आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि

मङ्गलबार, ०७ भदौ २०७९, १३ : ०७
मङ्गलबार, ०७ भदौ २०७९

शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो । 

अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।  ‘उत्तर पुस्तिका ल्याउनै गाह्रो भयो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ,’ उपसचिव मरहठ्ठाले भने, ‘असोजभित्रमा उत्तर पुस्तिका परीक्षण सकेर असोजमा नतिजा निकालिसक्छौँ भन्ने सोच बनाएका छौं । त्यही अनुसार आयोग लागिपरेको छ ।’

आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ । अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी काम अघि बढाइरहेको छ ।

प्राविको मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने, फागुनभित्रमा अन्तर्वार्ता गरिसक्ने र चैत्रभित्रमा सिफारिस गरिसक्ने कार्यतालिका रहेको त्यही अनुसार अगाडि बढिरहेको मरहठ्ठाले बताए ।  आयोगले गत चैत १५ गते माविको सामान्य तर्फको परीक्षा लिएको थियो । जसमा कुल १०० पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अंक ल्याउनै पर्ने थियो । तर, पहिलो चरणमै केही विषयमा माग गरे जति परीक्षार्थी उत्तीर्ण हुन सकेका थिएनन् । 
माध्यमिक तहमा सबै विषयमा १ हजार ५५२ कोटाका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमा ३ हजार ८८८ जना उत्तीर्ण भएका थिए । त्यस्तै गत चैत १७ गते लिइएको निमाविको सामान्य परीक्षामा २० हजार ९८२ जना उत्तीर्ण भएका थिए । परीक्षामा ७६ हजार ९०६ जना सहभागी थिए । 

त्यस्तै गत १९ चैतमा लिइएको प्राविको सामान्य तर्फको परीक्षामा १९ हजार ३८५ जना उत्तीर्ण भएका थिए । परीक्षामा १ लाख २ हजार ६५८ जना सहभागी भएका थिए । आयोगले १३ हजार २९७ पदका लागि विज्ञापन आह्वान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप