आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालीले बिर्से हात धुने संस्कृति

सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्ड अस्पतालले कागजमै सीमित राखे
शनिबार, २९ असोज २०७९, १६ : ४१
शनिबार, २९ असोज २०७९

सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय मापदण्ड २०७८ बनाए पनि काठमाडौँ उपत्यका सरकारी अस्पतालले भने त्यसलाई पूर्ण रुपमा बेवास्ता गरेका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका अस्पतालमा सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्ड पूर्ण रूपमा लागू नभएको स्वास्थ्यकर्मीहरू नै स्वीकार छन् । 

वीर अस्पतालमा बिरामी र बिरामीका आफन्तले प्रयोग गर्ने शौचालय र हात धुने बेसिनका सबै धारामा नियमित पानी आउँदैन । शौचालय र बेसिनमा पानी आइहाल्यो भने पनि हात धुनका लागि साबुनको व्यवस्था नभएको अस्पतालका एक अधिकृत सुनाउँछन् । उनले भने, ‘दुर्गन्धित शौचालय प्रयोग गर्नुपर्छ । साबुन पानीले हात धुने भन्ने कुरा त धेरै परको भयो ।’ 

 सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूका लागि हात धुने व्यवस्था भए पनि बिरामी र कुरुवाहरूका लागि पूर्णरुपमा व्यवस्था नभएको सुनाउँछन् । हात धुने बानी भएकाहरु अस्पताल पुगे पनि पूर्वाधारहरूको व्यवस्था नहुँदा हात धुनबाट वञ्चित छन् । अस्पतालहरूले हातको धुने व्यवस्था गरे पनि त्यसलाई पूर्वाधारसहित नियमितता दिन नसकेको उनी बताउँछन् ।

स्वास्थ्य संस्थामा हुन सक्ने रोगको जोखिम र उक्त रोगको रोकथामका लागि मापदण्ड बनाए पनि पनि व्यवहारमा लागू भएको छैन । सो मापदण्डमा अस्पतालमा पानीको धारासहित हात सफा गर्ने बेसिन उपलब्ध हुनपर्छ र प्रयोगकर्ताको पहुँचमा तीस मिटर भित्रको दूरीमा हुनुपर्ने उल्लेख गरिएको छ । 

यस्तै, स्वास्थ्य संस्थाभित्र अल्कोहलयुक्त हात सफा गर्ने स्यानिटाइजर बारम्बार प्रयोग गर्न सकिने गरी सबैले देखिने र प्रयोग गर्न मिल्ने तबरले राख्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, स्वास्थ्य संस्थामा हात सफा गर्न साबुन र पानीको अनिवार्य उपलब्धता हुनुपर्नेछ । हात धुने स्थलहरू डिटर्जेन्ट वा ०.५ प्रतिशत क्लोरिनले नियमित  रूपमा सफा गर्नुपर्छ ।

 यस्तै, खानेपानी र हात धुन तथा अन्य प्रयोजनको लागि पानीको श्रोत एउटै भएता पनि वितरण गर्ने (विन्दु) स्थान फरकफरक हुनुपर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा पानीको उपलब्धता हुने गरी सुधारिएको पानीको श्रोतको व्यवस्था गरिएको हुनुपर्ने उल्लेख छ । यस्तै प्रत्येक इकाईहरूमा जस्तै बिरामी जाँच्ने कोठा प्रसूति कक्ष, प्रयोगशाला लगायत हात धुने स्थानमा प्रति स्थानमा प्रति मिनेट पाँच लिटर पानी सुचारु रूपमा आउने पानीको धारा वा हात सफा गर्ने बेसिन उपलब्ध हुनुपर्ने उल्लेख गरिएको छ । हात धुने बानी र पूर्वाधारको पूर्ण व्यवस्था भएमा हातबाट सर्ने विभिन्न प्रकारका सरुवाजन्य सङ्क्रमण दर कम हुने डा. पुन सुनाउँछन् ।

यता इपिडिमियोलोजी तथा रोग महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनीले अस्पतालहरुले मापदण्डमा आधारित भएर हातको सफाइको सन्दर्भका काम नगरेको बताउँछन् । उनले सरकारी अस्पतालहरूले वार्षिक रूपमा पूर्वाधार मर्मत र निर्माणमा करोडौँ खर्च गरे पनि हातको सफाइका लागि आवश्यक पूर्वाधार र शौचालय मर्मत र व्यवस्थापनलाई बेवास्ता गरेको जिकिर गरे ।  

उनले भने, ‘कुनै संघसंस्थाबाट आएको बजेटले अस्पतालहरूले बिरामी र कुरुवालाई धारा, पानी, शौचालय, साबुनसहित हात धुने पूर्वाधारसहितको व्यवस्था गर्छन् । तर, यस कार्यलाई अस्पतालहरूले नियमितता दिन नसक्दा अस्पतालबाटै सङ्क्रमणजन्य रोगको उच्च जोखिम कायम छ ।’   

 यूएनएचसीआरका अनुसार विश्वभरका ३ मध्ये १ स्वास्थ्य सेवामा बिरामी, स्वास्थ्यकर्मी र उपचारमा बिरामीसँग सम्पर्क हुने स्थानहरूमा हात सरसफाइको सुविधा छैन ।  ।

पखालाबाट हुने मृत्युलाई ५० प्रतिशत घटाउन सकिन्छ  

विश्व बैंकका अनुसार हातको सरसफाइले रोगलाई कम गर्न अति महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ ।  सन् २०२० मा गरिएको  अध्ययनमा साबुन र पानीले हात धुँदा पखाला रोगबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने उल्लेख गरिएको छ ।  यस्तै नियमित रूपमा सबै मानिसले हात धुँदा वार्षिक १० लाख मृत्युलाई रोक्न सकिन्छ ।  

यस्तै, सीडीसी अमेरिकाअनुसार हात सफा गरेमा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई झाडापखालाको रोगलाई ५८ प्रतिशतले घटाउन सकिने उल्लेख गरिएको छ । उता युनिसेफ र विश्व स्वास्थ्य संगठनको एक अध्ययनले सङ्क्रामक रोगहरुविरुद्ध लड्न १० मध्ये ३ जनासँग घरमा आधारभूत हात धुने सुविधा नभएको जिकिर गरेको छ ।

खाद्यजन्य रोगको प्रकोपको ठुलो प्रतिशत दूषित हातबाट फैलने डा पुन बताउँछन् । हात सफाइ गर्ने नियमित बानीले रोग र अन्य सङ्क्रमण जन्य जोखिम कम गर्ने उनको भनाइ छ । 

महामारीले हात स्वच्छता लागि अभूतपूर्व समय सिर्जना गरेको चिकित्सकहरू बताउँछन् । कोरोना महामारीको समयमा सबैले हातको सरसफाइमा धेरैले ध्यान दिए पनि बिस्तारै भुल्दै गएको डा. मरासिनी सुनाउँछन् । हातको सरसफाइलाई अस्थायी प्रावधानको रूपमा नहेर्न उनको सुझाव छ । सङ्क्रामक रोगबाट बच्नका लागि पानी सरसफाइ र सरसफाइमा थप दीर्घकालीन लगानी गरी भावी दिनहरूमा आउन सक्ने स्वास्थ्य सङ्कटबाट जोगिन सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

 हात धुँदा सङ्क्रामक रोगबाट मुक्ति

हात धुने कुरा हेर्दा सामान्य लागे पनि निकै महत्त्वपूर्ण कुरा भएको  डा. पुन बताउँछन् । डा पुनका अनुसार सही तरिकाले हात धुँदा धेरै सङ्क्रामक रोगबाट मुक्ति पाइन्छ ।

नियमित हात धुँदा पानीजन्य रोग, झाडापखाला, हैजा, टाइफाइड रुघाखोकी, कोभिड–१९ लगाएका सङ्क्रमणजन्य कुरा हात धुने कुरासँग सम्बन्धित हुने डा. पुनले बताए । पुन पनि नेपालमा कोरोना महामारीका बेला हात धुने बानीको विकास भएको तर हाल क्रमशः घट्दै गएको सुनाउँछन् ।

सरुवाजन्य रोगबाट बाच्नका लागि सजिलो र हात धुने कुरालाई मुख्य भएको उनले बताए । सरकारले उद्देश्य औषधि खान दिनुभन्दा रोग लाग्नै नदिनु उपाय अपनाउनुपर्ने उनको भनाइ छ । 

हात धुने संस्कृतिलाई नेपालीले बिर्से

हात सफा गर्ने सन्दर्भमा नेपालीले आफ्नो पश्चिमा संस्कृतिलाई अनुसरण गर्न नसक्दा हात धुने बानी झन् बिग्रिएको डा. मरासिनीको जिकिर छ । पश्चिमा संस्कृतिझैँ पूर्ण रूपमा चम्चा, सिन्का प्रयोगको नेपाली गर्न सकेका छैनन् भने नेपाली संस्कृति अनुसार पनि सबै हात सफा गरेर खानेकुरा खान सकेका छैनन् । धेरै सरकारी विद्यालय हात धुने ठाउँ नभएका, पानी विनाका शौचालय रहको उनले बताए । सरसफाइ तथा हात धुने कुरा वृहत् रूपमा स्कुलबाटै सिकाउनुपर्नेमा उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप