आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिर ४ मा चुनाव जित्ने उम्मेदवारबाट के चाहन्छ दमौली बजार ?

सोमबार, २१ कात्तिक २०७९, १४ : ४५
सोमबार, २१ कात्तिक २०७९

शिव सत्याल/सुवास श्रेष्ठ

दमौली । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरूलाई छोपेको छ । चुनावी रौनकले आम मतदाता पनि उत्साही हुन थालेका छन् । 

पार्टीको तर्फबाट र स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका उम्मेदवारहरू आफ्नो चुनावी प्रतिबद्धता र विकासका सपना बोकेर गाउँगाउँ तथा घरघर पसिरहेका छन् । उम्मेदवारी दर्तासँगै आफ्नो निर्वाचन क्षेत्रमा होमिएका उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रको विकास एजेण्डा पनि जनतासमक्ष पेस गरिरहेका छन् ।

यस्तै, परिवेशमा हामीले तनहुँको सदरमुकाम समेत रहेको दमौलीका केही मतदातासँग सो क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका कार्यबारे बुझ्ने प्रयास गरेका छौँ । तनहुँको सदरमुकाम दमौली प्रतिनिधिसभाको लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । 

विकासका आधारभूत संरचना तयार भइसकेको दमौली बजारमा अब त्यसैलाई परिष्कृत गर्दै लानुपर्ने दमौली बजारका स्थानीय प्रदीप पौडेल बताउँछन् । दमौलीमा विकासका आधारभूत संरचना तयार भइसकेकोले नेताले केही गरेनन् भन्नेहरूले के अपेक्षा गरेका हुन् भन्ने आफूले बुझ्न नसकेको उनको भनाई छ ।

‘अहिले दमौली बजारमा सडक पिच भएको छ, घरघरमा खानेपानीको धारो छ, सडक विस्तार भइरहेको छ, नदी (मादी नदी) तटबन्धको कार्य नगरपालिकाले सुरु गरिसकेको छ, अहिले पनि नेताले केही गरेनन्, केही भएको छैन भन्नेहरूको सङ्ख्या म धेरै देख्छु, नेताले के गरिदिनु पर्थ्यो , यहाँ के भएको भए राम्रो हुन्थ्यो भनेर उनीहरूसँग नै सोध्यो भने केही जवाफ दिँदैनन् तर गुनासो भने गरिरहन्छन्,’ पौडेलले रातोपाटीसँग भने ।

दमौली बजार व्यास नगरपालिकाभित्र पर्छ । सो नगरपालिकाको वडा नम्बर २ का स्थानीय सुब्बा थापाको भनाई भने केही पृथक् छ । उनको मनमा राजनीतिक दलहरूले युवालाई उम्मेदवार बनाएर पठाए हुन्थ्यो भन्ने छ । दमौली बजार क्षेत्रका स्थानीयको लागि रोजगारी सिर्जना नै सबैभन्दा ठुलो चुनौती रहेकोले अब जित्ने उम्मेदवारले सो कार्य पहिलो प्राथमिकतामा राख्नुपर्ने थापा बताउँछन् ।

‘दमौली बजार क्षेत्रको सबैभन्दा ठुलो समस्या भनेको रोजगारी नपाउनु हो, यहाँका युवा रोजगारीको खोजीमा खाडी देशसम्म भौँतारिनु परेको छ, विदेशमा रोजगारीको लागि गएको व्यक्तिको परिवारमा के कस्तो समस्या छ भन्ने कुरा धेरैले थापा पाइसकेका छन्, नेपालमा बस्यो रोजगारी पाइँदैन, विदेश गयो, परिवार बिग्रन्छ, यसैले नेपालमै रोजगारी पाउने वातावरण बनाउनु पर्‍यो, रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्‍यो,’ थापाले भने ।

दमौली बजारमै भेटिएका स्थानीय लक्ष्मण कँडेल भने विद्युतीय तार भूमिगत गर्ने पहिलो प्राथमिकता हुनुपर्ने बताउँछन् । 

‘बिजुलीका पोलमा तार झुन्डिएर विरूप भएको छ, जोखिम पनि बढेको छ, मङ्सिर ४ मा जसले चुनाव जिते पनि बिजुलीको तार भूमिगत गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने म देख्छु,’ कँडेलले भने ।

दमौली बजारमा भेटिएका इन्द्रबहादुर परियार ढल व्यवस्थापनमा काम गर्न जरुरी रहेको बताउँछन् । बजार क्षेत्रमा ढल व्यवस्थापनको लागि भएको काम अधुरो रहेकोले त्यसलाई व्यवस्थित गरी पूरा गर्नुपर्ने उनको भनाई छ ।

‘ढल व्यवस्थापनको लागि भएको काम अधुरो छ, आधा काम मात्रै भएको छ, सबैतिर भएको पनि छैन, बजार क्षेत्रको सबैतिर ढल व्यवस्थापन गर्ने कार्य पहिलो प्राथमिकतामा राख्नेले चुनाव जितोस् भन्ने मलाई लाग्छ,’ परियारले भने ।

व्यास नगरपालिका ४ दमौलीका स्थानीय जंगबहादुर दरैले दमौली बजारको विकासका लागि गर्नुपर्ने कार्यको अलि लामो व्याख्या गरे । उनी स्थानीय शीतलचोक टोल विकास संस्थाको अध्यक्ष पनि हुन् । 

‘सडक गतिलो छैन, ढल अधुरा छन्, फोहोर मैला व्यवस्थापनमा कसैले ध्यान दिए जस्तो लाग्दैन, मादी नदी अनियन्त्रित भएर जथाभावी हिँडेको हुन्छ, त्यसको व्यवस्थापन भएको छैन, अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्ती व्यवस्थापन आवश्यक भएको छ, मङ्सिर ४ पछि चुनाव जितेर आउने उम्मेदवारले यी कार्यलाई पहिलो प्राथमिकता राखिदिए हुन्थ्यो,’ दरैले भने ।

जिल्लाको सदरमुकाम समेत रहेको दमौली बजारका स्थानीयले मङ्सिर ४ मा चुनाव जित्ने उम्मेदवारले अहिले भएका विकास संरचनाको अद्यावधिक र व्यवस्थित गर्नुपर्ने प्राथमिकता तोकेका छन् । यस्तै, बजार क्षेत्रमा धारा भए पनि नियमित पानी नआउने भएकोले त्यसमा पनि ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप