आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उम्मेदवारी निस्क्रिय गर्न माधवको अनुरोध महादेवद्वारा अस्वीकार

शनिबार, ०५ कात्तिक २०७९, १४ : ३७
शनिबार, ०५ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कास्की क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका महादेव गुरुङलाई भेटेका छन् । आफ्नो पार्टीका उम्मेदवारविरुद्ध कास्की क्षेत्र नम्बर–२ बाट बागी उम्मेदवार दिएका कांग्रेसका पुराना नेता गुरुङलाई शुक्रबार नेपालले पोखराको लेकसाइडस्थित एक होटलमा भेटेका हुन् । 

कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल चुनावी मैदानमा छन् । भेटमा नेता नेपालले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको गुरुङले बताए । ‘शेरबहादुर देउवासँग त मैले पहिले नै कुरा राखेको थिए । कास्कीका गठबन्धनका नेताहरूले पनि बारम्बार फोन गर्नुभएको थियो । मेरो कुरा पहिले स्पष्ट राखेको थिएँ,’ उनले भने, ‘मैले पैसा र पदको राजनीति गरेको होइन । मेरो उम्मेदवारी पद र पैसाका लागि दिएको होइन । त्यो फिर्ता हुँदैन भनेँ ।’

ओलीको प्रतिगमन विरुद्धको लडाइँमा साथ दिन उम्मेदवारी फिर्ता लिन नेपालले गरेको अनुरोध आफूले अस्वीकार गरेको गुरुङको भनाइ छ । ‘प्रतिगमनको विरुद्धमा हामीलाई साथ दिनुपर्‍यो भन्नुभयो । मैले शेरबहादुर देउवा पनि प्रतिगमनकारी हो भनिदिएँ,’ गुरुङले भने, ‘गठबन्धनको आडमा शेरबहादुरजीले मलाई जबरजस्ती गर्न पाइँदैन र फिर्ता लिन्न भनेँ ।’ 

माधव नेपाल पनि नेकपा एमालेमा पीडित भएपछि नयाँ पार्टी खोलेको र आफू पनि पार्टीमा पीडित बनेकोले माधवसँग भेटेको गुरुङ बताउँछन् । ‘माधव जीपनि ओलीजीको थिचोमिचोमा परेर विद्रोह गरेर आउनुभएको मान्छे । म पनि शेरबहादुर देउवाको थिचोमिचोमा परेको मान्छे । मेरो भावनालाई सहयोग गरिदिनुहुन्छ, कि भनेर माधव नेपाललाई हिजो भेटेँ,’ उनले भने, ‘तर उहाँलाई मैले सहयोग गर्न सक्ने अवस्था पनि देखिएन । उहाँले मलाई सहयोग गर्न सक्ने अवस्था पनि देखिएन ।’

उनले आफू चुनाव जित्नकै लागि उम्मेदवारी दिएकाले पछि नहट्ने उनको भनाइ छ । ‘मैले राजनीति गरेको ५२ वर्ष भयो । हिजोसम्म इमान्दार कार्याकर्ताको भूमिका निभाए । आजसम्म अवसर पाइनँ,’ उनले भने, ‘टिकट वितरणमा यो गठबन्धले गर्दा झनै अन्याय भयो । यसपछि मैले उम्मेदवार दिएर चुनाव लड्ने निधो लिएको हुँ ।’ 

चुनाव लड्ने आफूले चन्दा संकलन गर्ने उनको भनाइ छ । ‘मसँग चुनाव लड्ने पैसा छैन । यसअघि गुरुङलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन मार्फत उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । ‘उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन प्रधानमन्त्री ज्यूको फोन आएको थियो । मैले उहाँलाई उम्मेदवारी फिर्ता नलिने जवाफ दिएँ,’ महादेवले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप