पाँच वर्ष, सपना अनि जनता
सात दशकदेखि सुखको सपना देख्नु के भुल थियो र जनको
सीमित वर्गलाई अनेकन् नामका तन्त्र लुछाचुँडीमा सत्ता र धनको
हातको रेखा र निधारको लेखा हेर्दै गयो तीन पुस्ता मतदाताको
सपना थिए अनेकन उसका पनि तर भर छ हलो, कोदालो घनको ।
आए सपना हरेक पाँच बर्षमा ब्युँताउँदै अतितका ब्यथा
चार बर्ष नौ महिना नचिन्ने गणहरुलाई दुःखीको पीडा के थाहा
आयो चुनाउ, बोल्छ ललिते बोली उस्तै परे ढोग्छ पाउ नै
गाडी–घोडा लस्कर छन् गणका तर यता झुपडी र खोरिया जेथा ।
हिजो भेट्दा नचिन्ने गणले लौ अचम्म आज बोलायो नामले
झसङ्ग भयो तन यो, जिरिङ्ग भो ज्यान यो ढढेको अनुहार घामले
फुस्रा हातमा हात मिलायो उसले, बिझायो कि मजदुरका ठेला
उ हिँड्छ ढसमस अहा क्या छ फुर्ति चिनिएको छ उल्फाको दामले ।
गर्छ भाषण, भन्छ अब त यो पाँच बर्षमा म गर्छु अचम्म र उल्का
भन्छ समृद्धि आउँछ, छैन अब चिन्ता सबै आङ्गमा घामको झुल्का
बोल्यो उ नानाभाँती, गयो चुनाउ पनि हारे जनता जित्यो उसैले
मतदाताको मनमा काँडा रोपिएको, लायो गणले माला फुलका ।