आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा घटना : गँगटा मार्ने बहानामा पत्नीसँगै दुई सन्तानको हत्या

हत्या आरोपमा मृतकका पति पक्राउ
बुधबार, २६ असोज २०७९, २० : ४५
बुधबार, २६ असोज २०७९

बाराको प्रसौनी गाउँपालिका–५ स्थित प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक सन्तानलाई उनकै पतिले हत्या गरेको थाहा भएको छ । हत्या आरोपमा सुजाताका श्रीमान् दीपेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्ना दुई छोराछोरी र पत्नीको हत्या गरेर उनी वीरगन्ज गए । वीरगञ्जमा दीपेन्द्र दुर्घटनामा परेका उनको ढाडको हड्डी टुटेको छ । प्रहरीको निगरानीमा उनको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

असोज २४ मा बिहान ‘गँगटा​ मार्न जाउँ’ भनेर दिपेन्द्रले पत्नी सुजाता, १६ महिने छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरालाई ढोरा खोलामा लिएर गए । प्रसौनी–७ स्थित सो खोलामा पत्नी र छोराछोरीलाई छाडेर मध्यान्ह १ बजेतिर उनी घर फर्किएका थिए । घरमा आएर दाउ लिएर साइकल चढेर उनी फेरी खोलातिर फर्केको उनका बुवा–आमाले प्रहरीलाई बताएका छन् ।

सुजाता र दुई सन्तानको घाँटी काटिएको छ । मृतकका श्रीमानले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बाराका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । एसपी बोगटीले भने–‘हत्या गरेर आरोपी वीरगन्ज गएको र मंगलबार बिहान २ बजेतिर दुर्घटनामा परेको अनुसन्धानबाट खुलेको छ ।’

ढोरा खोलामा पुग्न उनीहरूको घरबाट अरू दुईवटा खोला तरेर जानुपर्छ । असोज २५ मा बिहान वीरगञ्जबाट घर फर्किँदा उनी दुर्घटनामा परेका हुन् । साइकल दुर्घटनामा परेपछि वीरगञ्जको नारायणी अस्पतलामा भर्ना भएका उनलाई सो अस्पतालले  एलएल न्यूरो अस्पतालमा रिफर गरेको थियो ।

पत्नी सुजाता र हत्या आरोपीको बीचमा सम्बन्ध राम्रो थिएन । पर्सास्थित माइतीघरमा बसेकी सुजातालाई उनले असोज २२ मा घर लगेका हुन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ‘भत्ता कार्ड’ बनाउने बहानामा उनले पत्नीलाई फकाएर घरमा लगेका थिए ।

ससुराली पक्षले सुजाता र बच्चा हराएको प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी शुरु गरेको थियो । बुधवार अस्पतालमा आरोपीले ससुरालाई भने–‘खोलामा घाँटी काटेर फालेको अवस्थामा मैले देखेको थिएँ ।’ त्यसपछि प्रहरी पुगेर हेर्दा ३ जना मृत अवस्थामा भेटिए ।​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप