आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धानको समर्थन मूल्यले मर्कामा किसान, व्यापारी मालामाल

धान खेतीबाट फाइदा नभएको कृषकको गुनासो
सोमबार, २६ मङ्सिर २०७९, १३ : ०७
सोमबार, २६ मङ्सिर २०७९

बाराको जितपुरसीमरा वडा नं २० का कासिराम आचार्यले यसपटक प्रतिक्वीन्टल २ हजार ५ सयमा व्यापारीलाई धान बिक्री गरे । कात्तिकको पहिलो साता धान भित्र्याएका आचार्यले सरकारले तोकेको धानको समर्थन मूल्य कुर्दाकुर्दै सस्तो मूल्यमा बेचेका हुन् । 

 ‘तराईमा असोजको दोस्रो सातादेखि किसानले धान भित्र्याउन थाल्छन्, सरकारले असोजको दिन छँदै धानको भाउ तोक्नुपर्छ, तर, यति ढिलो धानको मूल्य तोक्दा हामी जस्ता किसानलाई केही फाइदा छैन,’ आचार्यले भने, ‘धान रोप्दादेखि भित्र्याउँदासम्मको हिसाब जोड्ने हो भने धान खेतीबाट धेरै घाटा छ ।’
उनले थपे, ‘ १५ रूपैयाँ युनिटमा पानी लगाउ, ब्ल्याकमा ४ हजार बोराको मल किनेर हाल, ट्याक्टरको खर्च, खेतालाको हिसाब जोड्दा आफ्नो खेतको भात खान पाइएको छ भन्ने मात्रै हो ।’

सरकारले यसपटक मंसिर १८ गतेदेखि मात्रै बारामा धानको समर्थन मूल्य कार्यन्वयनमा ल्याएको छ । उचित मूल्यमा धान बिक्री गर्ने आश गरेका कृषकहरूले समर्थन मूल्य कार्यान्वयनमा ढिलो भएपछि  व्यापारीलाई धान बिक्री गरिसकेका छन् । ‘सरकारले किसानको गोदामबाट धान बिक्री भइसकेपछि मात्रै मूल्य तोक्छ, अहिले किसानको खेतमा मकै रोपेर ठुला–ठुला भइसक्यो समयमै धान नबेचे मकैको बिउ, मल धान काट्दा, थन्क्याउँदाको लागेको खर्च तिर्न सकिँदैन,’ आचार्य भने ।

जितपुरसीमरा  वडा नं ११ का रामलाल राउत अहीरले पनि ३ बिगाहा खेतको १ टन धान प्रतिक्युटल २ हजार ३ सयको दरले व्यापारीलाई बिक्री गरेका छन् । असोज दोस्रो साता धान बिक्री गरेका रामलालले सरकारले तोकेको सर्मथन मूल्यले व्यापारीलाई मात्रै फाइदा भएको  गुनासो गरेका छन् ।

‘किसानलाई केही फाइदा छैन, ३ हजार ५ सय बोराको खाद, ज्याला, प्रतिघन्टा १ हजार ७ सयमा ट्याक्टर खेत जोतेर, व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न हामी बाध्य छौँ, सरकारले तोकेको धानको मूल्यले व्यापारीलाई मात्रै फाइदा भएको छ’ रामलालले आक्रोश पोख्दै भने ‘किसानको लागि वडा र नगरपालिकाले केही सहयोग गर्दैनन्,अब खेत बेचेर नगरपालिका र मालपोतको कर तिनुपर्ने अवस्था छ’ । रामलालको १३ जना परिवारको मुख्य आयस्रोत खेतिपाती नै हो ।


सरकारले यसपटक  मोटा जातको धानको २ हजार ९६७ र मसिनो जातको धानको मूल्य ३ हजार १२८ रुपैयाँ प्रतिक्वीन्टल समर्थन मूल्य निर्धारण गरेको छ ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जिल्ला इकाइले   निश्चित कृषि सहकारी मार्फत धान खरिद गर्ने गर्छ । सो परियोजनाका बारा जिल्ला प्रमुख डा हेमचन्द्र जैशवालले सरकारले केन्द्रबाटै धानको समर्थन मूल्य ढिलो गरी कार्यान्वयनमा ल्याएकाले अधिकांश किसानको धान बिक्री भइसकेको बताए ।

‘बारा जिल्लामा ४ वटा कृषि सहकारीसँग सम्झौता गरेर किसानको धान खरिद गर्ने काम भइरहेको छ, यसपटक सम्झौता ढिला हुँदा अधिकांश धान व्यापारीको गोदाममा पुगिसकेको कुरा सत्य हो, यसमा हाम्रो कुनै भूमिका हुँदैन सबै निर्णय केन्द्रबाट हुन्छ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रमुख डा जैशवालले भने ।  
कृषि ज्ञान केन्द्रका अनुसार बारा जिल्लामा ३ सिजनमा किसानले धानखेती भित्र्याउने गर्छन् ।

चैतमा  उत्पादन हुने धान १५ हजार ५१० हेक्टरमा खेती हुने गर्दछ जसबाट ६८ हजार ३९९ मेट्रिकटन उत्पादन हुन्छ । भदौ महिनामा भित्र्याउने धान ११ हजार १०५ हेक्टरमा खेती हुन्छ भने ५१ हजार १९१ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र बाराका वाली विकास अधिकारी राजनारायण प्रसाद साहले जनाएका छन् । 

सबैभन्दा धेरै मंसिर महिनामा भित्र्याउने धान ३४ हजार ११५ हेक्टरमा खेती हुने र  उत्पादन १ लाख ४३ हजार २८३ मेट्रिकटन हुने साहले जनाए । बारामा  सरकारले तोकेको समर्थन मूल्यमा हालसम्म ३ देखि ४ हजार मेट्रिकटन मात्रै किसानले धान बिक्री गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप