हेटौंडा उपमहानगरपालिकाले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने
हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । जिल्ला रेडक्रस सोसाइटी कार्यालय मकवानपुरसँग सहकार्य गरेर हेटौंडा उपमहानगरपालिकाले उपमहानगरपालिका क्षेत्रका नागरिकहरुलाई लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
मान्यता प्राप्त अस्पतालमा उपचाररत हेटौंडाको विरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक अनुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने गरी सहमति भएको हेटौंडाका उपमेयर राजेश बानियाँले जानकारी दिइन् ।
उनका अनुसार यस सेवा उपलब्ध गराएवापत रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्ने छ । ‘८५० रुपैयाँका दरले प्रति युनिट रगत बापतको रकम रेडक्रसलाई हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराउने छ । उपमहानगरपालिकाले प्रत्येक त्रैमासिक रुपमा भुक्तानीको व्यवस्था मिलाउने छ ।’, उपमेयर बानियाँले भने ।
आवश्यकताका आधार हेटौंडा उपमहानगरभित्र कुनै घटनामा परी उपचाररत रहेका बिरामीलाई समेत निःशुल्क रगत उपलब्ध गराउने सकिने उनको भनाइ छ ।