आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने

मङ्गलबार, ३१ जेठ २०७९, ०६ : ४४
मङ्गलबार, ३१ जेठ २०७९

गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको छ । सो छलफलमा दुबै पक्ष सकारात्मक रहेको संघकी महासचिव जानकी गुरुङले जानकारी दिइन् ।

नेपालमा देखापरेको फोहर विसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कुँवर बताए । अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भने, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं ।”

गैर आवासीय नेपालीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने धारणा समेत राखे । नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देश प्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको बताए ।

सो कार्यक्रममा नगरप्रमुख नकर्मीको कार्यकक्षमा भएको छलफलमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)की महासचिव गुरुङ, युरोप क्षेत्रका संयोजक उल्का घिमिरे र एनआरएन सेकेन्ड जेनेरेसन एम्बेस्डर दिपेश खत्रीलगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप