आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋषि सुनकमात्र होइन, विश्वका यी सात देश भारतीय मुलका नेता चलाउँछन्

मङ्गलबार, ०८ कात्तिक २०७९, २१ : ५६
मङ्गलबार, ०८ कात्तिक २०७९

भारतीय मूलका बेलायती सांसद ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् । सुनकको यो उपलब्धिप्रति भारतीय सामाजिक सञ्जालमा निकै उत्साह छाएको छ । यस अवसरमा विश्वका अन्य देशमा उच्च पदमा रहेका भारतीय मूलका नेताहरुको उल्लेख गरिएको छ । 

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा

भारतीय मुलका नेताहरुको नाम लिँदा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाको नाम प्रमुखका साथ लिइन्छ । एन्टोनियोका बुबा ओर्लान्डो कोस्टा कवि थिए । औपनिवेशिक विरोधी आन्दोलनमा भाग लिएका ओर्लान्डोले पोर्तुगाली भाषामा प्रसिद्ध पुस्तक ’शाइन अफ एन्गर’ लेखे । हजुरबुबा लुइस अफोन्सो मारिया डे कोस्टा भने गोवाका बासिन्दा थिए । एन्टोनियो कोस्टाको जन्म मोजाम्बिकमा भएको भएता पनि उनका आफन्तहरू आज पनि गोवाको मरगाओ नजिकैको रुआ अबेद फारिया गाउँमा छन् । 

आफ्नो भारतीय पहिचानको बारेमा कोस्टाले एक पटक भनेका थिए ,‘ मेरो छालाको रंगले मलाई केहि गर्नबाट रोकेको छैन । म मेरो छालाको रंगसँग सहजताका साथ बाँचिरहेको छु ।’ यति मात्र होइन, कोस्टा भारतका ओसीआई(ओभरसिज सिटिजन्स अफ इण्डिया) कार्ड धारक पनि हुन् । उनको ओसीआई कार्ड सन् २०१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई हस्तान्तरण गरेका थिए ।

मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र राष्ट्रपति पृथ्वीराजसिंह रुपन

मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ पनि भारतीय मूलका राजनीतिज्ञ हुन् । उनको पुर्खौली जरा भारतको बिहारसँग जोडिएको छ । प्रविन्दका पिता अनिरुद्ध जगन्नाथको गणना पनि मौरिसका बलिया नेताहरूमा गनिन्थ्यो, जो मरिससको राष्ट्रपति र प्रधानमन्त्री भएका थिए । 

हाल प्रधानमन्त्री रहेका प्रविन्द जगन्नाथ केही समयअघि वाराणसी आएका थिए जुन बेला उनले आफ्ना पिताको अस्ति गंगामा विसर्जन गरेका थिए । यससँगै उनी विभिन्न अवसरमा भारत आउने गरेका छन् । मरिससका वर्तमान राष्ट्रपति पृथ्वीराजसिंह रुपन पनि भारतीय मूलका राजनीतिज्ञ हुन् । 

सिंगापुरकी राष्ट्रपति हलिमा याकूब

सिंगापुरकी राष्ट्रपति हलिमा याकुब पनि भारतीय मुलकी हुन् । उनका पिता भारतीय थिए भने आमा मलय मूलकी थिइन् । सिंगापुरमा मलय जनसंख्या लगभग १५ प्रतिशत छ । हलिमा याकूब सिंगापुरकी पहिलो महिला राष्ट्रपति पनि हुन् । यसअघि उनले सिंगापुरको संसदमा सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् । उनी आफ्नो देशको पहिलो महिला सभामुख पनि हुन् । 

सुरिनामका राष्ट्रपति चन्द्रिका प्रसाद सन्तोखी

ल्याटिन अमेरिकी देश सुरिनामका राष्ट्रपति चन्द्रिका प्रसाद संतोखीको सम्बन्ध पनि भारतसँग जोडिएको छ । चान सन्तोखी भनेर चिनिने यी नेता एक भारतीय–सुरिनामी हिन्दू परिवारमा जन्मेका थिए । केही रिपोर्टका अनुसार चन्द्रिका प्रसाद सन्तोखीले सपथ पनि संस्कृतमा लिएका थिए । 

गुयानाका राष्ट्रपति इरफान अली

क्यारेबियन देश गुयानाका राष्ट्रपति रफान अलीका पुर्खा भारतका थिए । तर उनी भने सन् १९८० मा भारतीय गुयानी परिवारमा उतै गुयनामा जन्मेका थिए । 

सेशेलका राष्ट्रपति वावेल रामकलावान

सेशेलका राष्ट्रपति वावेल रामकलावन पनि भारतीय मूलका राजनीतिज्ञ हुन् । उनका पुर्खाहरु भारतको बिहारबाट सेशेल गएका थिए । लोहार पिताका छोरा रामकलावानकी आमा भने एक शिक्षिका थिइन् ।

सन् २०२१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई ‘भारतको पुत्र’ भनेर वर्णन गर्दै भनेका थिए ,‘ बिहारको गोपालगञ्जसँग जोडिएका वावेल रामकलावनको उपलब्धीमा आज उनको गाउँमात्र नभई सम्पूर्ण भारतका जनता गर्व गर्छन् । ’

अमेरिकाकी उप–राष्ट्रपति कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि भारतीय मूलकी शीर्ष विदेशी नेताहरूमा पर्छिन् । सन् २०२१ मा राष्ट्रपति बाइडेनको अनुपस्थितिमा ८५ मिनेटका लागि अमेरिकी राष्ट्रपतिको अधिकार दिइएको थियो । योसँगै कमला ह्यारिस अमेरिकी इतिहासमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने पहिलो महिला बनेकी थिइन् । यसअघि कमला ह्यारिसले अमेरिकी लोकतन्त्रको २५० वर्ष लामो इतिहासमा पहिलो महिला, पहिलो अश्वेत र पहिलो एसियाली मुलकी अमेरिकी महिला उपराष्ट्रपति बनेर पनि इतिहास रचेकी थिइन् ।

कमला ह्यारिसले भारतसँगको आफ्नो सम्बन्ध खुलेरै उल्लेख गर्ने गर्छिन् ।  आफ्नो २०१८ को आत्मकथा, ‘द ट्रुथ वी टुल्ड’ मा उनले लेखेकी छन् ,‘ मानिसहरूले मेरो नाम अंग्रेजीको अल्पविराम चिन्हजसरी उच्चरण गर्दै ‘कोमा–ला’ भन्छन् तर मेरो नामको अर्थ ‘कमलको फूल’ हो । भारतीय संस्कृतिमा यसको ठूलो महत्व छ । कमलको बोट पानीमुनि हुन्छ । फूल पानीको सतहभन्दा माथि फुल्छ । जराहरू नदीको किनारमा बलियोसँग जोडिएका हुन्छन् ।’ कमला भारतमा जन्मेकी आमा र जमैकामा जन्मिएका पिताकी सन्तान हुन् ।-बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप