आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विरोध खतिवडाको गृह जिल्लामा नेकपा एकीकृत समाजवादीको प्रभाव कति ?

जिल्ला अध्यक्षले पार्टी छाडेपछि धक्का
शुक्रबार, १६ वैशाख २०७९, १२ : ०२
शुक्रबार, १६ वैशाख २०७९

 नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले परीक्षणकालमा छ । यो पार्टी पहिलो पटक जनताबाट परीक्षण हुन गइरहेको हो । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले सत्तारुढ गठबन्धनसँगको सहकार्यमा विभिन्न पालिकामा उम्मेदवारी दिएको छ ।

मकवानपुर जिल्लालाई नेकपा एकीकृत समाजवादीले आफ्नो गढका रुपमा व्याख्या गर्दै आएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाको गृह जिल्ला हो मकवानपुर । तर, सोही पार्टीका नेताहरु नै जिल्लामा आफ्नो प्रभाव कति छ भनेर ठोस आधार दिन सकिरहेका छैनन् । बरु गठबन्धन दलहरुको सहयोगमा चुनाव जित्ने दाउमा एकीकृत समाजवादी देखिन्छ ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवार खडा गरेको छ । संघीय स्वास्थ्य मन्त्री खतिवडाकै पहलमा हेटौंडाको नेतृत्व एकीकृत समाजवादीले पाउने गरी गठबन्धनमा सहमति भएको थियो ।

यो निर्वाचनमा खतिवडाको पनि शक्ति परीक्षण हुने राजनीतिक वृत्तमा चर्चा छ । चार पटकसम्म प्रतिनिधिसभा सांसद् निर्वाचित भएका खतिवडासँगै बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललगायतका नेताहरु एकीकृत समाजवादीमा आवद्ध छन् ।

एमालेबाट विभाजित भएर बनेको सो पार्टीले मकवानपुरका सबै पालिका र वडास्तरमा आफ्नो संगठन निर्माण गरिसकेको बताएको छ । जिल्लाको सबै पालिका र वडा तहमा गरेर एकीकृत समाजवादीमा कुल ५ हजारभन्दा बढी सदस्य संगठित भइसकेको दाबी गरिएको छ । तर, निर्वाचनमा त्यसको नतिजा कस्तो आउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

गठबन्धनविरुद्ध पनि एकीकृत समाजवादीबाट उम्मेदवारी

सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले मकवानपुरका दुई पालिकाको नेतृत्वमा आफ्नो पार्टीबाट उम्मेदवार खडा गरेको छ । तर केही पालिकामा भने यो पार्टीबाट गठबन्धन तोडेरसमेत उम्मेदवारी दर्ता गरिएको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको छ । हेटौंडाको मेयरमा मिना लामा र इन्द्रसरोवरको अध्यक्षमा जीवन लामालाई एकीकृत समाजवादीले उम्मेदवारको रुपमा अघि सारेको छ । अन्य पालिकामा भने एकीकृत समाजवादीले वडा तहमा मात्रै अवसर पाएको छ ।

गठबन्धनमा बकैया गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले पाउने गरी भागबण्डा मिलाइएको थियो । सोही अनुसार पालिका अध्यक्षमा काँग्रेसबाट धर्मराज लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रबाट भक्तबहादुर खत्रीले उम्मेदवारी दिएका छन् । तर, सो निर्णय विपरीत बकैयाको अध्यक्षमा एकीकृत समाजवादीबाट प्रमुखमा नारायण तिमल्सिना र उपाध्यक्षमा उर्मिला राईले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै कैलाश गाउँपालिकामा पनि गठबन्धनको विरुद्धमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ । सो पालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाउने गरी सहमति जुटाइएको थियो । तर, एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा टंकबहादुर मोक्तानले उम्मेदवारी दिएका छन् ।

मनहरी गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाउने गरी गठबन्धनमा सहमति भएको थियो । त्यहाँ पनि एकीकृत समाजवादीले गठबन्धन विरुद्धमा गएर अध्यक्षमा नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला बिष्टको उम्मेदवारी दर्ता गराएको छ ।

अध्यक्षमा काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको राक्सिराङमा पनि गठबन्धन तोडेर उपाध्यक्षमा एकीकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दिएकी छन् ।

जिल्लामा एकीकृत समाजवादीको लक्ष्य कति ?

सबै पालिकामा आफ्नो बलियो पकड रहेको दाबी गर्दै गठबन्धनको विरुद्धमा समेत उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाका दुई पालिकामा भने गठबन्धनको साथ पाएको छ । अन्य ८ पालिकामा एकीकृत समाजवादीले वडा तहमा मात्र भाग पाउने गठबन्धनमा सहमति भएको थियो ।

गठबन्धनमा रहेर निर्वाचनमा होमिएको एकीकृत समाजवादीले जिल्लामा तेस्रो पार्टीको रुपमा स्थापित हुने लक्ष्य राखेको छ । एमालेविरुद्ध गठबन्धन गरेर निर्वाचनमा गएका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबण्डा भएअनुसारका पालिकामा आफ्नो पार्टीले जित्ने लक्ष्य लिएको एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेले बताए ।

‘जिल्लामा हामी तेस्रो पार्टीको रुपमा स्थापित हुन चाहन्छौं । सोही अनुसार हामीले गठबन्धनमा भागबण्डा गरेका छौं,’ उनले भने, ‘एमाले विरुद्धको यो गठबन्धनबाट आगामी निर्वाचनमा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो पार्टी बनाउने प्रयत्नमा हामी जुटेका छौं ।’

उनले एकीकृत समाजवादीबाट गठबन्धनभित्र भएको सहमति विपरीत दिइएका उम्मेदवारी फिर्ता लिने प्रक्रियाका लागि पहल भइरहेको जानकारी दिए । गठबन्धनको भागबण्डा मिलान गर्ने क्रममा भएको मित्रवत प्रतिस्पर्धाको विषयका कारण यसरी कतिपय पालिकामा उम्मेदवारी दर्ता गरेको अध्यक्ष न्यौपानेले बताए ।

पोखरेलसहितका नेताले पार्टी छोड्दा धक्का

पार्टीमा व्यक्ति हावी भएको भन्दै बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित केही जिल्ला तहका नेताहरुले पार्टी छाडे । स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको बेला अध्यक्ष पोखरेलको सो कदमले एकीकृत समाजवादीलाई धक्का लागेको छ ।

गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भङ्ग गर्ने निर्णयको विरोधमा नेकपा एमालेभित्र विद्रोह गरेर जन्मिएको पार्टी हो नेकपा एकीकृत समाजवादी ।

पार्टी स्थापना भएदेखि ८ महिनासम्म एकीकृत समाजवादी पार्टीको जिल्ला नेतृत्व सम्हालेका पोखरेल हाल नेकपा एमालेमै फर्किएका छन् । उनीसँगै केही जिल्ला तहका नेताहरुले एकीकृत समजवादी छोडेका छन् । यसले आगामी निर्वाचनमा एकीकृत समाजवादीसहित गठबन्धनका दलहरुलाई समस्या पर्ने निश्चित छ ।

एकीकृत समाजवादीका अध्यक्ष न्यौपानेका अनुसार पोखरेलसहित जिल्ला तहका नेताहरुले पार्टी छोड्दा थोरबहुत समस्या देखिनु स्वाभाविक प्रक्रिया हो । तर, एकीकृत समाजवादीले सो क्षतिको असर पार्टी, निर्वाचन र गठबन्धनमा पर्न नदिन प्रतिवद्ध रहेर काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप