आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा राप्रपाको चुनावी सभा : ठूला दलविरुद्ध खनिए लिङ्देन

‘दलका नेतालाई सुधार्ने माध्यम निर्वाचन’
आइतबार, २५ वैशाख २०७९, १९ : २३
आइतबार, २५ वैशाख २०७९

स्थानीय तहको निर्वाचन आउन ५ दिन बाँकी रहँदा राप्रपाले मकवानपुरमा चुनावी सभा आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा राप्रपाले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आइतबार बृहत आमसभा आयोजना ग¥यो ।

सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलले लामो समय नेतृत्व लिएको अवस्थामा देश भ्रष्टाचारमा डुबेको आरोप लगाए । राजनीतिक दलहरूको सत्ता मोहका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उनको आरोप थियो । देशलाई दुर्घटनामा जानबाट रोक्नु पर्ने भन्दै आम जनताले राप्रपालाई विश्वास गर्नुपर्ने तर्कसमेत उनले गरे । राप्रपाको योजना अनुसार देश समृद्ध बन्ने उनको दाबी छ । देशको विद्यमान समस्याको अन्त्य राजनीतिबाटै हुने प्रस्ट पार्दै उनले विगतमा काँग्रेस, एमाले, माओवादी केन्द्रबाट त्यो सम्भव नरहेकाले राप्रपाले नेतृत्व लिने योजना बनाएको बताए ।

निर्वाचनबाट दलका नेता सुधार्ने योजना

उनले देश परिवर्तनका लागि राजनीतिक दलका नेता परिवर्तन हुनुपर्ने तर त्यो तत्काल सम्भव नरहेको बताए । उनले वर्तमान अवस्थामा कुनै पनि दलका नेता र नेतृत्व परिवर्तन सम्भव नभए पनि त्यसलाई निर्वाचनबाट परिवर्तन गराउन सकिने प्रस्ट पारे ।

अध्यक्ष लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो गरे । उनले भने, ‘भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा मैले भनेँ– जनताले नेताहरूलाई राम्रो भन्दैनन् है ! गाउँघरतिर जाँदा कुनचाहिँ नेता आएछ भन्नुको सट्टा कुनचाहिँ चोर आएछ भन्छ है । यो अवस्था हामी सबैको लागि राम्रो होइन ।’ नेताहरुले बिग्रेको छवि सुधार्नुपर्छ र हामी सुध्रिनुपर्छ भनेर आफूले निवेदन गरेको तर  ठुला दलका नेताहरूले ‘ठोकौँला’ झैँ गरेको उनले बताए । उनले भने, ‘मिल्ने भए बुढाहरूले ठोक्ने पनि थिए ।’

उनले राजेन्द्र लिङ्देनमात्र सुध्रेर नहुने बताउँदै काँग्रेस, एमाले र माओवादी पनि सुध्रन जरुरी रहेको जिकिर गरे । तर नेताहरू लरोतरो हिसाबले सुध्रने नदेखिएको पनि उनले बताए । उनले भने, ‘यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसक्नुभयो, उहाँहरू कति ठूलो भ्रममा हुनुहुन्छ ।’ अध्यक्ष लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै उनीहरु सुध्रिने बताए । कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेको चर्चा गर्दै उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खाली गरिदिनुपर्ने लिङ्देनको भनाइ थियो ।

उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । अध्यक्ष लिङ्देनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठुलो र सकस भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा देश विकास र भ्रष्टाचार अन्त्यका लागि राप्रपाका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गरे । लिङ्देनले भ्रष्टाचार नगरी, कमिसन नखाई कसरी स्थानीय तहको विकास हुन्छ भनेर हेर्न आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारलाई हेटौंडामा विजयी बनाएपछि प्रस्ट हुने बताए ।​

‘हेटौंडामा एमालेले डोजर र जग्गा प्लटिङको मात्र विकास ग¥यो’

राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले विगत ३० वर्षदेखि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले डोजर र जग्गा प्लटिङ गर्ने काम गरेको बताए । उनले एमालेका जनप्रतिनिधिले ३० वर्षको अवधिमा हेटौंडामा विकासको नाममा डोजर किन्ने र जग्गा प्लटिङ गर्ने काम गरेको आरोप लगाए ।

उ​नले भने, ‘हेटौंडा बागमती प्रदेशको राजधानी हो । यहाँ प्रदेशस्तरको सुविधा सम्पन्न अस्पताल बन्नुपर्ने थियो । तर, त्यसो हुन सकेन । एउटा हेटौंडा अस्पताल छ । त्यहाँ सामान्य सेवा समेत हुन नसक्ने अवस्था छ ।’ यद्यपि यहाँ ३० वर्ष राज गरेका नेताहरु विकास गरेँ भनेर विगुल फुक्ने गरेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप