आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगको आग्रह

बुधबार, २३ कात्तिक २०७९, १६ : ०४
बुधबार, २३ कात्तिक २०७९

निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो । 

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकर्ता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थगन गरेको भएपनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए । उनले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि बताए ।

सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताए । उनले एक महिना अगाडिबाट नै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यलयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाँउपालिकामा पु¥याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था गरेकोसमेत बताए । उनले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए । सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको पनि बताए ।  

सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मदेवारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताए । उनले राजनीतिक दलमा उम्मेदवारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताए । उनले प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेब साइडमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन राजनीतिक दलहरुलाई आग्रह गरे ।  उनले विगतका निर्वाचनहरुमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्युनिकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको बताए । सहप्रवक्ता अर्यालले शिक्षित मतदाता तयार पार्दा मात्रै मतदाताको अर्थपूर्ण सहभागिता हुने बताए । उनले मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको दाबी गरे । -न्युज एजेन्सी नेपाल 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप