आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अव्यवस्थित फोहोरबाट काठमाडौँ महामारीको उच्च जोखिममा ! सतर्कता कसरी अपनाउने ?

शुक्रबार, २७ जेठ २०७९, ११ : ०८
शुक्रबार, २७ जेठ २०७९

अहिले काठमाडौंका सडकमा फोहोर यत्रतत्र देखिन्छ । मनसुन प्रवेश गरेसँगै फालिएको फोहोर पनि पानीसँगै बग्नेर भिजेको देखिन्छ । केही दिन यता झाडापखालाका बिरामीको सङ्ख्या पनि बढ्दो छ । योसँगै अव्यवस्थित फोहोरबाट अरू स्वास्थ्यमा समस्या देखिने वा सङ्क्रमण फैलन र महामारीको रूप लिन सक्ने जोखिम उच्च भएकाले सतर्कता अति आवश्यक देखिन्छ । सतर्कता अपनाउन सके रोग लाग्न वा फैलिनबाट रोक्न सकिनेछ । 

फोहोरबाट प्रकोपका रूपमा फैलिन सक्ने रोगहरूमा पानीजन्य सङ्क्रामक रोग प्रमुख मानिन्छ । बर्सेनि गर्मी तथा मनसुन सिजनमा देखिने विभिन्न सङ्क्रामक रोग फोहोरको व्यवस्थापन नहँुदा झन् बढ्न सक्ने देखिन्छ । यसमा अहिले नियमित परीक्षण गरिँदै आएका टाइफाईड, हेपाटाइटिस ए अथवा ई, झाडापखाला, लेप्टोइसपाइरोसिस जस्ता सङ्क्रामक रोग पर्दछन । तर यीबाहेक अनिगन्ती किटाणुका कारणले (जसको हाल नियमित परीक्षण हुँदैन) पनि पानीजन्य सरुवा रोग लाग्ने गरेको पाइन्छ । जस्तै हाल देखिँदै आइरहेका अधिकांश झाडापखालाका बिरामीका कारक जीवाणु थाहा हुने सकेको छैन । 

झाडापखाला अन्तर्गत हैजालाई कडा सङ्क्रामक रोग मानिन्छ । हाल झाडापखाला लागेका बिरामीमा हैजा भने पुष्टि भइसकेको छैन । केही दिन अगाडि भारतको मध्य प्रदेशको ओचापुरा गाउँमा हैजा फैलिएको समाचारमा आएको छ । ५० जना सङ्क्रमितमध्ये ४० जना अस्पताल भर्ना हुनुपरेको भनिएको छ । नेपालमा पनि हैजा देखिने मौसम आइसकेको र अव्यवस्थित फोहोरको कारणले हैजाको जोखिम ह्वात्तै बढाएको छ । हैजा देखिए र फैलिए धेरैमा जटिलता देखिन सक्ने र अस्पताल भर्ना हुनुपर्ने सम्भावना बढी हुनेछ । 

टाइफाइड लगभग सबै नेपालीले सुनेको रोगको नाम हो । कसैलाई ज्वरो आयो भने टाइफाइड होला भन्ने चलन यद्यपि अहिले पनि छ । यदि समयमा पहिचान तथा उपचार गर्न नसके बिरामीको मृत्युसमेत हुन सक्छ । यसको व्यापकतालाई मध्यनजर गर्दै नेपाल सरकारले हालै बालबालिकालाई लक्षित गर्दै टाइफाइड विरुद्धको खोपसमेत सञ्चालन गरिसकेको छ ।

हेपाटाइटिस ए अथवा ई पनि नेपालमा व्यापक देखिने गरेको विगतको अनुभव छ । तर पछिल्लो समय लेखकले हेपाटाइटिस ए अथवा ई सङ्क्रमितको बिरामी कमै देखेको छ । तर यस्ता बिरामी विशेषतः आयुर्वेदिक उपचारप्रति आकर्षित हुने गरेकाले रोग आफैमा कम भएको नभई आधुनिक चिकित्साको अस्पतालमा कम जाने गरेको आँकलन गर्न सकिन्छ । 

लेप्टोइसपाइरोसिस रोग विशेषत सङ्क्रमित मुसाको पिसाब मिसिएको पानी नाक, मुख, आँखा, खुल्ला छालामा परे तथा सङ्क्रमित पानी र खानाको उपभोग गर्दा सर्ने गर्दछ । यो सङ्क्रमण बाढी पहिरो गएको ठाउँमा धेरै देखिने गरेको पाइन्छ । फोहोरमा मुसा आकर्षित हुने भएकाले लेप्टोइसपाइरोसिसको जोखिम पनि बढी हुने गर्छ । यसको उपचार समयमा गर्न नसके मिर्गौला, कलेजो फेल हुने जस्ता जोखिम देखिन सक्छ । 

अमेरिकामा गरिएको एक अनुसन्धानले घरबाट फ्याँकिएका फोहोरमा कोलिफर्मका किटाणु प्रशस्त देखिएको नतिजा प्रकाशित गरेको थियो । कोलिफर्म मिसिएको खाना खाएमा वा पानी पिएमा टाइफाइड, आँउ, झाडापखाला, हेपाटाइटिस ए वा ई जस्ता रोग लाग्न सक्छ । 

माथि उल्लेख गरेझैँ फोहोरमा मुसा आकर्षित हुन सक्ने भएकाले स्क्रब टाइफसको जोखिम पनि बढ्नेछ । वर्षातमा यो सङ्क्रमणको बिरामी बढी देखिने गर्दछ । वास्तवमा केही दिन यता स्क्रब टाइफसका सङ्क्रमित दैनिकजसो देखिने गरेको छ । मुसामा एक प्रकारको माइट भन्ने टिकरकिर्नो हुने गर्दछ । टिकरकिर्नोले मानिसलाई टोक्दा स्क्रब टाइफस रोग सर्ने गर्दछ । नेपालमा स्क्रब टाइफसको जटिलताबाट विगतमा मानिसको मृत्यु समेत हुने गरेको सरकारी तथ्याङ्क छ । तर समयमा पहिचान तथा उपचार गरे पूर्ण रूपमा निको हुने गर्दछ ।

फोहोरमा विभिन्न रासायनिक पदार्थ पनि फालिने हुँदा छालाको सङ्क्रमण, बिमिराहरु आउने जस्ता समस्या पनि देखिन सक्दछ । त्यस्तै फोहोरको कारणले श्वास–प्रश्वासको समस्या पनि देखिन सक्दछ । 
महामारी वा सङ्क्रमण फैलन नदिने मुख्य उपाय वा मन्त्र भनेको सुरक्षित खानापानी र व्यक्तिगत सरसफाई नै हो । यदि राम्रोसँग पकाएको र ताजा खाना तथा सुरक्षितर सफा पानीको प्रयोग गरिएमा अधिकांश पानीजन्य सङ्क्रामक रोगबाट बच्न र फैलिनबाट समेत रोक्न सकिनेछ । 

त्यस्तै व्यक्तिगत सरसफाइ विशेषतः हात बेला बेलामा साबुन पानीले धुनमा ध्यान दिन सक्ने आफू सङ्क्रमित हुनबाट बच्न सकिनेछ । स्क्रब टाइफस जस्ता कीटजन्य रोगको जटिलताबाट बच्न लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिएर औषधिको सेवन गर्नुपर्दछ । 

त्यस्तै छाला, श्वास–प्रश्वासमा समस्या देखिए सम्बन्धित चिकित्सकसँग तुरुन्त परामर्श लिनु पर्दछ । किनभने अहिलेको मुख्य चुनौती भनेको हाल यत्रतत्र फालिएका फोहोरको व्यवस्थापन नभएसम्म मानिस बिरामी र सङ्क्रमित नहोस् तथा सङ्क्रमणले महामारीको रूप पनि नलियोस् भन्ने नै हो ।

पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका  संयोजक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप