आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएको गुटबन्दीमा सीईओलाई चोट : नियुक्ति भएको एक महिना नपुग्दै तलब काटियो

मङ्गलबार, ०७ भदौ २०७९, १२ : २७
मङ्गलबार, ०७ भदौ २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र कायम गुटबन्दी नयाँ विषय होइन । गुटबन्दीकै कारण अघिल्लो महाधिवेशनबाट एनआरएनएमा तीन जना अध्यक्ष बने । 

चक्रिय प्रणाली अनुसार पालैपालो नेतृत्व गर्नेगरी कुल आचार्य, रविना थापा र डा बद्री केसी अध्यक्ष बनेको संस्थामा पदाधिकारीमात्र २०० बढी छन् । संस्थामा अति राजनीतिकरण हुँदा फुटतर्फ गएपछि सबैलाई खुसी पार्ने र एनआरएनए जोगाउने रणनीतिका साथ २०० बढीलाई पद दिइएको थियो । तर, तीन जनाले अध्यक्ष पाउँदासम्म एनआरएनएभित्रको विवाद साम्य भएको छैन । 

एक अर्काप्रति अझैपनि विश्वासको वातावरण नभएको एनआरएनएको नेतृत्वले हालै सीईओ नियुक्त गर्यो । तर, सीईओ नियुक्ति पनि विवादमुक्त रहन सकेन । हालका कार्यकारी अध्यक्ष कुल आचार्यको विशेष जोडबलमा भएको सीईओ नियुक्तिका क्रममा भएको समझदारीपत्र अहिले आएर कार्यान्वयन नहुने स्थितिमा पुगेको छ । 

एनआरएनएको विज्ञापनअनुसार राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । जसअनुसार छनोट समितिले अधिकारी र राउतको नाम सिफारिस गरेको थियो । तर, अन्तिम समयमा रवि कुमारलाई नियुक्ति दिइयो । 

२ वर्षे नियुक्तिका लागि गत साउन २० मा  भएको सम्झौताअनुसार मासिक आधारभूत तलब १ लाख ४८ हजार ३६५ रुपैयाँ दिने उल्लेख छ।  यस्तै सञ्चयकोष १४ हजार ८३८, उपदान १२ हजार ३५८, महंगी भत्ता ३१ हजार ७१६, इन्धन भत्ता ३० हजार र खाजा भत्ता १० हजार रुपैयाँ दिने उल्लेख छ । आधारभूत पारिश्रमिक ६० प्रतिशत तथा भत्ता ४० प्रतिशतका अनुपातले राखिएको सम्झौतापत्रमा उल्लेख छ । 

तर, कर्मचारी नियुक्ति सम्बन्धी नियमावली र गैरआवासीय नेपाली संघको विधान विपरित नियुक्त गरिएको भन्दै एनआरएनए पदाधिकारीबीचमै चरण असन्तुष्टि छायो । सोही असन्तुष्टि पछि नियुक्तिको एक महिना नबित्दै सिइओ अधिकारीको तलव भत्ता कटौती गर्ने निर्णय भएको छ ।
 
आइतबार बसेको पदाधिकारी बैठकले संघको नियमावली अनुरुप हुने गरी उनको तलव भत्ता समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार नियमित तलब कायमै भएपनि अतिरिक्त सुविधामा भारी कटौती गरिएको छ । संघको नियमावलीमा सीईओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । 

अध्यक्ष कुल आचार्य आचार्य र महासचिव जोशीको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको भन्दै संघका एक दर्जन भन्दा बढी पदाधिकारीहरुले लिखित रुपमा असहमति राखेका थिए । आइतबारको निर्णयसँगै अधिकारीले यसअघि पाउने भनिएको इन्धन भत्ता ३० हजारबाट घटाएर पाँच हजार कायम गरिएको छ ।  खाजा भत्तामा छुट्टै खाना भत्ता १० हजार रूपैयाँबाट घटाएर  ३७ सय कायम भएको छ ।  

एनआरएनए अध्यक्ष डा बद्री केसीले पदाधिकारी बैठकले संघको कर्मचारी नियुक्ती सम्बन्धी नियमावली अनुरुप सबै कर्मचारीको तलव भत्ता कायम गर्ने निर्णय गरिएको बताए । बैठकले संघको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको योग्यता, कार्यक्षमता र दरबन्दी पुनरावलोकन गर्न एक स्वतन्त्र कम्पनी मार्फत गर्ने निर्णय गरेको केसीले जानकारी दिए ।  

यसअघिको पदाधिकारी बैठकमा संघका महासचिव जोशीले आफूले संघको विधि र विधान मिचेको स्वीकार गर्दै बैठकमै क्षमायाचना गरेका थिए । आइतबार भएको सहमति अनुसार प्रमुख कार्यकारी निर्देशकको पुरानै सेवा र सुविधा अनुसार लागू गर्दा हाल दिने भनिएको सुविधामा करिब ५७ हजार मासिक रुपमा घट्ने बताइएको छ । 

एक पदाधिकारीले भने, ‘कर्मचारी नियमावली विपरित जाने कुरै भएन । भविष्यमा दिनै पर्ने भए नियमावली संशोधन गर्न सकिन्छ । तर, अहिले नियमावलीमा जे छ त्यसमा दायाँबायाँ हुँदैन भनेर निर्णय भएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप