आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लामिछानेविरुद्ध परेको मुद्दामा ‘हेर्दाहेर्दै’ मा शुक्रबार

बिहीबार, १७ कात्तिक २०७९, २१ : १९
बिहीबार, १७ कात्तिक २०७९

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ ।  न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । आज लामिछानेको तर्फबाट बहस सकिएको छ ।

उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
  लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप