आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिक्तेलमा सडक ढलान कार्यले पायो तीव्रता

शनिबार, १९ कात्तिक २०७९, ०६ : ४५
शनिबार, १९ कात्तिक २०७९

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको रु ५६ लाख ६४ हजारको लागतमा ढलान सुरु गरिएको हो । 

आगामी पुस ३० गतेभित्र सम्पन्न गर्ने गरी गत असोजमा सम्झौता भएको सडक ढलानको काम ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताए । सोही रकमले अल्छेढुङ्गाबाट अस्पतालसम्मको सडकमा बिग्रिएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने जनाइएको छ ।

यस्तै सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकमा ट्र्याक खोलिने, हेलिप्याडसम्म सडक पुर्याउने सम्झौतामा उल्लेख छ । 

ढलान भइरहेको सडक अनुगमनका क्रममा गुणस्तरीय रहेको वडा नं १ का वडाध्यक्ष नवराज राईले बताए  । तीव्र गतिमा ढलान भइरहेको उक्त सडक तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ । 

दिक्तेल बजारको बीचमा पर्ने सडक ढलान भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । मुख्य सडक बन्द भएपछि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयलगायत सरकारी कार्यालय आवतजावत गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो । 

लोकसेवा कार्यालय अगाडिको सडक कच्ची एवम् हिलाम्मे हुँदा धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारी साधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप