आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दल रूपान्तरणको प्रस्थानबिन्दु

मङ्गलबार, ०३ साउन २०७९, १३ : २१
मङ्गलबार, ०३ साउन २०७९

नेपाली राजनीतिक नागबेलीका अघिल्ला मोड, अवसर वा आवश्यकतालाई एकछिन बिर्सिदिने हो भनेपनि कम्तिमा संविधानसभाबाट संविधान जारी गर्दा बखतका दलहरुमा आफैंले दस्तखत गरेको नयाँ संविधानका आधारभूत विशेषता, मार्गनिर्देशन र स्पिरिट अनुकुल लयबद्ध तुल्याउँदै आ-आफ्नो रूपान्तरणको अभियान यतिखेर निकै अगाडि पुगि सक्नुपर्ने थियो । दलहरूको पछिल्ला अधिवेशनका क्रममा त्यसको अभ्यास र प्रभाव देखिनुपर्थ्यो।

के बुझ्न जरुरी छ भने काँग्रेस सधैं संघर्षकालिन ढाँचामा, कम्युनिष्ट पार्टीहरू एकदलीय जनवादी ढाँचामा, राप्रपा निर्दलीयकै लयमा चलिराख्ने हो भने यिनीहरु कसैले पनि वर्तमान संविधानको “संघीय लोकतान्त्रिक गणतन्त्र” को कार्यभार बोक्न सक्दैनन्। यिनको संगठन र सोच तदनुरूप बन्नै नचाहने हो भने कि संविधान असफल हुन्छ वा यी दलहरु।

अरु दलको तुलनामा पार्टी रिफर्मको लागि काँग्रेसले सबैभन्दा पहिले आफूलाई तयार गर्नुपर्थ्यो। किनकी संविधानको मूल स्पिरिट उसैले दावी गरेअनुसार पनि उसले आफ्नो जन्मकालदेखि बोकेको आदर्श मुताविक थियो। उसले अरु दललाई डोर्याउनु पर्ने थियो। 

समसामयिक राजनीतिका देशभित्र, देश बाहिर र घर भित्रको तीनवटा प्रतिनिधि घटना हेरौं-

देश भित्रः
भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपालको संघीय राजधानी काठमाण्डौं, सुदुर पश्चिमाञ्चल र मधेस प्रदेशको राजधानी क्रमशः धनगढी र जनकपुर तथा धरान उपमहानगरपालिका लगायतको नतिजा दलहरुप्रतिको असन्तुष्टिको रुपमा प्रकट भयो।

देश बाहिरः
दक्षिण एशियाली मुलुकहरुमध्ये केही वर्ष अगाडिसम्म मानव विकासको सूचकांकका हिसावले राम्रो स्थानमा रहेको श्रीलंका केही वर्षको सनकपूर्ण नेतृत्व, जनआवाजको उपेक्षा, पारिवारिक कुशासन र भ्रष्टाचारका कारण डिफल्टर मुलुक बन्यो र अहिले जनता सडकमा उत्रिएका छन्।

घर भित्रः
नेपाली काँग्रेसभित्र जारी केन्द्रीय समितिको बैठकमा पार्टी यथास्थिति मै चल्दा ठीक कि रुपान्तरणको बाटोमा हिड्न ढिला नगर्नु ठीक भन्ने ढंगबाट विचारहरु आए। भलै ती कति प्रस्ताव, कति सुझाव, कति घोचपेच, कति ईर्ष्या-कुण्ठा र कति चाकडीको स्वरूपमा अभिव्यक्त रहे।

रूपान्तरण कतिपयका लागि अमूर्त विषय होला या बनाउने प्रयत्न रहला। परिवर्तन हुन्न र हुन दिन्नको मानसिकताको राज चलिरहने हो भने अघिल्ला दुई घटना भोग्नबाट हामीलाई कसैले जोगाउँदैन।

रूपान्तरण गर्नुपर्ने क्षेत्र धेरै छन्। कतिपय कामहरु समानान्तर रुपमा अघि बढाउन पनि सकिन्छ । यति भन्दाभन्दै पनि घटीमा एउटा बिन्दुबाट रुपान्तरणको यात्रा शुरु गरौँ। त्यो हो- पार्टी सदस्यता । खुला राजनीतिमा विश्वास गर्ने पार्टीले बन्द सदस्यता प्रणाली बोक्नु जायज होइन। काँग्रेस बन्न चाहनेले बन्न नपाउने, बन्न नचाहनेले बनिदिनु पर्ने परिपाटीले पार्टी उँभो लाग्दैन। आमजनतामा आधारित संगठन आधुनिक लोकतन्त्रको स्थायित्वका लागि अनिवार्य छ।

तत्काल अनलाइनबाट समेत सदस्यता वितरण गर्ने र स्वेच्छाले, योगदान गर्ने प्रतिवद्धताले सदस्य बनेकाहरुकै प्रत्यक्ष छनौटबाट नेता, नीति र उम्मेदवार निर्धारण गर्ने पद्धति अनुशरण आरम्भ गर्ने हो भने पार्टी मात्र रुपान्तरित हुने छैन, संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुनेछ र देशले काँचुली फेर्न धेरै दशक लाग्ने छैन।

आचार्य काँग्रेस नेता हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधु आचार्य
मधु आचार्य
लेखकबाट थप