आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपको बयान जारी, आज थुनछेक बहस नहुने

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : ००
मङ्गलबार, १५ कात्तिक २०७९

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । 

१७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

भदौ ६ गते साँझ क्रिकेट खेल्नका लागि केन्या पुगेका लामिछाने त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका थिए । तर सोही समयमा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि खेल नखेली फरार भएका थिए । 

लामिछाने फरार भएपछि प्रहरीले उनीविरुद्ध डिफुयुजन नोटिस जारी गरेको थियो । त्यसपछि पक्राउ पर्ने डरले उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।  प्रहरीले अनुसन्धान सकाएपछि सोमबार मात्रै सन्दीपविरुद्ध नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिई मुद्दा दायर गरिएको थियो ।

बयान अझै जारी रहेकाले आज थुनछेक बहस नहुने भएको छ । थुनछेक बहसमा पहिले वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् । आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने हो कि धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश हुनेछ । अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप