‘कोरियामा काम गर्न सजिलो छैन, मेसिन जसरी गर्नुपर्छ’
झापा, दमकका ३१ वर्षीय मचिन्द्र कुरूङ्वाङ ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किए । ५ महिना अघि नेपाल फर्किएका उनी फेरि पाँच वर्षका लागि कोरियातिर लागेका छन् ।
कोरिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका उनको अनुहार मलिन थियो । मनमा घर परिवारसँग बिछोडिँदाको पीडा थियो भने हजारौं सपनाको भारी बोकेर उनी साउदी जाने प्लेन कुरेर बसिरहेका थिए । मनमा पीडा भए पनि उनी विदेशिन बाध्य थिए ।
६ वर्षअघि पहिलो पटक कोरिया जाँदा पनि उनलाई यस्तै भएको थियो । उनी २७ वर्षको उमेरमा पहिलो पटक कोरिया पुगेका थिए । ६ वर्ष काम गरेर घर फर्किएका उनलाई कोरियामा रोजगारी गर्दाको अनुभवले गर्दा यो पटक कुनै कौतुहलता भने थिएन । नियमअनुसार ५ वर्ष र कोरोना महामारीका थप एक वर्ष गरी ६ वर्ष कोरिया बसेर घर आएका थिए उनी ।
कोरियाबाट घर फर्किने क्रममा उनी अब देशमै केही गर्ने सोचमा थिए । उनलाई लाग्यो, ‘नेपालमा म जस्तालाई काम गर्ने वातावरण कहाँ छ र ?’ त्यही डरले उनी पुनः कोरियातिर लागे ।
अबको पाँच वर्षपछि भने विदेश नजाने सोचमा छन् । उनले अहिलेको वैदेशिक यात्रालाई ‘अन्तिम’ भनेका छन् र पाँच वर्षपछि नेपाल फर्किएर केही गर्ने सोच बनाएका छन् ।
उनी दक्षिण कोरियामा होण्डाई कम्पनीको पार्टस् बनाउने काम गर्थे । दैनिक ८ घण्टा अनिवार्य काम गर्नुपर्ने सेड्यूल थियो । त्यसबीचमा कुनै दिन साढे दुई घण्टा त कहिले ५ घण्टासम्म काम गर्नुपर्थ्यो ।
‘काम त मेसिन जसरी गर्नुपर्छ । सेकेण्ड सेकेण्डको महत्त्व हुन्छ । मैले काम गर्ने कम्पनीमा हात चलाइराख्नुपर्छ । रोबोटले सामान ल्याउने, हामीले हात चलाएर मिलाइराख्नुपर्ने । एक सेकेण्ड पनि हात खाली गर्न मिल्दैन । कामको क्रममा एक सेकेण्ड पनि आराम गर्न खोजेमा त्यहाँ अर्को समस्या हुन्छ,’ मचिन्द्रले रातोपाटीसँग भने ।
त्यो ६ वर्षको अवधिमा काम गर्दा उनलाई लाग्यो, ‘यहाँ त काम गर्न सोचेजस्तो सजिलो छैन । काम गरेको आधारमा पैसा पनि राम्रै कमाउन सकिने उनको भनाइ छ । ‘दैनिक ८ घण्टा अनिवार्य काम गर्नुपर्छ । त्यसपछि ओभरटाइम पनि पाइन्छ । मेरो कम्पनीमा साढे २ घण्टा अनिवार्य ओभरटाइम छ । कुनै दिन साढे ५ घण्टासम्म पनि चल्छ,’ उनले भने, ‘तलब बेसिक १९ लाख ४४ हजार हो । त्यो भनेको नेपालको २ लाख रुपैयाँ हो । ओभर टाइम गर्न सकियो भने त ३ लाख जति कमाउन सकिन्छ ।’
उनलाई पाँच वर्ष बसेर अब नेपालमा केही गर्नुपर्छ जस्तो त लागेको थियो । तर, सामान्य मान्छेले नेपालमा केही गर्न नसक्ने देखेर उनी पुनः कोरिया हानिए ।
‘नेपालमा केही गर्न पनि राम्रै पावर चाहिँदो रहेछ । धेरै साथीहरूले कोरियाबाट आएर नेपालमा केही गर्न खोजेका छन् तर, अवस्था निकै गाह्रो छ,’ उनले भने, ‘नेपालमा काम गर्ने वातावरण नभएकाले पुनः एक पटक कोरिया नै जानुपर्छ भन्ने लागेर कोरिया जना लागेको ।’
उनी तेस्रो पटकको प्रयासपछि ईपीएस भाषा पास गरेर कोरिया पुगेका थिए । भाषा परीक्षाका लागि निकै दुःख गर्नुपरेको उनको भनाइ छ ।
ईपीएस मार्फत गएका ३० हजार भन्दा बढी नेपाली कोरियामा कार्यरत छन् । अहिलेसम्म ७० हजार भन्दा नेपाली ईपीएस मार्फत कोरिया पुगेका थिए । जी टु जी मार्फत कोरिया पुगेका नेपालीले अन्य देशको तुलनामा समस्या कम भोग्नु परेको छ । तर, उनीहरू विभिन्नखाले समस्याबाट गुज्रिरहेका हुन्छन् ।
‘कोहीले निकै दुःख पाइरहेका छन् । कति जनाले त आत्महत्या गरेका छन् । १२÷१४ घण्टा दुःख गरेर कमाएको पैसा घर पठाउँछन्,’ उनले भने, ‘घरमा परिवारले त्यो पैसा उडाइदिन्छ । अनि जति काम गरे पनि उपलब्धि जिरो भएपछि डिप्रेशनमा जाने, आत्महत्या गर्ने गरेका छन् ।’
पारिवारिक तनाव तथा समस्याका कारण उनीहरू एक आपसमै झै–झगडा गर्ने समेत गरेको पाइएको उनको भनाइ छ । ‘घर परिवारका कारण तनाव हुन्छन् । त्यही तनावका कारण रक्सी खान्छन् । अनि साथीभाइ एकआपसमै झै–झगडा गर्छन् । कोही मर्छन्, कोही घाइते हुन्छन् । यो समस्या पनि देखिएको छ,’ उनले भने ।
काम गर्ने भने त्यस्तो खालको ठूलो दुर्घटना भने कमै हुने गरेको उनको भनाइ छ । ‘कम्पनीमा काम गर्नेहरूलाई ठूलो दुर्घटना कमै हुन्छ । कम्पनीहरूमा हरेक मेसिनमा सेन्सर लागेको हुन्छ । कुनै दुर्घटना हुन लाग्यो भने त्यो मेसिन सेन्सरका कारण बन्द हुन्छ र दुर्घटनाबाट जोगिन्छ,’ उनले भने ।
त्यसरी सेन्सर नै नलगाइएका कम्पनीमा भने दुर्घटनामा जोखिम बढी हुने गरेको उनको भनाइ छ । त्यस्तो खालको कम्पनीमा काम गर्ने कामदारको दुर्घटना बीमा गर्नुका साथै तलब भत्ता पनि बढी हुने गरेको उनी बताउँछन् ।
‘जहाँ मेसिनहरूमा सेन्सर हुँदैन, त्यसमा काम गर्नेहरूले त महिनाकै ५÷६ लाख कमाउँछन् । अन्यले ३ लाखसम्म कमाउँछन्,’ मचिन्द्रले भने ।
कृषि क्षेत्रमा जाने कामदारको हकमा तलब ढिला पाउने समस्या रहेको उनको भनाइ छ । ‘कृषि क्षेत्रमा काम गर्नेहरूको हकमा अलि तलबको समस्या देखिन्छ । उनीहरूको मालिक कस्तो छ भन्ने कुरामा भर पर्छ । कुनैको राम्रो हुन्छ, माया गर्ने खालको हुन्छ भने कुनै अलि बढी छुच्चो खालको हुन्छ । उनीहरूले तलब दिन आनाकानी गर्छन्,’ उनले भने ।
कृषि क्षेत्रका कामदारको हकमा समयमै तलब नपाउने समस्या देखिएको भन्दै ३ महिनाभन्दा ढिला गरे मुद्दा हाल्न सकिने बताए ।
उनले लामो समय विदेशमा बसेर काम गरेका नेपालीहरूलाई सम्मान दिनुपर्ने र नेपालकै केही गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । लामो समय विदेश बसेर फेरि विदेशिएका अधिकांश युवाहरूको एउटै गुनासो हुन्छ– नेपालमा काम गर्ने वातावरण छैन ।
अहिले काम गरिरहेका धेरै साथीहरूले अवस्था देख्दा नै आफू डराएको उनको भनाइ छ । ‘विदेशमा कमाएर ल्याएको पैसा लगानी गरेर केही काम गर्न खोज्यो भने त्यसलाई कसरी हुन्छ लुट्नुपर्छ भनेर सबै लाग्छन् । अनि कसरी प्रगति गर्न सकिन्छ ?’ उनले प्रश्न गरे ।