डरले अभियुक्तहरूले बकपत्र नै गर्न नदिएको चलाउनेको आरोप छ । काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको १७ महिना भए पनि अदालतले पीडितकै बयान नलिएको चलाउनेले गुनासो गरे । उनले भने, ‘अहिलेसम्म मेरो बयान नै लिइएको छैन । मेरो साक्षी तथा मेरो उपचार गर्ने चिकित्सकको बकपत्र पनि हालसम्म लिइएको छैन । अभियुक्तहरूको दबाव वा अन्य कारणले मेरो बकपत्र पटकपटक स्थगित गराइएको छ । बकपत्र नै नभएमा एकलौटी फैसला गर्न सकिने वा बकपत्र नै नहुँदै मुद्दा फिर्ता लिने नियतका साथ उनीहरूले सबै संयन्त्रको प्रयोग गरिरहेका छन् । वैशाख ४ गते रहेको पेसी पनि स्थगित गराइयो र मेरो बकपत्र नै भएन ।’

मुद्दा फिर्ता लिए अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था गुहार्छु : चलाउने

मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढेपछि चलाउनेले रातोपाटीसँग भने, ‘म १४ महिना बेड रेष्टमा बसेँ । यो बीचमा मैले केही गर्न सकिनँ । अहिले बल्ल हिँड्न सक्ने भएको छु, तर एकछिनमै गाह्रो हुन्छ । उकालो र ओरालो गर्न पनि सक्दिनँ । मेरो हालत यस्तो छ । अपराधीहरू अहिले पनि खुल्लमखुला हिँडिरहेका छन् । मलाई इमोशनलरुपमा तर्साउने काम अहिले पनि गरिरहेका छन् । मुद्दा फिर्ताको लागि उनीहरूले दिएको निवेदनमा मलाई नक्कली घाइते भनिएको रहेछ । नक्कली घाइतेको शरीरमा किन यतिका फलामका रड राखियो होला ? किन १४ महिना थलिएर बस्नु परेको होला ? शैक्षिक क्षेत्रमा ताला लगाउनु हुँदैन भनेकै कारण म मारिनुपर्ने, पिटिनु पर्ने हो भने न्याय कहाँ भयो ? अपराधलाई राजनीतिकरण गरेर अपराधबाट उन्मुक्त पाउने अवस्था भयो भने कानुनी शासनको अन्त्य हुन्छ, न्यायप्रतिको विश्वास गुम्छ । त्यसकारण म यो मुद्दा कुनै पनि हालतमा फिर्ता हुन दिन्नँ । यदि जबरजस्त गरेर मुद्दा फिर्ता लिइयो भने अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई गुहार्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप