आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन

शुक्रबार, २८ असोज २०७९, ०८ : ३५
शुक्रबार, २८ असोज २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

बेनी–जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिरोकाे जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताए । 

स्तरोन्नतीको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् । 

मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए । मालढुङ्गा–बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप