आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस वर्षको विश्वकप गुमाउँदै यी सात टोली

मङ्गलबार, २५ असोज २०७९, १८ : २५
मङ्गलबार, २५ असोज २०७९

यस वर्ष कतारमा हुने विश्वकपमा केही ठुला टोलीहरू देखिने छैनन् । यसमा वर्तमान युरोपियन च्याम्पियन र चार पटकको विश्व विजेता इटालीसमेत रहेको छ । 

तर, यस वर्षको प्रतियोगिता गुमाउने टोलीमा इटालीमात्र छैन । विश्वकपमा प्राय सधैँ देखिने केही सशक्त टोलीहरू पनि देखिने छैनन् । युरोप, दक्षिण अमेरिका र अफ्रिकाका शक्तिशाली टोलीहरू घरबाटै प्रतियोगिता हेर्न बाध्य हुनेछन् ।

इटाली

विश्व वरीयता : ६, उत्कृष्ट प्रदर्शन  : विजेता (१९३४, १९३८, १९८२ र २००६)

गत मार्चमा प्लेअफको सेमिफाइनलमा उत्तरी मेसेडोनियासँग पराजित हुँदै इटाली प्रतियोगितामा छनोट हुनबाट वञ्चित बन्यो । इटाली प्लेअफमा हुनु नै धेरैका लागि आश्चर्यजनक थियो किनभने गत वर्षमात्र टोलीले सन् २०२० को युरोको उपाधि जितेको थियो भने त्यसअघि छनोट खेलहरूमा पनि राम्रो प्रदर्शन गरिरहेको थियो ।

तर, त्यस यताका पाँच खेलमा टोलीले एक मात्र खेल्न जित्न सक्यो भने चार खेल बराबरी ग¥यो । स्वीटजरल्याण्डसँग पछि पर्दै टोली दोस्रो स्थानमा रहेर प्लेअफ खेल्न बाध्य बन्यो भने त्यहाँ पनि गोल गर्न असफल हुँदै लगातार दोस्रोपटक विश्वकप खेल्नबाट वञ्चित रह्यो ।

कोलम्बिया

विश्व वरीयता  : १७, उत्कृष्ट प्रदर्शन  : क्वार्टरफाइनल (२०१४)

विश्वकपमा गोल्डन बुट जितेका हामेज रोड्रिग्वेज रहेको कोलम्बियाले विश्वकपका पछिल्ला दुई संस्करणमा राम्रो प्रदर्शन गरेको थियो । कतारमा हुने विश्वकपमा पनि टोलीले स्थान बनाउने अपेक्षा गरिएको थियो । तर, दक्षिण अमेरिकी टोली कोनमेबोल क्वालिफायर्समा पेरुभन्दा एक अङ्कले पछि रहँदै छैटौँ स्थानमा सीमित बन्यो । शीर्ष चार टोली स्वतः विश्वकपमा छनोट भए भने पेरुले प्लेअफ खेलेको थियो ।

स्वीडेन

विश्व वरीयता  : २०, उत्कृष्ट प्रदर्शन  : उपविजेता (सन् १९५८)

स्वीडेनले २१ विश्वकप प्रतियोगितामध्ये १२ वटा भाग लिएको छ । सन् १९५८ को विश्वकपको आयोजना गरेको टोली सो प्रतियोगितामा उपविजेतासमेत बनेको थियो । फाइनलमा टोली ब्राजिलसँग पराजित भएको थियो । सन् २०१८ को क्वार्टरफाइनलमा पुगेको स्वीडेनले क्वालिफायरको दोस्रो लेगमा ६ मध्ये तीन खेलमा पराजित भएपछि स्पेनभन्दा पछि पर्दै पोल्याण्डविरुद्ध प्लेअफ खेल्न बाध्य बनेको थियो । पोल्याण्डसँग २–० ले पराजित हुँदै टोली विश्वकप खेल्नबाट वञ्चित रह्यो ।

चिली

विश्व वरीयता  : २९, उत्कृष्ट प्रदर्शन  : तेस्रो (सन् १९६२)

सन् १९३० को पहिलो विश्वकपदेखि चिलीले विश्वकपमा सहभागिता जनाउँदै आएको छ । सन् १९६२ को विश्वकप आयोजना गरेको चिली सो संस्करणमा तेस्रो बनेको थियो । सन् १९९८, २०१० र २०१४ मा चिली अन्तिम १६ सम्म पुगेको थियो । छनोटमा पछिल्ला चार खेलमा एक मात्र जीत हासिल गरेपछि टोली विश्वकप खेल्न पाएन ।​

नाइजेरिया

विश्व वरीयता  : ३१, उत्कृष्ट प्रदर्शन  : अन्तिम १६ (सन् १९९४, १९९८, २०१४)

सन् १९९४ को विश्वकपमा डेब्यु गरेको नाइजेरिया आफ्नो आक्रामक खेल शैली र रमाइलो गोलको खुसियालीका कारण दर्शकको प्रिय बनेको थियो । आफ्नो समूहमा पहिलो बने पनि अन्तिम १६ मा रोबार्टो बाजियोको इटालीसँग पराजित भएको थियो । सन् २००६ को प्रतियोगिता गुमाएको नाइजेरियाले चार वर्षपछि दक्षिण अफ्रिकामा खेलिएको विश्वकपमा पुनरागमन गरेको थियो । अवे गोलको आधारमा प्लेअफमा घानासँग पराजित हुँदै नाइजेरिया यो वर्ष विश्वकप खेल्न पाएन ।

रुस

विश्व वरीयता  : ३५, उत्कृष्ट प्रदर्शन  : चौथो (सन् १९६६ मा सोभियत संघको रुपमा), क्वार्टर फाइनल (सन् २०१८)

राजनीतिक कारणले रुसले यो वर्षको विश्वकप गुमाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई सबै प्रतियोगिताबाट हटाउने निर्णय गरेको हो । रुसले प्रतिबन्धविरुद्ध अपिल गरे पनि पछि त्यसलाई फिर्ता लिएको थियो ।

इजिप्ट

विश्व वरीयता  : ४०, उत्कृष्ट प्रदर्शन  : समूह चरण (१९३४, १९९०, २०१८)

खाडी मुलुकमा हुन लागेको विश्वकपमा मोहमद शालाहको नेतृत्वको इजिप्टले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर शालाहसहित दुई खेलाडीले सेनेगलविरुद्धको प्लेअफमा पेनाल्टीबाट गोल गर्न नसकेपछि टोली विश्वकप खेल्नबाट वञ्चित बनेको हो । यसअघि छनोट भएका सबै प्रतियोगितामा इजिप्ट समूह चरणमा नै सीमित बनेको थियो । सन् २०१८ मा शालाह घाइते भएका कारण इजिप्टले निराशाजनक प्रदर्शन गरेको थियो ।-अलजजिरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप