आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीको सेवा प्रवाहको प्रभावकारिता नै सरकारको प्रतिविम्ब हो : मुख्यमन्त्री पाण्डे

बुधबार, २२ भदौ २०७९, १० : ३३
बुधबार, २२ भदौ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिर्वतन भएको महशुस गर्न सक्ने बताएका छन् । 

बुधबार निजामती सेवा दिवस २०७९ अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व निर्वाह हुने राज्यले प्रदान गरेको सेवाहरुलाई जनतामाझ लैजान आह्वान समेत गरेका छन् ।

उनले कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै सरकारको प्रतिविम्ब भएकाले सबै राष्ट्रसेवक कर्मचारीले जिम्मेवारी तथा उत्तरदायी भएर कर्तव्यपालनामा व्यवसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

‘सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीले आफुले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिर्वतन भएको महशुस गर्न सक्ने भएकोले सोही अनुसार कार्य सम्पादन गर्नका लागि आव्हान समेत गर्दछु ।’ उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘निजामती सेवामा संलग्न कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएकाले यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेशागत मर्यादा कायम राखी कर्तव्यपालनामा व्यवसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्ने आजको आवश्यकता रहेको छ ।’

राज्यलाई नागरिकको घरदैलोमा पुर्याउने माध्यम निजामती सेवा भएकाले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहलाई स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता कायम गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले पेशागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफैले ग्रहण गर्न समेत आह्वान गरेका छन् ।

‘बागमती प्रदेश सरकार प्रदेश र प्रदेश भित्र रहेका निजामती लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत सुरक्षा र उच्च मनोबल कायम गरी सेवा प्रवाहमा सुधार ल्याउनको लागि कानून तर्जुमा, संस्थागत संरचना सुधार लगायत आवश्यक अन्य पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि सदैव तयार रहने समेत विश्वास दिलाउन चाहन्छु ।’ उनको सन्देशमा उल्लेख छ ।

उनले ‘व्यवसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइन लागेको १९ औं निजामती सेवा दिवस २०७९ अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुमा हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप