आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ इनका रिसेप्सनिष्टको बयान : चाबी किशोरीले नै लगेर रुममा पुगेकी हुन्

सोमबार, १४ कात्तिक २०७९, १८ : १५
सोमबार, १४ कात्तिक २०७९

जबरजस्ती करणीको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता भएको छ । सन्दीपले नाबालिकमाथि जबरजस्ती करणी गरेको भन्दै १२ वर्षको जेल सजायको मागदाबी लिइएको छ । 

गत भदौ ६ गते बिहान सन्दीपले पिंगलास्थानको होटल काठमाडौँ इनमा लगेर एक १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरीले सन्दीपले आफूलाई भदौ ६ गतेको बिहान २ पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । 

प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पिंगलास्थानको उक्त होटलको सिसीटिभी फुटेज र लगबुकमा सन्दीप र पीडित किशोरी कोठा नम्बर ३०७ मा सँगै बसेको पाइएको छ । 

उक्त होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको, स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी समेत किशोरी आफैँले लिएर गएको बताएका छन् । 

यस्तो छ, रिसेप्सनिष्ट अनिश श्रेष्ठको बयान 

‘म काठमाडौँ महानगरपालिका वडा नम्बर ९ शम्भुमार्ग स्थित रहेको होटल काठमाडौँ ईनको रिसेप्सनमा नै काम गर्दै आएको छु । निज सन्दीप लामिछानेलाई पहिले देखि समय समयमा खेलाडीहरु सहित होटल काठमाडौँ ईनमा आउने गरेकोले चिनेको हुँ । परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई मिति २०७९।०५।०५ गते अन्दाजी २३ः२५ बजेको समयमा सन्दीप लामिछानेसँग होटलमा आएको अवस्थामा देखेको हुँ । यसरी मैले होटल काठमाडौँ ईनमा काम गर्दै आएकोमा मिति २०७९/०५/०५ गते रातीको अन्दाजी २३ः०० बजेको समयमा सन्दीप लामिछानेले होटलको रिसेप्सनमा जडान गरेको ०१४४८२७७७ ल्याण्ड लाईन नम्बरमा फोन गरी को बोलेको हो भनी सोधेकोमा, मैले अनिश बोलेको भने पश्चात् निजले अनिश म होटलमा आउँदै छु, मलाई एउटा कोठा चाहिन्छ, छ, छैन ? भन्दा मैले कोठा छ भनी निजले फोन गरेकै समयमा ४०७ नम्बरको कोठा सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई सरसफाइ गर्न लगाएको थिएँ । त्यसको करिब २०/२५ मिनेटमा सन्दीप लामिछाने गाडी लिई होटल बाहिर आएकोमा म बाहिर निस्की हेर्दा सन्दीप लामिछानेले होटल बाहिर गाडी रोके भने गाडीबाट निजसँग आएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ओर्लिई रिसेप्सनमा आई कोठाको चाबी दिनु भनी मागेकोमा सविन श्रेष्ठले सरसफाइ गरी रिसेप्सनको अगाडीको टेबलमा छाडेको ४०७ नम्बरको कोठाको चाबी दिएको थिएँ । परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले चाबी लिई माथि कोठा जानुभयो भने करिब ५ मिनेट पछि सन्दीप लामिछाने गाडी पार्किङ गरी रिसेप्सनमा आई मलाई के छ भनी हात मिलाई माक्स मागी माक्स लिई होटलको रेष्टुरेन्ट तथा बार तर्फ गएकोमा करिब ५ मिनेट पछि रेष्टुरेन्टबाट फर्किई मिति २०७९।०५।०५ गते रातीको अन्दाजी २३ः३५ बजेको समयमा निज माथि गएका थिए । निज माथि गएको ३/४ मिनेट पश्चात् रिसेप्सनमा फोन गरी कोठाको एसी चलेन, साङ्लाहरु पनि रहेछ भनेकोले मैले सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई ४०७ नम्बरको कोठामा एसी चलेन रे, चेक गर भनी पठाएकोमा सबिन श्रेष्ठ माथि गई २/३ मिनेटमा नै एसी बिग्रेको रहेछ, अहिले बन्दैन भनी फिर्ता आएका थिए । सो पश्चात् सन्दीप लामिछानेले अर्को कोठा चाहियो भनेकोले कोठा चेक गर्दा ३०५ नम्बरको कोठा खाली थियो, मैले निज सन्दीप लामिछानेलाई ३०५ नम्बरको कोठा खाली छ, त्यहाँ गएर बस्दै गर्नु न भनेको थिए । पछि सन्दीप लामिछाने तल रिसेप्सनमा आई ३०५ नम्बरको कोठाको चाबी लिई गई सन्दीप लामिछाने र निज सँगै आएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ३०५ नम्बरको कोठामा बसेका थिए । सो पश्चात् निज सन्दीप लामिछाने तथा परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) तल झरेका थिएनन् । सन्दीप लामिछानेको गेष्ट रजिष्टर कार्ड भर्नु पर्नेमा निजले अन्दाजी २३ः०० बजे फोन गरेकोमा मिति, समय, नामथर र राष्ट्रियता सोही समयमा भरेको र रुम नम्बर चाहीँ फिक्स गरेर मात्र भर्ने भनी खाली राखेकोमा रुम नम्बर निजहरू ३०५ नम्बरको कोठामा फिक्स गरी बसे पश्चात् मात्र भरेको हुँ । निज सन्दीप लामिछाने उक्त होटलमा क्रिकेट खेलाडीहरु सहित आउने, जाने, बस्ने गरेका थिए । निज सन्दीप लामिछाने अगाडीका दिनहरूमा होटलमा आउँदा खाली भएका कोठाहरू मध्ये उपयुक्त कोठा हेरी जुनसुकै कोठामा बस्ने गरेका थिए । निज सन्दीप लामिछाने र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) आउँदा राम्रै स्वाभाविक अवस्थामा आई होटल कोठामा बसेका थिए । 

होटलबाट प्राप्त भएको मिसिल संलग्न होटल काठमाडौँ ईनबाट सन् २०२२ अगस्ट २१ मा जारी भएको गेस्ट रजिस्टर कार्ड देखाउँदा देखे, हेरे, उक्त कार्डमा लेखिएको सन्दीप लामिछानेको नामथर, राष्ट्रियता, जारी भएको स्थान मिति र समय सन्दीप लामिछानेले कोठा राखि दिनु भनेको अवस्थामा राखी दिएको हुँ । उक्त कार्डमा भएको महलमा लेखे अनुसारको विवरण भरी होटल कोठामा बस्ने व्यक्तिहरूको परिचय खुल्ने कागजात राख्नु पर्ने हो तर सन्दीप लामिछाने सबैले चिनेको, नाम सुनेको निजको विषयमा सबैलाई जानकारी भएको र निज यस भन्दा अगाडीका दिनहरूमा पनि कहिले काहीँ साथीहरूसँग होटल आउने गरेको साथै निज नेपाली क्रिकेट खेलाडीको कप्तान समेत भएकोले आवश्यक हुँदाको अवस्थामा निजको विवरण उपलब्ध गराउन सकिने हुँदा गेस्ट रजिस्टर कार्डमा अन्य विवरण नभरेको हो ।

अनुसन्धानको क्रममा दाखिला हुन आएको मिति २०७९/०५/०६ गतेको फुटेज ४ रिसेप्सन १ लेखिएको २३ः२५ बजे देखि २३ः३१ बजे सम्मको सिसीटीभी फुटेज देखाउदा हेरे, उक्त फुटेजको २३ः२५ मा रिसेप्सनमा चाबी छोडी जाने सेतो सर्ट कालो पाईन्ट लगाएर हिडेका व्यक्ति सोही होटलमा काम गर्ने सबिन श्रेष्ठ हुन् भने सोही समयमा रिसेप्सनमा फोन उठाउदै गरेको र त्यसको १ मिनेट पछि मुख्यद्वारबाट बाहिर निस्की फर्केको व्यक्ति म स्वयम् हुँ र म फर्किदा २३ः२६ बजे म सँगै आएको केटी मान्छे पीडित परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) हुन् । उक्त फुटेजको २३ः३० बजे होटल भित्र प्रवेश गरी म सँग हात मिलाई माक्स लिई रेष्टुरेन्ट तर्फ जाने व्यक्ति सन्दीप लामिछाने हुन्, फुटेज हेरी चिनी सनाखत समेत गरी दिए । 

सन्दीप लामिछानेले पीडित परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई उक्त होटल कोठामा जबरजस्ती करणी गरेको भन्ने सम्बन्धमा मैले मिति २०७९/०५/२२ गते विभिन्न समाचार माध्यमहरुले लेखेको समाचारवाट जानकारी पाएको हुँ । यसरी निज सन्दीप लामिछानेले पीडित परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई उक्त होटलको कोठामा जबरजस्ती करणी गरेको भन्ने बुझिन आएको हुँदा उल्लेखित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम कारबाही र सजाय होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप