आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेससँग गठबन्धनको पक्षमा शरतसिंह भण्डारी

बिहीबार, १९ साउन २०७९, ०६ : ०६
बिहीबार, १९ साउन २०७९

चुनावको मिति घोषणा गर्ने समय जति जति नजिकिँदै छ, त्यति त्यति दलका नेताहरूले आआफ्नो क्षेत्र सुरक्षित बनाउनेतिर अग्रसर हुन थालेका छन् । संघ तथा प्रदेशको चुनाव कसरी जित्न सकिन्छ, त्यसको हिसाब किताब आँकलन गर्दै आआफ्नो क्षेत्रलाई सुरक्षित बनाउनेतिर नेताहरू लागेका छन् । 

यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी काँग्रेसको साथ खोजेको समाचार छ । महोत्तरीबाट पटक पटक चुनाव जित्दै आएका भण्डारीलाई यसपटक सत्ता गठबन्धनले गाह्रो बनाउने हो कि भन्दै उनले काँग्रेसको साथ खोजेका हुन् । उनले पार्टीभित्र पनि काँग्रेससँग सहकार्य गनुपर्ने पक्षमा छन् । उनी काँग्रेस नेतृत्वको सरकारमा मात्र होइन, काँग्रेससँग गठबन्धन नै बनाउनुपर्ने सुझाव नेतृत्व पक्षलाई दिइरहेका छन् । 

लोसपाभित्र काँग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाउनु पर्ने भनी सबैभन्दा बढी कुरा उठाउने नेता भण्डारी नै हुन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमालेसँग गठबन्धन बनाउँदै छन् भन्ने कुरा बाहिरिएपछि नेता भण्डारीले लोसपालाई काँग्रेसतिर डोर्‍याई रहेका हुन् । हुन त अध्यक्ष ठाकुर र नेता भण्डारी दुवैजना पूर्व काँग्रेसी नै हुन् । तर मुद्दाका हिसाबले पछिल्लो समय अध्यक्ष ठाकुर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए, जुन कुरा नेता भण्डारीलाई मन परेको थिएन । 

कम्युनिष्टसँग होइन, प्रजातान्त्रिक विचार भएका पार्टीसँग मिलेर गठबन्धन बनाउनुपर्ने पक्षमा पार्टीभित्र वकालत गर्दै आइरहेका  छन् भण्डारी । संयोग कस्तो छ भने, नागरिकता विधेयक पारित गर्ने लगायत माग अहिले सम्बोधन भएपछि लोसपा काँग्रेस निकट भएको छ । काँग्रेस गठबन्धन सरकार मधेसका अन्य माग पुरा गर्ने प्रक्रियामा रहेको छ । काँग्रेसलाई लोसपाप्रति सकारात्मक बनाउन नेता भण्डारीको भूमिका महत्त्वपूर्ण रहेको लोसपाका नेताहरू बताउँछन् ।

​यसरी काँग्रेससँग नेता भण्डारी निकट हुनुमा उनको स्वार्थ छ । सत्ता गठबन्धनका कारण संघीय चुनावमा नेता भण्डारीलाई गाह्रो हुने देखेपछि उनी काँग्रेसको साथ खोजेको बताइएको छ । महोत्तरी क्षेत्र नम्बर २ मा उनको प्रतिस्पर्धा काँग्रेससँग रहेको छ । पाँच दलीय गठबन्धनबाट सो क्षेत्रमा काँग्रेसले नै टिकट पाउने लगभग निश्चित छ । जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका दमदार उम्मेदवार त्यहाँ छैनन् । 

काँग्रेसले गठबन्धनबाट टिकट पायो भने संघीय चुनावमा नेता भण्डारीलाई गाह्रो हुने सो क्षेत्रका नेता तथा कार्यकर्ताहरू बताउँछन् । गठबन्धन नहुँदा पनि काँग्रेस नेतृ किरण यादव नेता भण्डारीको प्रतिस्पर्धामा थिइन् । यसपटक पाँच दलीय गठबन्धनबाट किरण यादव चुनाव लड्ने भएकी छिन् ।  

महोत्तरी–२ बाट नेता भण्डारीले यसअघि ३० हजार ७२२ मत ल्याएर विजय भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी थिइन् । नेता भण्डारी त्यतिबेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) सँग गठबन्धन गरेर चुनाव जितेका थिए । फोरमसँग गठबन्धन नभएको भए नेता भण्डारीले काँग्रेस नेतृ यादवसँग अझै कडा प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

यसपटक लोसपाले कुन पार्टीसँग गठबन्धन गर्ने अझै निश्चित गरेको छैन । गत चुनावमा तत्कालीन फोरमसँग चुनावी गठबन्धन गरेको थियो । फोरमबाट जसपा बनेको पार्टी हाल पाँच दलीय गठबन्धनमा छ । हालसम्म लोसपासँग गठबन्धन हुने कि नहुने निश्चित छैन । लोसपाको एमालेसँग गठबन्धन हुने सम्भावना छ तर एमालेसँग गठबन्धन भयो भने सो क्षेत्रमा नेता भण्डारीलाई घाटा हुनेछ । किनभने स्थानीय तहको मत परिणाम हेर्दा सो क्षेत्रमा एमाले चौथो स्थानमा छ भने लोसपा र काँग्रेसबीच प्रतिस्पर्धा छ । त्यसैले नेता भण्डारी काँग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा रहेका छन् । 

महोत्तरी–२ मा दुईटा नगरपालिका र एउटा गाउँपालिका छ । भङ्गहा गाउँपालिकाको पाँचवटा, पिप्रा गाउँपालिका र एकडाडा गाउँपालिकाको एक–एक वडा सोही क्षेत्रमा पर्छन् । लोहरपट्टी नगरपालिका काँग्रेसले जितेको छ । सो पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको छ । त्यहाँ लोसपाले दोस्रो स्थान ल्याएको छ । काँग्रेसका उम्मेदवारले ५ हजार ४२९ मत ल्याएर जितेका छन् भने लोसपाका पालिका प्रमुख उम्मेदवारले ४ हजार ६७५ मत ल्याएका थिए । त्यहाँ जसपा तेस्रो, माओवादी चौथो र एमाले पाँचौं भएका थिए ।

सो नगरपालिकामा नौवटा वडा रहेका छन् । वडामा पनि काँग्रेसकै बहुमत रहेको छ । नौवटा वडामध्ये पाँचवटा वडा काँग्रेसले जितेको छ भने एमालेले एउटा वडा मात्र जितेको छ । 

वलवा नगरपालिकाको प्रमुखमा लोसपा जितेपनि उपप्रमुख काँग्रेसले नै जितेको छ । लोसपाका पालिका प्रमुखले ५ हजार ७८३ मत ल्याएका थिए भने काँग्रेसले ४ हजार ६७० मत ल्याएको थियो । त्यहाँ पनि जसपा तेस्रो, माओवादी चौथो र एमाले पाँचौं स्थानमा छन् । सो नगरपालिकामा ११ वटा वडा रहेकोमा काँग्रेसले ४, लोसपा र जसपाले ३–३ र माओवादी केन्द्रले एकवटा वडा जितेको छ । 

महोत्तरी गाउँपालिकामा लोसपाबाट अलग भएर गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले अध्यक्ष जितेको छ भने उपाध्यक्ष जसपाले जितेको छ । सो गाउँपालिकामा जसपाको दोस्रो स्थान रहेको छ भने लोसपा तेस्रो र काँग्रेस चौथो स्थानमा छ । सो गाउँपालिकामा ६ वटा वडामध्ये लोसपा र तमलोपाले २–२ र जसपा र काँग्रेसले १–१ वटा वडा जितेका छन् । 

महोत्तरी–२ मा भङ्गहा गाउँपालिकाका पाँचवटा वडा र प्रिपा र एकडाँडा गाउँपालिकाका एक–एकवटा वडा पनि छन् । उक्त वडामा पनि काँग्रेसकै बहुमत रहेको छ भने लोसपाको दोस्रो स्थान रहेको छ । 

यसरी स्थानीय तहमा आएको मत परिणाम र २०७४ मा आएका मतपरिणामलाई केलाउँदा महोत्तरी–२ मा काँग्रेस र लोसपाको प्रतिस्पर्धा देखिएको छ । यसअघि भण्डारीले जसपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । यसपटक काँग्रेसका किरण यादवलाई जसपाको मात्र होइन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि साथ रहेको छ । यो गठबन्धनले गर्दा गाह्रो हुने देखिएपछि नेता भण्डारी काँग्रेससँग गठबन्धन बनाउन जोडबल गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप