आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा नमुना मतदान सुरु

बुधबार, १६ कात्तिक २०७९, १२ : २१
बुधबार, १६ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमुना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमुना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमुना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए । 

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिए । स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमुना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतिरकण र तीन घण्टा नमुना मतदान अभ्यास हुने छ । “मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो”, प्रमुख पन्तले भने । 

उनले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिँदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन् । नमुना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप