आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वको सबैभन्दा एक्लो व्यक्तिको मृत्यु

मृत्युसँगै उनको जाति र संस्कृति पनि समाप्त
बिहीबार, १६ भदौ २०७९, १२ : ३५
बिहीबार, १६ भदौ २०७९

अमेजनको घना जंगलको बीचमा एउटा झुपडी छ। २३ अगस्टमा ब्राजिलको एजेन्सी फुनाई त्यहाँ पुग्दा झुपडीबाहिर पिङमा एक व्यक्तिको शव फेला परेको थियो । ती व्यक्ति विगत २६ वर्षदेखि त्यहाँ एक्लै बस्दै आएका थिए र आफ्नो जनजातिको एकमात्र उत्तराधिकारी थिए । उनको मृत्युसँगै त्यो जाति र संस्कृति पनि समाप्त भयो।

उनको आठ हजार हेक्टर जमिन थियो । २६ वर्ष पहिले उनको परिवारका सबै सदस्यहरूलाई ‘र्‍यान्चर्स’ हरूले हत्या गरिदिएका थिए। र्‍यान्चर्स खेतीपाती र पशुपालन गर्ने ठुला किसानहरू हुन्।

ती मान्छेको नाम के हो कसैलाई थाहा छैन। उनलाई 'द म्यान अफ द होल' भनिन्थ्यो किनभने उनले बस्नका लागि सो क्षेत्रमा धेरै ठुला खाल्डाहरू बनाएका थिए। यो नाम पनि उनलाई फुनाईले नै दिएको हो । फुनाई ब्राजिलमा आदिवासी जनजातिहरूलाई बचाउन काम गर्ने एजेन्सी हो।

उनको उमेरबारे कसैलाई पनि सही जानकारी नभएको तर अनुमान गर्ने हो भने उनको उमेर ६० वर्षको हाराहारीमा हुने फुनाईका अधिकारीहरूले बताएका छन् ।

फुनाईले शनिबार जारी गरेको विज्ञप्तिमा उनको प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने बताएको छ । यद्यपि, झुपडी र आसपासका क्षेत्रमा खोजी गर्न आपराधिक विज्ञहरू पनि पठाइएको छ । साथै उनको शव पोष्टमार्टमका लागि राजधानी ब्रासिलिया पठाइएको छ । त्यहाँ एजेन्सीले डीएनए परीक्षण गर्नेछ। त्यसपछि उनको शवलाई फेरि जंगलमा गाडिनेछ ।

कुनै जनजाति लोप हुने घटना रेकर्ड भएको यो पहिलो पटक हो । विज्ञहरू भन्छन्, ‘यस्ता धेरै जनजाति छन्, जसको संसारसँग कुनै सम्पर्क छैन ।’ फुनाईले बाहिरी संसारबाट अलग्गै रहेका कम्तीमा ११४ जनजातिको प्रमाण फेला पारेको छ । तीमध्ये २८ जनाको मात्रै उपस्थिति रहेको निश्चित गर्न सकिन्छ ।

न्युयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप